निर्णय नं. ९०३५ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०३५ - मोही नामसारी भाग: ५५ साल: २०७० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७०/०३/२१ ४२२१ ने.का.प. २०७०, अङ्क ७ निर्णय नं.९०३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६९–CI–०३७१ फैसला मिति :– २०७०।३।२१।६ मुद्दा :– मोही नामसारी । पुनरावेदक : जिल्ला बारा, गा.वि.स. अमरपट्टि वडा नं.५ बस्ने गजेन्द्रप्रसाद यादव विरुद्ध प्रत्यर्थी : जिल्ला बारा, गा.वि.स. अमरपट्टि, वडा नं.२ बस्ने तेतरी कनुईन शुरू तहको निर्णय गर्ने :– भूमि सुधार कार्यालय, बारा पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री बमकुमार श्रेष्ठ मा.न्या.श्री शारङ्गा सुवेदी § कुनै पनि व्यक्तिका नाममा कायम भएको मोहीको हक समाप्त हुनका लागि भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमहरू, २०२१ ले निर्धारित गरेको कानूनी प्रक्रियाहरू पूरा गरेकै हुनुपर्छ । जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख भएको छैन वा मोहीले बाली बुझाएको प्रमाण पेश गरेको छैन वा जग्गा जोतेको छैन भन्ने जस्ता तर्कको आधारले मोही नामसारी मुद्दामा कुनै महत्व नराख्ने । § मोहीले जग्गा सालसालै नकमाएको वा जग्गाको उब्जनी घट्ने गरी जग्गा बिगारेको वा कुत नबुझाई मोहीको हैसियतले पालना गर्नुपर्ने कुनैपनि दायित्व मोहीले पूरा नगरेको भन्ने जस्ता जिकीर जग्गाधनीले लिई कानूनबमोजिमको साधिकार निकायबाट मोहीको लगत कट्टा नगराएसम्म मोहीको हकमा कुनै असर नपर्ने । (प्रकरण नं.४) § कानूनबमोजिम मोहीको लगत कट्टा भएको प्रमाण पेश नगरी केवल मोहीले जग्गा नजोतेको वा बाली बुझाएको प्रमाण पेश नगरेको भन्ने जस्ता तर्कका आधारमा मोहियानी हकबाट निष्काशन हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता पुष्पराम पौड्याल प्रत्यर्थीतर्फबाट : अबलम्बित नजीर : सम्बद्ध कानून : फैसला न्या.सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा (९)(१)(ग) नं. बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– जिल्ला बारा, गा.वि.स. अमरपट्टि, वडा नं. २ कि.नं. २३ को ०–१९–० जग्गाको जग्गाधनी रामादेवी (गुरागाई) उपाध्याय र मोही मेरा पति भोथी साह कानु हुनु भई पतिले जग्गा जोती कमाई मोहीको दायित्व पूरा गर्दै आउनु भएको थियो । उक्त कि.नं.२३ को ज.वि.०–१९–० जग्गा साविक जग्गाधनी रामादेवीले मिति २०३१ सालमा राधामोहन प्रसाद यादवलाई, निज राधामोहनले मिति २०४०।११।११ मा राजेन्द्रप्रसाद महतोलाई, निज राजेन्द्रप्रसाद महतोले मिति २०४२।११।२० मा बरमदेव महरालाई र निज बरमदेवले ज.वि.०–१९–० मध्येबाट ०–६–० जग्गा गजेन्द्रप्रसाद यादवलाई बिक्री गरी दिनु भएको हुँदा सो कि.नं.२३ कित्ताकाट भै कि.नं.१८५ को ज.वि.०–६–० गजेन्द्रप्रसाद यादवका नाउँमा दर्ता भएको छ । मेरा पति भोथी साह कानु २०३५ सालमा आफ्नो कालगतिले परलोक हुनुभएको र मोहीका हकदारहरू छोरा हरिशचन्द्र साह कानु, हरिहर साह कानु र पत्नी म तेतरी कनुईनले सो जग्गा जोती कमाई मोहीको दायित्व पूरा गरी आएका छौं । जग्गा कित्ताकाट भै अलगअलग व्यक्ति जग्गाधनी भए पनि मोहियानी हकमा कुनै असर नपर्ने हुँदा साविक कि.नं.२३ कित्ताकाट भई हाल कायमी कि.नं. १८५ को ज.वि.०–६–० जग्गाको मोहियानी हक छोरा हरिहर साह कानु तथा हरिशचन्द्र साह कानुको मञ्जूरीनामाअनुसार मेरा नाउँमा मोही नामसारी गरी मोहोयानी हकको प्रमाण पत्र पाऊँ भन्नेसमेत व्यहोराको वादी तेतरी कनुईनको मिति २०६६।३।३० को फिराद द