निर्णय नं. ३७५९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७५९ - जालसाजी भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४६/०१/१२ २१३५ निर्णय नं. ३७५९ ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५८१ फैसला भएको मिति : २०४६।१।१२।३ मा पुनरावेदक/वादी : हेटौंडा न.पं. वडा नं. १ बस्ने तरनानी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. वडा नं. १० बस्ने गणेशलाल श्रेष्ठसमेत मुद्दा : जालसाजी (१) हस्तान्तरण गरेको कुरा अंश मुद्दा दायर भई प्रत्यवादी परेपछि मात्र खुल्न आउँछ भने सो भन्दा अघि सो कुरा वादीलाई जानकारी नहुनु अस्वाभाविक भन्न मिल्ने देखिन्न । यस्तो स्थिति र अवस्थामा लिखत भएको मितिबाट हदम्यादको गणना गर्दा वास्तविक रुपबाट न्यायिक दृष्टिले लापरवाही साथ हदम्याद गुजारेको भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का अवलम्बित नजीर : ने.का.प. २०३१, नि.नं. ७१४ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. मेरो ससूरा बुद्धिमानको २ छोरामा जेठा म फिरादीका पति भिमलाल, कान्छा विपक्षी मध्येका गणेशलाल हुन् । निज लोग्नेबाट मेरो ४ छोरा २ छोरीको जन्म भएको । जि.मकवानपुर ७२ नं. मौजे हेटौंडाको साविक कि.नं. १३६ को तुल्सीमाया श्रेष्ठका नाउँमा दर्ता भएको ०–०–१० धुर जग्गा खरिद गरी घर बनाई देवर समेत साथमा बसी आएको अवस्था २०२४ सालमा लोग्ने परलोक हुनुभएको । २०३७।१०।१ गते देखि अलग बसेको हुँदा अंश पाउँ भनी फिराद गरेकोमा विपक्षीहरुले प्रतिवाद गर्दा उक्त घडेरी जग्गा आनन्दकृष्ण गोर्खालीसंग बकस पाएको बण्डा हुन नपर्ने भनी जिकिर लिई बकसपत्र भनेको कागज मलाई नसुनाएकाले जालसाजी मुद्दामा फिराद गर्नु पर्ने भयो । रु. २५,०००।– मा आनन्दकृष्णलाई बिक्री गरी त्यसपछि रु. ४ हजारमा धनकुमारीलाई बकस आएको व्यवहारको कागज खडा गरेको पूर्ण जालसाजी व्यवहार छ । यदि आनन्दकृष्ण सो घर जग्गामा भोगचलन छ भनी भन्न खोज्नु हुन्छ भने सर्वे नापी फिल्ड बुकमा घर जग्गा निजको नाउँमा छैन । म समेतको हक मेट्ने उद्देश्यबाट मेरो छोरा माधवको नामबाट अर्कै व्यक्तिले कीर्ते साक्षी बसी विपक्षीहरुले जालसाज गरेको हुँदा धनी आनन्दकृष्ण, ऋणी गणेशलाल श्रेष्ठ भएको २०३५।७।२८ को राजीनामा कागज १, बकस दिने भनिएको आनन्दकृष्ण, लिने धनकुमारी भई २०३७।३।२ को हालैको बकसपत्र कागज समेत कीर्ते कागजको ३ नं. बमोजिम जालसाज ठहराई मतियार समेतलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. २०३५।७।२८ को लिखत विधिवत पारीत भएको हो । विपक्षीका एकासगोलका छोरा माधव श्रेष्ठ समेत साक्षी बसेका छन् । राजीनामा र बकसपत्र लिखत बेग्ला बेग्लै मितिका हुनाले फिराद बेग्लाबेग्लै दर्ता हुनुपर्ने हो । विपक्षीलाई २०३५।७।२८ को राजीनामा विषयमा थाहा भइसकेको छ र सो मितिले हदम्याद नाघी फिराद दायर भएकोले खारेज गरिपाउँ । यसै अदालतबाट अंश मुद्दामा विवादित घर जग्गा अंश बापत नपाउने ठहर फैसला भएकोले यो फिराद गरेको हो भन्ने समेत व्यहोराको गणेशलाल, धनकुमारी, आनन्दकृष्ण समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. २०३५।७।२७ गते गणेशलालबाट आनन्द कृष्णलाई रजिष्ट्रेशन पास गरी दिएको जालसाजी होइन, सो लिखतहरु मैले