निर्णय नं. ३८०६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८०६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/२५ २४४८ निर्णय नं. ३८०६ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. २०३३ आदेश भएको मिति : २०४६।३।२५।१ मा निवेदक : लाठकत्था उद्योगको प्रोप्राइटर जि.पर्सा वि.न.पं. वार्ड नं. ८ बस्ने ओमप्रकाश लाठ विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, बागदरवार काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) तीनै वर्षको कर निर्धारण आदेशमा एकै प्रश्न समावेश हुँदा एउटै निर्णयबाट निरोपण हुनसक्ने नै देखिँदा यस अवस्थामा अ.बं. ७२ नं. सान्दर्भिक नहुने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या.हरगोविन्दसिंह प्रधान १. नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. निवेदकको कत्था उद्योग घरेलु उद्योगको रुपमा औद्योगिक व्यवसाय ऐन, २०३० को प्रचलनको समयमा मिति २०३८।४।२८ मा दर्ता भए पनि औद्योगिक व्यवसाय ऐन, २०३८ मुताविक सुविधा र संरक्षण पाउने कुरा निर्विवाद छ । उद्योगको क्षमता र मेशिनरी औजारमा बृद्धि भएको कारण घरेलु उद्योगबाट मिति २०४०।९।२० मा उद्योग विभागमा साना उद्योगको रुपमा दर्ता भएको यस उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क)(२) अनुसार आयकर छूटको सुविधा प्राप्त गरेको हो भन्ने कुरा निर्विवाद छ । आयकर छूट पाउनु पर्ने सम्बन्धी कारवाही चलिरहेकोमा प्रत्यर्थीहरूले कुनै निर्णय नगरी आलटाल गरिरहेका थिए । तर संलग्न २०४३।४।५ को उद्योग विभागलाई लेखिएको म.क्षे.का.को पत्रबाट कारवाही भइरहेको पुष्टि हुन्छ, बोधार्थ विपक्षी कर कार्यालयलाई पनि दिइएको थियो । ३. औ.व्य. ऐन, २०३८ अनुसार आयकर छूटको सुविधा प्रत्याभूत भइसकेकोमा म निवेदकबाट आयकर असूल गर्न नपाउनेमा प्रत्यर्थी कर कार्यालयले मिति २०४५।१।५ को निर्णय बमोजिम आ.व. ०४०।४१, ०४१।०४२ तथा मिति २०४५।२।१७ मा आ.व. ०४२।०४३ समेत ३ आर्थिक वर्षहरूको आयकर निर्धारण गरी निवेदकलाई सूचित गरी पत्र पठाइएको छ । ४. म निवेदक सानो उद्योग भएको हुँदा आयकर ऐन, २०३१ को दफा २(ग) बमोजिम करदाता होइन । किनभने औ.व्य. ऐन, २०३८ को दफा १०(क)(२) बमोजिम उक्त उद्योग दर्ता भएको मितिले मूल्य अभिवृद्धिको अनुपातमा आयकर छूट पाएको हुँ । मूल्य अभिवृद्धिको अनुपातमा २० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने उद्योगले ५ वर्षसम्मको लागि शतप्रतिशत आयकर छूट पाउने तथा ५० प्रतिशत भन्दा बढी अभिवृद्धि गर्ने उद्योगले प्रत्येक थप १० प्रतिशतको निमित्त १ वर्ष थप आयकर छूटको सुविधा पाउने गरेको छ । यस उद्योगको उत्पादन लागतमा विदेशबाट आउने केमिकल र विदेशबाट आएको मेशिनरीको ह्रासकट्टी समेतबाट अन्दाजी २० प्रतिशत कट्टा गर्दा ८० प्रतिशत मूल्य अभिवृद्धि हुने हुँदा अधिकतम ८ वर्षसम्म आयकर छूट पाउन सक्ने कुरा स्पष्ट छ । आयकर ऐन, २०३१ को दफा ४२(२) मा औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित नेपाल कानुनमा पूर्ण वा आंशिक रुपले आयकर नलाग्ने गरी व्यवस्था भएको उद्योगहरूलाई सोही बमोजिम आयकर छूट हुनेछ भन्ने स्पष्ट व्यवस्था