निर्णय नं. ९०३३ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०३३ - मोही लगत कट्टा भाग: ५५ साल: २०७० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०३/१४ ९५१७ ने.का.प. २०७०, अङ्क ७ निर्णय नं. ९०३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती २०६७–CI–१६२९ फैसला मिति :– २०७०।३।१४।६ मुद्दा : मोही लगत कट्टा । पुनरावेदक/वादी : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु बस्ने लक्ष्मण श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं.१६ बालाजु टौडोल बस्ने माइली बलामी शुरू फैसला गर्ने :– श्री भूमिसुधार कार्यालय काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री तेजबहादुर के.सी. मा.न्या.श्री प्रकाशकुमार ढुंगाना § भूमिसम्बन्धी ऐन कानूनअन्तर्गतको अनुसूची, नापी, फिल्डबुक र राजीनामा समेतमा मोहीकारूपमा अंकित व्यक्तिका नाममा सामान्य फरक पर्दैमा मोही होइनन् भन्न नमिल्ने । § राजीनामासमेतका लिखतमा मोही जनिएपछि मोही रहेको स्वीकार गरियो भन्न मिल्दैन । । हक भन्ने कुरा कानून अनुसार मात्र प्राप्त हुन्छ र हकको विस्थापन पनि कानूनबाट मात्र हुने । (प्रकरण नं.२) § छोरीका हकमा एकासगोलमा रहनु भनेकै अविवाहित रहनु हो । विवाहपछि छोरीको बाबुआमासँगको एकासगोलको भन्ने हैसियत टुट्दछ । एउटै घरमा रहनु नै एकासगोल हुनु होइन । नाता सम्बन्ध पर्ने प्रत्येक व्यक्ति एकासगोलमा रहेको हुन सक्दैन । एकासगोल एउटा कानूनी हैसियत हो । परिवारका प्रत्येक व्यक्ति एकासगोलमा नरहन सक्दछन् । एकासगोल साम्पत्तिक हक र दायित्वसँग सम्बन्धित रहने अवस्था हो । § एकै परिवारमा रहेकै व्यक्तिसमेत अंश लिई वा अंश छोडपत्र गरी वा सम्बन्ध विच्छेद गरी अलग भएपछि निजको एकासगोल भन्ने हैसियत टुट्छ । आमाको हेरचाह मैले नै गर्दथेँ । विवाह घर छोडेर माइतीमै आएर बसेकी थिएँ, मृत आमाको हक खाने मबाहेक कोही छैन भन्ने जिकीरले कसैलाई एकासगोलको मान्न मिल्दैन । एउटै घरमा बस्नु नै एकासगोलमा रहनु होइन । (प्रकरण नं.६) § ऐनको परिभाषा खण्डले कसैलाई अधिकार दिदैंन । ऐनमा दिइने परिभाषा खण्ड सो ऐनका दफाहरूलाई व्याख्या गर्नका लागि सहायकसम्म हुन्छन् । मृत मोहीकी एक मात्र हकदार भएको नाताले निजको हक आफूमा सर्नु पर्ने सारवान दावी गर्न यो परिभाषाको व्यवस्था कसैको पनि हकाधिकारको स्रोत बन्न नसक्ने । (प्रकरण नं.७) § कानून जुन मितिबाट लागू हुन्छ भनी ऐनमा उल्लेख भएको हुन्छ, सोही मितिबाट त्यो ऐनमा भएका प्रावधानहरू लागू भएको मान्नुपर्ने । (प्रकरण नं.८) § कानूनी हकको जन्म निवेदन वा फिराद वा दर्खास्त वा दावी गरेको मितिमा बहाल कानूनका आधारमा हुने होइन । हक भनेको सारवान् कुरा हो । कारण परेको वा घटना घटेको वा कुनै काम भएको दिनमा बहाल कानूनकै आधारमा हकको स्थापना वा विस्थापना हुन्छ । त्यसैको आधारमा अपराध हुने वा नहुने तथा हक प्राप्त हुने वा नहुने यकीन हुने । § जुनबेला कारण परेको हुन्छ त्यसैबेला प्रचलनमा रहेको कानूनले त्यसलाई सम्बोधन गर्ने हो । २०४५ सालमा आमाको देहान्त भएको कारणबाट निजको नामको मोहियानी आफूमा सर्नुपर्ने दावीका हकमा २०४५ सालमै बहाल रहेको कानूनकै सीमामा रहनु पर्ने । (प्रकरण नं.९) § कसैको मृत्यु भएपछि निजको स्वामित्व तथा भोगाधिकारसम्बन्धी साम्पत्तिक हकको पनि निजसँगै मृत्यु हुन्छ । सम्पत्ति कहिल्यै पनि स्वमित्वबिहीन रहँदैन । साम्पत्तिक हक कानूनबमोजिमको हकदारमा स्वामित्ववालाको मृत्यु सँगसँगै सर्दछ । सम्पत्तिमा हक रहेको व्यक्तिको मृत्यु भएको क्षणमा बहाल रहेको कानूनअनुसार