निर्णय नं. ९०३४ - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०३४ - उत्प्रेषण, परमादेश भाग: ५५ साल: २०७० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०३/१६ ३६१४ ने.का.प. २०७०, अङ्क ७ निर्णय नं.९०३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की रिट नं. ०६६–WO–०३३६ फैसला मिति : २०७०।३।१६।१ मुद्दा : उत्प्रेषण, परमादेश । निवेदक : जिल्ला सप्तरी, गा.वि.स. कोइलाडी वडा नं.१ घर भई नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, संस्थागत योजना विभागको तह १० को प्रबन्धक पदमा कार्यरत् सुधीरप्रसाद सिँह विरुद्ध प्रत्यर्थी : नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंसमेत § योग्यता प्रणालीले सबैलाई समानरूपमा हेर्दछ । कसैलाई भेदभाव गर्दैन । योग्यता प्रणालीले सबै योग्यताको कदर गर्दै उत्कृष्टलाई छनौट गर्दछ । नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ समेत योग्यताका आधारमा पदस्थापना र बढुवा गर्न बनाइएको कानूनी दस्तावेज रहेकोले सोही विनियमावली अनुसार बढी अङ्क ल्याउनेको बढुवा भएको कुरालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § जुन योग्यताका आधारमा नियुक्ति भएका हुन् सो योग्यता Electrical Engineering संग मिल्ने विषय होइन भनी लिएको दावी विपक्षीले BE (Electrical) विषयमा स्नातक गरेको र सोही BE (Electrical) विषयको न्यूनतम् शैक्षिक योग्यतालाई आधार मानी Industrial Engineering and Management विषयको स्नातकोत्तर उपाधि प्राप्त गरेको देखिनुका अतिरिक्त सोही BE (Electrical) Engineering विषयलाई नै न्यूनतम् आधार मानी तल्लो पदमा प्रवेश गरी उक्त Industrial Engineering and Management विषयमा स्नातकोत्तर भएकै आधारमा निजले शैक्षिक योग्यताबापत ३ अङ्कसमेत प्राप्त गरी जम्मा ८७.०५ अङ्क प्राप्त गरेका र निवेदकले जम्मा ८६.४९ अङ्क प्राप्त गरेको देखिनाले बढुवाको योग्यता क्रममा निवेदक विपक्षी भन्दा अगाडि हुन् भन्ने कुरा नदेखिनुका साथै निवेदकको नेपाल विद्युत प्राधिकरण प्राविधिक सेवाको तह ११ निर्देशक (प्राविधिक) पदमा जेष्ठताको आधारमा बढुवा गरिसकेकाले निवेदकको मागबमोजिम रिट जारी हुने अवस्था नदेखिने । (प्रकरण नं.६) निवेदकतर्फबाट : प्रत्यर्थीतर्फबाट : अबलम्बित नजीर : सम्बद्ध कानून : § नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ को विनियम ५०, ५०(क)(२), (ख)(२), (५०)ग(१)(ख), ५१ आदेश न्या.ज्ञानेन्द्रबहादुर कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ : म निवेदक २०३९।११।१० को निर्णयानुसार अस्थायी तथा २०४०।५।१० को निर्णयानुसार तत्कालीन नेपाल विद्युत कर्पोरेशनको प्राविधिक सेवा तह ७ को पदमा स्थायी नियुक्ति पाई सेवामा प्रवेश गरेको हुँ । विभिन्न मितिमा माथिल्ला पदहरूमा बढुवा हुँदै हाल सोही सेवाको तह १० को प्रबन्धकको पदमा कार्यरत् रहेको छु । निवेदक कार्यरत् रहेको भन्दा माथिल्लो तहको तह ११ को निर्देशक पद संख्या ४ कार्य क्षमता मूल्याङ्कनको आधारमा बढुवा गरी पूर्ति गर्ने भनी २०६६।२।१८ मा बढुवा सूचना नं.२०६५/०६६प्रा.११ ब. २७ को बढुवाको सूचना प्रकाशित भएकोमा उक्त बढुवाको सूचनामा उल्लेख भएको तथा नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली, २०६२ मा व्यवस्था भएका शैक्षिक योग्यता तथा सेवा अवधिसमेत पुगेको कारणबाट म निवेदकले बढुवाको फारम भरी बुझाएको थिएँ ।