निर्णय नं. ३७६० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७६० - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: असार अंक: ३ फैसला मिति :२०४५/११/०८ २०५७ निर्णय नं. ३७६० ने.का.प. २०४६ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. १६७४ आदेश भएको मिति : २०४५।११।८।१ मा निवेदिका : श्री स्यांजा घर भई हाल का.न.पं. वडा नं. ३२ कालिकास्थान बस्ने डा.श्रीमती अरुणा उप्रेती विरुद्ध विपक्षी : परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मी देवी प्रसूती गृह शिशु कल्याण केन्द्र काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने नदेखिने । (प्रकरण नं. ७) निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री अशोक उप्रेती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार रहेछ । २. म परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मी देवी प्रसूती गृह शिशु कल्याण केन्द्रमा त्यस कल्याण केन्द्रको मिति २०४३।५।२ को पत्र अनुसार मिति २०४३।५।१६ देखि लागू हुने गरी रा.प.तृ.(प्रा.) सरहको मेडिकल अधिकृत पदबाट ६ महीना सम्मको परीक्षण कालमा रहने गरी स्थायी नियुक्ति भएको थिएँ । त्यस केन्द्रको मिति २०४३।५।२ को पत्र अनुसार मिति २०४३।५।१६ गतेदेखि लागू हुने गरी ६ महीनाको परीक्षण कालको अवधि मिति २०४३।११।१६ मा सकिएको हुँदा २०४३।११।२० को पत्रद्वारा सोही मिति २०४३।११।१६ देखि २०४४।५।१५ सम्म लागू हुने गरी पुनः ६ महीनाको परीक्षणकाल थप गरियो । दोस्रो परीक्षणकालको अवधिमा मिति २०४४।५।५ गते देखि म प्रसूति हुन गई सोही कारणले सेवामा उपस्थित हुन सकिन । त्यस सम्बन्धी व्यहोरा दर्शाई प्रसूति बिदा र दशैं पेश्की समेत पाउँ भनी निवेदन दिएकोमा, प्रसूति बिदामा नै बसेको अवस्थामा निवेदिकाको नाममा मिति २०४४।६।२२ को पत्र अनुसार निवेदिकाको सेवा अवधि म्याद थप नभएको कारणले समाप्त भएको जानकारी पत्र दिइयो । स्थायी कर्मचारी भएकोले सो सम्बन्धमा सञ्चालक समिति समक्ष उजूरी दिएको थिएँ । जसबाट पनि शुरुको निर्णयलाई यथावत नै मानिएको छ । म स्थायी कर्मचारी भएको कुरा शुरु परीक्षण अवधि नै ६ महीना राखिएको र परीक्षणकाल समाप्त भएकाले स्वतः स्थायी नियुक्ति प्राप्त गरेको मान्नु पर्ने हुँदा मलाई म्याद थप नगरी सेवा पदबाट हटाउन पाउने अधिकार प्रत्यर्थीहरुलाई नभएकोले मलाई हटाउने सम्बन्धमा गरिएको निर्णय स्वतः सुन्य एवं प्रभाव विहिन छ । पटक पटक परीक्षणकाल थप गर्ने अधिकार प्रत्यर्थीहरुलाई कुनै कानुनले दिएको छैन । मलाई परीक्षणकालको अवधिमा पदबाट निष्काशन नगरी परीक्षणकाल समाप्त भएको अवधिबाट म्याद थप नगरिएको भनी पदबाट हटाउने कार्य भएको छ । परीक्षणकाल समाप्त भइसकेको अवस्थामा पदबाट हटाउने गरी भएको निर्णयले अधिकारको अतिक्रमण भएको छ । मलाई परीक्षणकालकै अवधिमा मेरो कार्यको दोष तथा अनुपयुक्तता देखाई मलाई सेवाबाट हटाइएको होइन प्रसूति गृहको कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली बमोजिम मैले पाउने सुविधा पनि मलाई उपभोग गर्न दिएन । नियम कानुनको निर्वाह नगरी मलाई पदबाट हटाउने सम्बन्धमा गरिएको निर्णय दुराशयपूर्ण हुनुको साथै दोषयुक्त छ । निवेदिका