निर्णय नं. ७३९५ - उत्प्रेषणयुक्त प्रतिषेधको आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३९५ - उत्प्रेषणयुक्त प्रतिषेधको आदेश जारी गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०३/०७ २६६५ निर्णय नं. ७३९५ ने.का.प.२०६१ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत २०५२ सालको रिट नं. २९४२ आदेश मितिः २०६१।३।७।२ विषय : उत्प्रेषणयुक्त प्रतिषेधको आदेश जारी गरी पाउँ । निवेदकः गण्डकी अंचल तनहुँ जिल्ला केशवटार गा.वि.स. वडा नं. ७ कुलुङ्ग वस्ने वर्ष ८४ को मनवहादुर आले विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय, सिंहदरवार समेत § धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर एवं क्षेत्रको विकास, संरक्षण र सम्वर्द्धन गर्ने दायित्व श्री ५ को सरकार र सम्वद्ध स्थानीय निकायको समेत हुने कुरामा विवाद नहुँदा सोही प्रयोजनका लागि छाव्दी वाराही क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनको लागि कोष खडा गर्ने, सो कोष संचालन समेतका काम गर्न समिति गठन गर्ने समेतका काम कारवाहीलाई ठाडै कानून विपरीत र अनधिकृत भनि हाल्न नमिल्ने । § धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका क्षेत्रको विकास, संरक्षण, सम्वर्द्धन र व्यवस्थापनका लागि श्री ५ को सरकार तथा जिल्ला विकास समिति तनहुँवाट भए गरेका निर्णय एवं काम कारवाहीलाई अन्यथा भन्न नमिल्ने । § धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व भएका तर स्पष्ट रुपमा कानूनी दायरा भित्र नसमेटिएका यस्तै प्रकृतिका मन्दिर एवं क्षेत्रको परम्परा देखि चलिआएको पूजापाठ समेतको धार्मिक कार्यमा बाधा नपर्ने गरी त्यस्तो पूजाआजाको नियमित संचालनको लागि सम्वद्ध सवै निकाय जस्तैः पुरातत्व बिभाग, गुठी संस्थान, महेन्द्र संस्कृत विश्व विद्यालय, संस्कृत विद्यापीठहरु, धार्मिक संघ संस्थाहरु तथा धार्मिक विद्वान एबं महापण्डितहरु समेतका सम्बद्ध व्यक्तिसंग परामर्श गरी त्यस्ता निकाय र ब्यक्तिहरुको संलग्नतामा एउटा वृहद छाता कानून (Umbrella Law) ल्याउने तर्फ आवश्यक काम कारवाही गर्न उपयुक्त हुने हुनाले सो बमोजिम गर्नु भनी विपक्षी मन्त्रिपरिषद सचिवालय समेतका नाउँमा निर्देशात्मक आदेश जारी हुने । (प्र.नंं. १४ र १५) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इन्द्रप्रसाद खरेल विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की तथा श्री विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री उत्तमभ्रद खनाल अवलम्वित नजिरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २२ र ८८(२) अन्तर्गत यस अदालतको क्षेत्राधिकार भित्र दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. म निवेदकको जिजुवाजे लिलाध्वज आलेको नाममा १९३१ सालमा लालमोहर प्राप्त भई जिल्ला तनहुँ केशवटार गा.वि.स.अन्तर्गत पर्ने छाव्दी बाराहीको पूजापाठ गरी आएको र निजको मृत्यु पछि मेरो वाजे मुदे आलेले पूजापाठ गरी आएको, निज वाजेको ३ छोरा जायजन्म भई जेठा जिरा आले, माहिला किर्ते आले र कान्छा रामु आले भएकोमा जेठा पट्टिका एकमात्र छोरा वेपत्ता भई नाती नहलसिंह आले भएको, माहिला पट्टि छोरी मात्र जायजन्म भएको र कान्छा पट्टि म निवेदक एकमात्र छोरा हुँ । जिजुवाजे देखि हाल सम्म मन्दिरको धार्मिक कार्य गरी उक्त क्षेत्रको संरक्षण गरी आएको छु । १९३१ सालमा वाजे लिलाध्वज आलेले पाएको लालमोहरमा सन्तान दरसन्तानले छाव्दी बाराहीको संरक्षण , सम्वर्द्धन र पूजापाठ चलाउने भन्ने उल्लेख भएको छ