निर्णय नं. ७३६६ - नकवजनी चोरी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३६६ - नकवजनी चोरी । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०३/०३ ३३९३ निर्णय नं.७३६६ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५६ सालको फौ.पु.नं.२१२८ फैसला मितिः २०६१।३।३।५ मुद्दा : नकवजनी चोरी । पुनरावेदक प्रतिवादीः का.प.जि.गोठपानी गा.वि.स.घर भै का.म.न.पा.वडा नं.१५ बस्ने नाङसा डोल्मा लामा बिरुद्ध विपक्षी वादीः सोनाम तेन्जीङ लामाको जाहेरीले श्री ५ को सरकार § चोरी गर्ने भनिएका व्यक्ति कृष्णवहादुरले नै जाहेरवालाको जाहेरी अनुसारको ऊन चोरी गरेको नठहरे पछि सो ऊन किन्ने भनिएका पुनरावेदकले ऊन किन्ने अवस्थै नआउने र निजले अदालतमा बयान गर्दा बरामद भएको भनिएको ऊन आफ्नो हो भनेको र सो कुरालाई पुनरावेदन अदालतको फैसलाले समेत स्वीकारेको अबस्थामा जाहेरवालाको ऊन चोरी गरेको ठहर नभएपछि सो ऊन पुनरावेदकले जिकिर लिए अनुसार निजको आफ्नै रहे भएको देखिएको अबस्थामा निजले नै फिर्ता पाउने अबस्था हुँदा सो ऊन पुनरावेदकले नै पाउने ठहराएको शुरुको फैसलालाई वादी दावी भन्दा बाहिर गै भएको भन्न मिल्ने अबस्था देखिन नआउने । § जाहेरवालाको जाहेरी अनुसार ऊन चोरीको नठहरेको अवस्थामा जाहेरवालाले मुद्दा फैसला हुनु भन्दा अगाडि नै ऊन सनाखत गरी लगेकै आधारले मात्र पुनरावेदक प्रतिवादीको ऊन देखिएको अवस्थामा निजले फिर्ता नपाउने भन्न न्यायोचित देखिन नआउने । § बरामद ऊन जाहेरवालाले फिर्ता लगेपनि पुनरावेदकले नै फिर्ता पाउने ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा सो हदसम्म केही उल्टी भै पुनरावेदकको घरबाट बरामद भएको १२० के.जी.ऊन पुनरावेदकले नै पाउने ठहराएको शुरुको फैसला सदर हुने । (प्र.नं. २३ र २४) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत पाटनको मिति २०५६।१।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मिति २०५३।१।१२ गते राती मेरो विभिन्न रंगको उनीको धागो १२० किलो चोरी भएको खोजतलास गरी पाउँ भन्ने जाहेरवालाको हुलिया जाहेरी । ३. प्रतिवादी नाङसा डोल्मा लामाको घर कोठाबाट जाहेरवालाको चोरी भएको उनी धागो १२० किलो बरामद भएको बरामदी मुचुल्का । ४. मेरो सिनेन कार्पेट इण्डष्ट्रिज प्राइभेट लिमिटेड वनस्थलीबाट बिगो रु.३६,०००।– पर्ने १२० किलो उनी धागो प्रतिवादी कृष्ण लामाले चोरी गरी लगी प्रतिवादी नाङसा लामालाई बिक्री गरेको बुझिएका हुँदा प्रतिवादहिरु उपर कारवाही गरी पाउँ भन्ने जाहेरवालाको दोश्रो जाहेरी । ५. बरामद भएको उनीको धागो मेरो चोरी भएको धागो हो भनी जाहेरवालाले गरेको सनाखत कागज । जाहेरवाला सोनाम तेन्जिङ लामाको कारखानाबाट उनी धागो मैले चोरी गरेको होइन वारदात भयो भनिएको मिति समयमा म आफ्नो घरमा थिएँ । मैले चोरी गरी नाङसा लामालाई बिक्री गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णवहादुर लामाको बयान । ६. बरामद भएको उनी धागो नाम थर नचिनेको भक्तपुर बस्ने भनी बताउने मानिससँग प्रति किलो रु.१५०।– का दरले सस्तो पाएकोले खरिद गरेको हो । चोरीको सामान भन्ने थाहा थिएन भन्ने समेत व्यहोराको प्रतिवादी नाङसा डोल्मा लामाले गरेको बयान ।