निर्णय नं. ८७७२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७७२ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६८/१२/१५ २९१३ ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की २०६७–WO–०६३२ आदेश मितिः २०६८।१२।१५।४ विषय : उत्प्रेषण । निवेदकः जिल्ला बारा, गञ्जभवानीपुर गा.वि.स. वडा नं. १ जन्म भै हाल जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका वडा नं. १५ मूर्लिटोल बस्ने ध्रुप साह तेली विरुद्ध विपक्षीः जिल्ला बारा, गञ्जभवानीपुर वडा नं. १ गञ्ज भवानीपुर टोल बस्ने राजकली तेलिनको मुद्दा सकार गर्ने लालबाबु प्रसाद तेली समेत § मुलुकी ऐन, अ.वं. ६२(५) नं. ले तारिखमा उपस्थित हुनुपर्ने व्यक्ति बाटो बन्द भई हाजिर हुन नसके बाटो खुलेको मितिले १० दिनभित्र हाजिर भई थाम्न पाउने व्यवस्था भएको र अ.वं. ५९ नं. मा आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा म्याद तारिख गुज्रेमा थमाउने व्यवस्था भई अलग अलग परिस्थितिमा गुज्रेको तारिख थाम्न थमाउन पाउने गरी अलग–अलग सुविधा ऐनले प्रदान गरेको अबस्थामा अ.वं. ६२(५) नं. बमोजिम गुज्रेको तारिख नथमाई अ.वं. ५९ नं. बमोजिम गुज्रेको तारिख थमाउन नमिल्ने वा अ.वं. ५९ नं. र अ.बं. ६२(५) नं. को सुविधा एकसाथ नपाउने भन्न नमिल्ने । (प्रकरण नं.५) § पक्षले कानूनबमोजिम प्राप्त गर्नसक्ने अलग–अलग सुविधामध्ये एउटा प्रयोग नगरी अर्को प्रयोग गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं.६) निवेदकको तर्फबाटः उपस्थित विद्वान अधिवक्ता रामेश्वरप्रसाद कोइराला विपक्षी तर्फबाटः विद्वान अधिवक्ता कृष्णमुरारी रौनियार अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं. ५९ तथा अ.वं. ६२(५) नं. आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२/१०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :— म रिट निवेदक वादी विरुद्ध राजकली तेलिन प्रतिवादी भै पर्सा जिल्ला अदालतसमक्ष मिति २०६६।३।२१ मा मिति २०५६।३।२२ को कपाली तमसुक बमोजिमको रु. २,५०,०००।– साँवा व्याज समेत दिलाई भराई पाऊँ भनी लेनदेन मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेको छ । विपक्षी लालबाबु प्रसाद तेलीले प्रतिवाद गर्दा पर्सा जिल्ला अदालतको अधिकारक्षेत्र नरहेको र अ.बं. ७८ नं. बमोजिम लिखत हेर्न पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकीर लिनुभएको थियो । सक्कल लिखत दाखिल गराई हामी दुबै पक्षलाई पर्सा जिल्ला अदालतबाट मिति २०६७।३।१७ गते मुलुकी ऐन, अ.बं. ७८ नं. को कानूनी प्रक्रिया पूरा गर्न तारिख तोकिएको थियो । पर्सा जिल्ला अदालतबाट तोकिएको उक्त मितिको तारिख विपक्षी लालबाबु साह तेलीले गुजारी बसेको हुँदा गुज्रेको तारिख थामी पाऊँ भनी २०६७।४।४ मा निवेदन दिएकोमा पर्सा जिल्ला अदालतका स्रेस्तेदारले अ.बं. ६२(५) र अ.बं. ५९ नं. को व्यवस्था अलग अलग परिस्थितिमा लागू हुने भएकोले निवेदन मागबमोजिम अ.बं. ६२(५) नं. बमोजिमको अबस्थामा सोबमोजिम गुज्रेको तारिख नथमाई अ.बं. ५९ नं. बमोजिम गुज्रेको तारिख थमाई पाऊँ भनी दिएको निवेदनमा मागबमोजिम गुज्रेको तारिख थमाउन नमिल्ने भनी मिति २०६७।४।४ मा आदेश भयो । स्रेस्तेदारको उक्त आदेश बदर गरी गुज्रेको तारिख थामी पाऊँ भनी विपक्षीले दिएको निवेदनमा स्रेस्तेदारबाट भएको मिति २०६७।४।४ को आदेश मनासिब देखिँदा परिवर्तन गरिरहनु परेन, कानूनबमोजिम गर्नु भनी पर्सा जिल्ला अदालतबाट मिति २०६७।४।१२ मा आदेश भयो