निर्णय नं. ७४२७ - उत्प्रेषण परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४२७ - उत्प्रेषण परमादेश समेत । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०४/१२ ४७३० निर्णय नं.७४२७ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०५९ सालको रिट नं.३४८० आदेश मितिः २०६१।४।१२।२ विषय : उत्प्रेषण परमादेश समेत । निवेदकः जिल्ला महोत्तरी हरिहरपुर हरिनगरी गा.वि.स.वडा नं.७ शत्रुघनप्रसाद गुप्ता समेत बिरुद्ध विपक्षीः धनुषा जिल्ला सखुवा महेन्द्रनगर गा.वि.स.वडा नं.५ स्थित एभरेष्ट पेपर मिल्स प्रा.लि. समेत § यस अदालतको आदेशानुसार गठित विशेषज्ञ टोलीको प्रतिवेदनमा उल्लेख भएअनुसार तोकिएको मापदण्ड विपरीत हुने गरी विपक्षी उद्योगले औराही (वगही) नदीमा निष्कासित effluent मिसाई उद्योग संचालन गरी नदी प्रदूषण गरेको देखिन आएको छ । त्यसैले यथाशक्य चाँडो उपरोक्त उल्लेखित राजपत्रमा तोकिएको मापदण्ड ननाघ्ने गरी आवश्यक सुधारको व्यवस्था गरेर मात्र उद्योग संचालन गर्नु भनी आवश्यक यन्त्र जडान गर्ने लगायत सुधारको लागि चालु आर्थिक वर्षको अन्त्यसम्मको समय दिई तत्पश्चात पुनः उल्लेखित विशेषज्ञ समितिलाई वा आवश्यकताअनुसार अर्को विशेषज्ञ समितिद्वारा जुन आवश्यक पर्छ, विपक्ष उद्योगको निरीक्षण गरी गराई तोकिएको मापदण्ड भित्र रहेर मात्र उद्योग संचालन गर्न दिनु भनी विपक्षीहरुका नाममा निर्देशनात्मक आदेश जारी हुने । § दिनपरदिन बढ्दो सवारी संख्या, बढ्दो जनसंख्याको चाप, बढ्दो सहरीकरण, बढ्दो उद्योग व्यवसायको गतिविधिको कारण दिनपरदिन नदि खोला लगायत वातावरण प्रदुषित हुन पुगेको छ । यसको सामना गर्न बेलैमा ऐनले व्यवस्था गरेको न्यूनतम पूर्वाधार भैसक्नुपर्नेमा आजसम्म निरीक्षककै नियुक्ति हुन नसक्नुलाई अत्यन्त गम्भीरताका साथ लिनु पर्ने । निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षीतर्फवाटःविद्वान महान्याधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक तथा विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री चण्डेश्वर श्रेष्ठ र श्री रत्नेश्वरप्रसाद शर्मा अवलम्वित नजिरः आदेश न्या.वलराम के.सि.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. धनुषा जिल्ला महेन्द्रनगर गा.वि.स.एभरेष्ट पेपर मिल्स प्रा.लि.बाट प्रशोधन नगरी निक्लेको तरल रसायनिक पदार्थहरु सोझै सोही गा.वि.स.को पश्चिमतर्फबाट बग्ने विगही नदीमा खसालेको कारण सो भन्दा मुनिका धनुषा र महोत्तरीका विभिन्न गा.वि.स.हरुमा पनि प्रदुषित हुन पुगेको छ । मिलबाट निस्कने प्रदुषित तरल पदार्थले उक्त क्षेत्रमा बस्ने सर्वसाधारण जनता, पशुपंक्षी तथा वगही नदीका दुवै किनाराका हजारौ विगाहा खेतियोग्य जग्गा जमिन, वाली नाली समेतमा गम्भीर असर पुर्‍याएको छ । यसरी हुन गएको हानी नोक्सानी रोक्न पटक–पटक अनुरोध गर्दा पनि श्री ५ को सरकारका विभिन्न निकायहरुबाट आवश्यक कारवाही नगरिएको र श्री ५ को सरकारले दिएका केही निर्देशनको पालना पनि विपक्षी उद्योगले नगरेकोबाट सर्वसाधारण पीडित हुनु परेकोले यो रिट निवेदन लिई आएका छौं । ३. मिलबाट निस्कने प्रदुषित तरल पदार्थ वगही नदीमा खुल्लारुपमा छोड्ने कार्यबाट त्यसभेगका हजारौ विगाहा जग्गा, पशुपंक्षी तथा सर्वसाधारण जनताको स्वास्थमा समेत प्रतिकूल असर परेको र वातावरण प्रदूषण हुन गएकाले यथाशिघ्र कारवाही गरिपाउन निवेदन दिएकोमा उद्योग विभागबाट प्रत्यर्थी मिललाई २०५७।१।१५ मा दिएको निर्देशन