निर्णय नं. ८७६९ - उत्प्रेषण परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७६९ - उत्प्रेषण परमादेश समेत । भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६८/१०/०२ ३०१६ ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६४–WO–०१९३ आदेश मितिः २०६८।१०।२।२ विषयः उत्प्रेषण परमादेश समेत । निवेदकः जिल्ला जुम्ला, लाम्रा गाउँ विकास समिति वडा नं. ४ बस्ने माधवप्रसाद चौलागाई विरुद्ध विपक्षीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत § अख्तियारप्राप्त व्यक्तिले गरेको निर्णयमा निजले उक्त अधिकारको स्वेच्छाचारी रुपमा प्रयोग गरेको वा प्रष्ट आधार र कारण उल्लेख नगरी निर्णय गरेको अवस्थामा बाहेक अदालतले प्रवेश गरी कुनै अमुक व्यक्ति कुनै पद वा कार्यको लागि उपयुक्त छ छैन भनी निर्णय गर्न नमिल्ने हुँदा अवकाश दिँदा अपनाइएको प्रक्रिया र कारणहरू कानून एवं न्यायसम्मत् छन् छैनन् भन्नेसम्म कुरामा हेरी निर्णय दिनुपर्ने । (प्रकरण नं.३) § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८० मा विभागीय सजाय दिन पाउने अधिकारीले कुनै कर्मचारीलाई सजाय दिने आदेश दिनु भन्दा अघि कारवाही गर्न लागिएको कारण उल्लेख गरी सफाइ पेश गर्ने मौका दिनुपर्ने भन्ने प्रवाधान रहेको, दफा ८१ मा विशेष सजायको आदेश दिनु पहिले सजाय प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको तथा दफा ८२ मा लोक सेवा आयोगको परामर्श लिनुपर्ने समेतको प्रावधान रहेको पाइन्छ । उक्त प्रावधानहरू स्वास्थ्य सेवाका कर्मचारीलाई विभागीय सजाय दिने सम्बन्धमा व्यवस्था गरिएको पाइन्छ । कर्मचारीलाई विभागीय सजाय गर्ने कुरा र परीक्षणकालमा नियुक्त भएको कर्मचारीको नियुक्ति सदर वा बदर गर्ने कुरा फरक विषय भएकोले उक्त कानूनी प्रावधानहरू परीक्षणकालमा रहेको कर्मचारीको नियुक्ति सदर वा बदर हुने भन्ने सम्बन्धमा आकर्षित नहुने । (प्रकरण नं.४) § नियुक्ति बदर गर्नुपर्ने कारणहरू परीक्षणकालको अवधिभित्रै सिर्जना भएकोमा सोही कारणबाट निज विरुद्ध कारवाहीको प्रक्रिया समेत परीक्षणकालभित्रै शुरु भइसकेकोले नियुक्ति बदरको औपचारिक अन्तिम निर्णय परीक्षणकाल व्यतीत भइसकेपछि सोही कारणले पहिलेदेखि प्रारम्भ भएको प्रक्रियाअनुसार गरिएको निर्णय कानूनविपरीत भयो भन्न नमिल्ने । (प्रकरण नं.५) § परीक्षणकालको अवधिमा विना सूचना कार्यालयमा अनुपस्थित रहेको कारण काम सन्तोषजनक नभएको भनी अख्तियारप्राप्त व्यक्तिले कानूनले प्रदान गरेको अधिकार प्रयोग गरी गरिएको नियुक्ति बदरको निर्णय स्वेच्छाचारी रुपमा गरिएको र कानूनको प्रक्रिया पूरा नगरी अन्यायपूर्ण तवरबाट गरिएको भन्न नमिल्ने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय प्रेमसिंह धामी तथा सिर्जना कँडेल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे अवलम्बित नजीरः o नेकाप २०५९, नि.नं. ७१४८ सम्बद्ध कानूनः o नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १८, ७४, ८०, ८१, ८२ आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– म निवेदक लोकसेवा आयोगको विज्ञापन नं. १०४५/०६०/०६१ अनुसार स्वास्थ्य सेवा ऐन, हेल्थ इन्सपेक्शन समूह, छैटौं तह, स्वास्थ्य निरीक्षक (खुला) पदमा नियुक्तिको लागि सिफारिश भई नेपाल सरकार (सचिवस्तर) को मिति २०६१।१०।२५ को निर्णयअनुसार जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तह, स्वास्थ्य सेवा विभागमा