निर्णय नं. ९०१८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१८ - उत्प्रेषणसमेत भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०६९/११/३० ३९१९ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की ०६८-WO-०००२ आदेश मितिः २०६९।११।३०।४ विषयः– उत्प्रेषणसमेत । रिट निवेदकः महोत्तरी जिल्ला, नैन्ही गाउँ विकास समिति, वडा नं. ७ बस्ने माधवेशकुमार पाठक विरुद्ध विपक्षीः लोकसेवा आयोग, केन्द्रीय कार्यालयसमेत § लोकसेवा आयोगले आफ्नो अधिकारक्षेत्रभित्रको विषयवस्तुअन्तर्गत रहने शैक्षिक योग्यताका सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने नै देखिँदा २०६१ सालको निर्णयलाई अन्यथा हुने गरी आयोगले २०६८ सालमा नयाँ निर्णय गर्न सक्तैन भन्न नमिल्ने । § लोकसेवा आयोगले गरेको नयाँ निर्णयलाई यो वा त्यो आधारमा निर्णयको आधिकारिकता र औचित्यमा प्रश्न उठाई पुरानो निर्णय वा नीतिगत निर्णयलाई नै स्थान दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं.४) § अमुक सेवा वा समूहका लागि चाहिने विशेष प्रकारको योग्यतालाई आधार मानी कुनै पनि पदको सिर्जना हुन सक्ने हुँदा त्यस्तो वाञ्छनीय योग्यता किटान गरी सिर्जना गरिएका पदको पदपूर्ति पनि सोही योग्यता प्राप्त गरेको जनशक्तिबाट मात्र हुन सक्ने । § कुनै विशिष्टीकृत सेवा वा समूहका लागि आवश्यक पर्ने शैक्षिक योग्यताको निर्धारण कानूनद्वारा तोकिएबमोजिम हुने तथा सोको निर्धारण गर्न सक्ने स्पष्ट अधिकार पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्ने निकायको रूपमा रहेको लोकसेवा आयोगलाई कानूनले नै प्रदान गरेको अवस्थामा लोकसेवा आयोगले न्यूनतम् शैक्षिक योग्यताको विषयलाई लिएर निवेदकको दर्खास्त एवं परीक्षासमेत रद्द गर्ने गरी गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिने । (प्रकरण नं.७) रिट निवेदकका तर्फबाटः विद्वान अधिवक्ता सुरेन्द्र महतो विपक्षीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § लोकसेवा आयोग ऐन, २०६६ को दफा २२(३) § लोकसेवा आयोग (कार्यविधि) ऐन, २०४८ को दफा ८(२) § निजामती सेवा ऐन, २०४९ को दफा ७, ७(ग),(१०) आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :– मिति २०६७।७।२४ मा प्रकाशित सूचना ३६७/०६७–६८ विज्ञापन नं.२५८८।०६७–६८ सहायक अनुसन्धान अधिकृत/सहायक वैज्ञानिक अधिकृत, वनसेवा, बोटानी समूह, रा.प. तृतीय मधेसी, संख्या २ का विज्ञापनमा र विज्ञापन नं.२५८९।०६७–६८ सहायक अनुसन्धान अधिकृत/सहायक वैज्ञानिक अधिकृत, वन बोटानी, रा.प.तृतीय मधेसी संख्या १ को लागि भएको खुला प्रतियोगिताबाट नियुक्त हुने पदको लागि वन सेवा, बोटानी समूहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वनस्पतिशास्त्र विषय लिई विज्ञानमा स्नातक उपाधि वा सोसरह उत्तीर्ण हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता निवेदकले हासिल गरेको हुनाले उक्त दुवै विज्ञापन नं. २५८८ र २५८९ मा फाराम भरी परीक्षामा सामेल हुन प्रवेशपत्रसमेत जारी भै रोल नम्बर १५००१ कायम भएको थियो । उक्त प्रवेशपत्रको आधारमा विज्ञापन नं. २५८८/०६७–६८ को लिखित परीक्षा तथा विज्ञापन नं. २५८९/०६७।०८ को लिखित परीक्षाको नतिजा प्रकाशित भै विज्ञापन नं. २५८८ (मधेसी) को माग पद संख्या २ भएको म निवेदकसमेत दुईजना मात्र छनौट भएकोमा अन्तरवार्ता मिति २०६८।३।१६ गते र विज्ञापन नं. २५८९ (खुला) को माग पद संख्या १