निर्णय नं. ८७७४ - घर उठाई खिचोला मेटाई चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७७४ - घर उठाई खिचोला मेटाई चलन भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/०७/२२ ४१९६ ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७७४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६४ सालको दे.पु.नं. २११ फैसला मितिः २०६७।७।२२ मुद्दा :– घर उठाई खिचोला मेटाई चलन । पुनरावेदक वादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १७ रानी सिकियाही टोलमा बस्ने सन्तोष स्वर्णकार विरुद्ध विपक्षी प्रतिवादीः जि.मोरङ्ग बिराटनगर उ.म.न.पा. वडा नं. १७ बस्ने गंगा महतो समेत शुरु फैसला गर्ने :– मा.न्या.श्री तेजबहादुर कार्की पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री दीपककुमार कार्की मा.न्या.श्री केदारप्रसाद चालिसे § कसैले कुनै सम्पत्ति आफ्नो भन्ने हैसियतमा निरन्तररुपमा भोग गरिरहेको हुन्छ र त्यसउपर वैध स्वामित्ववालाले थाहा पाएर पनि त्यस्तो भोगलाई मौन सम्मति प्रदान गर्दछ भने त्यसबाट भोगकर्ताको भोगाधिकार सिर्जना हुनसक्ने । § बलपूर्वक, चोरी क्रिया, अनुरोध वा विशेष आग्रहको अभावमा अर्काको जग्गामा दीर्घ भोग नै वास्तविक प्रतिकूल भोग (Adverse Possession) को स्थापित आधार हो भनी मान्न सकिन्छ । प्रतिकूल भोग स्थापित गर्न भोगको अटुट निरन्तरता परम आवश्यक तत्व मानिने । (प्रकरण नं.५) § ४० औ वर्षदेखि घर बनाई भोग चलन गरी आएकोमा सो जग्गाबाट घर उठाई पाऊँ भनी समयमा नै कानूनी उपचारमा नआई जग्गाको भोगचलनलाई मौन सम्मति प्रदान गरेको अवस्थामा केवल २०६० सालमा मात्र आफ्नो जग्गामा खिचोला गरी घर बनाई बसोबास गरेको भन्ने कथन ठोस प्रमाणबाट पुष्टि हुन नसक्ने । (प्रकरण नं.४०) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मणिराम निरौला विपक्षी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :– साविक दर्तावाल प्रतिवादी धुनीदेवीको ससुरा गंगा महतोको पिता कारी नुनिया महतोका नाममा साविक रै.नं. ३७४ को गोग्राहा मौजे रानी सिकियाहीको जग्गा सर्वे नापी हुँदा विराटनगर ११ (क) कि.नं. ९३ को ०–३–१५ जग्गा मध्ये मेरा पति हनुमान मल्ललाई विभिन्न मितिमा दा.खा. हुँदा उक्त कि.नं. ९३ कित्ताकाट भई कि.नं. २४१ को ज.वि. ०–२–६½ र कि.नं. ३३० को ०–०–३ १/२ समेत जम्मा ज.वि. ०–२–१० जग्गा मेरो पतिको नाममा दर्ता हुन आएको हो उपरोक्त जग्गामा कुनै घर बसोबास केही थिएन । पछि पति तथा पतिका दाजुभाइ बीच एक आपसमा अंशवण्डा हुँदा कि.नं. ८३५ ज.वि. ०–०–८ ¼ र कि.नं.८३७ को ०–०–१ ¾ गरी जम्मा ०–०–१० जग्गा देवर दिनेशकुमारको अंश भागमा परी निजबाट मैले २०५९।८।५ मा राजीनामा गराई सो दुवै कित्ता जग्गा मैले खरीद गरी लिएको विवादरहित हकभोगको घर नभएको खाली जग्गा थियो । म फिरादी र मेरा पति भारतको विहारमा निम्ता मान्न मिति २०६०।८।७ मा गएको र घरमा कोही नभएको मौका पारी ऐ. ८ गतेका दिन विहान ७ बजेबाट नौला ७,८ जना मिस्त्री समेतको मद्दतमा उपरोक्त जि. मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १७ मा पर्ने कि.नं.८३५ को पूर्व तर्फबाट ०–०–२ घर जग्गा र कि.नं.८३७ को ०–०–१¾ ससिम कित्ता समेत जम्मा ०–०–३¾ जग्गामा पूर्व उत्तरको सँधियार यी दुवै प्रतिवादीहरूले मेरो जग्गा खिचोला गरी चापी कर्ची बाँसको भित्ता लगाई, सेतो कर्कट पाताको छाना लगाई, अगाडिको बरण्डामा टालीको छाना लगाई बनाए