निर्णय नं. ७३८० - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३८० - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०५/२१ ३५१० निर्णय नं.७३८० ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. संबत् २०५८ सालको रिट नम्वर ..३०८६ आदेश मितिः २०६१।५।२८।२ बिषयः उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नम्वर २९ स्थित वरुणाज हाइल्याण्डर्स प्रा.लि.कातर्फबाट सत्तिश कुमार सिंह बिरुद्व विपक्षीः मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं समेत § संविधानको धारा ८८(२) अन्तर्गतको असाधारण अधिकार क्षेत्र अन्तर्गत धारा २३ द्वारा प्रदत्त हक प्रचलन गराई पाउँ भनी यस अदालतमा रिट निवेदन लिई आउने प्रत्येक निवेदकले कुनै पनि तथ्य नलुकाई निवेदनमा सवै कुरा उल्लेख गर्नुपर्दछ । भनिन्छ One who come in equity must come with clean hands। तर मिति २०५८।७।२ को पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय वदर गराउन निवेदकले पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरी पुनरावेदन अदालतबाट मिति २०५९।७।२८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०५८।७।२ को निर्णय सदर गरेको जस्तो महत्वपूर्ण तथ्य निवेदकले यस अदालतलाई लुकाएको देखियो । Equity Jurisdiction अन्तर्गत हेरिने यसप्रकारको निवेदनको लागि तथ्य लुकाएको आधार नै निवेदन खारेज गर्ने महत्वपूर्ण आधार हुने । (प्र.नं. १२) निवेदकतर्फवाटःविद्वान अधिवक्ता श्री सिताराम के.सी. विपक्षीतर्फवाटः विद्वान सह—न्यायाधिवक्ता श्री प्रेमराज कार्की अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. म निवेदकले वरुणाज हाइल्याण्डर्स प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा २०५७।८।१३ मा दर्ता गरेको छु । स्वदेशी तथा विदेशी यात्रुहरुलाई हवाई, रेल, वसको Reservation, टिकट, दृश्यावलोकन, जलयात्रा एवं पदयात्रा समेत गर्ने गराउने उक्त प्रा.लि. कम्पनीको उद्देश्य रहेको छ । आर्थिक कठिनाइका कारण उद्देश्य अनुरुपको कुनै कार्य हालसम्म शुरु गरिएको छैन । ०५८।६।१ बाट हवाई, रेल र वसको टिकट Reservation सम्मको काम गरेको थिएँ । ३. यसै बीच इजाजतपत्र नलिई ट्राभल एजेन्सी खोली कारोवार गरेकोले सम्पूर्ण कार्य आजै देखि बन्द गरी यस कार्यालयमा सम्पर्क गर्न आउनु भनी २०५८।६।३० मा बिपक्षी नं. ३ ले पत्र पठाएको हुँदा टिकट बुकिङ्गको व्यवस्था गरेको र कम्पनीले हाल सम्म Travel Agency सम्बन्धी कुनै काम नगरेको जानकारी सहितको जवाफ पठाइएको थियो । ०५८।७।२१ मा विपक्षीहरु म नभएको अवस्थामा मेरो अफिसमा आई एक पत्र टाँस गरी गएछन् । उक्त पत्रमा पर्यटन ऐन अनुसार इजाजत नलिई वरुणाज हाइल्याण्डर्सको नामबाट साइनबोर्ड समेत राखी ट्राभल एजेन्सी खोली कारोवार गरेकोले पर्यटन ऐन, २०५३ को दफा ९(१) बमोजिम सो वरुणाज हाइल्याण्डर बन्द गराई रु. २०,०००। जरीवाना गर्ने २०५८।७।२ मा निर्णय भएको हुँदा उक्त हाइल्याण्डर बन्द गरी लागेको जरिवाना ३ दिन भित्र राजश्व खातामा जम्मा गर्नु भन्ने समेत उल्लेख गरेको रहेछ । ४. विपक्षीहरुको उक्त काम कारवाही र निर्णय गैरकानूनी र स्वेच्छाचारी छ । म निवेदकले हालसम्म जलयात्रा र पदयात्रा गराएको छैन । सो कार्यहरु गराउने भएमा मात्र पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ को नियम ६ बमोजिम मन्त्रालयसंग अनुमति लिनुपर्ने हो । म