निर्णय नं. ७४४७ - प्रतिषेध मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४४७ - प्रतिषेध मिश्रित परमादेश । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/१०/०८ ४४२४ निर्णय नं.७४४७ ने.का.प.२०६१ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री परमानन्द झा संबत् २०६१ सालको रिट नम्वर ...३००५ आदेश मितिः २०६१।१०।८।६ बिषयः प्रतिषेध मिश्रित परमादेश । निवेदकः मानव अधिकार, वातावरण, कानून तथा असल शासन क्रियाकलाप समाजका महासचिव काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३५ नयाँ वानेश्वर बस्ने अधिवक्ता भोजराज ऐर समेत बिरुद्ध विपक्षीः ललितपुर उपमहानगरपालिका, पुल्चोक ललितपुर समेत § विवादित जग्गाको क्षेत्र सार्वजनिक महत्व र उपभोगको रहेको पाइएको, सो ठाउँ संगै प्राचीन ऐतिहासिक अशोक स्तूप र त्यसको क्षेत्र भएको, विवादित सप्तपाताल पोखरी यही हो वा अन्यत्रै थियो भन्ने प्रश्नको निरुपण रिट क्षेत्रबाट हुन सक्ने बिषयवस्तु नभए तापनि मिसिल संलग्न पानेजुहरुको निवेदन, गुठी संस्थानको पत्र, स्वयं बिद्यालयको कवूलियतनामा, बिद्यालय सञ्चालक समितिबाट भएको निर्णय, जग्गाको पूर्ववत स्रोत, धार्मिक र साँस्कृतिक पृष्ठभूमिको आधारबाट निर्माणाधीन बिद्यालय भवन सप्तपाताल रहेकै ठाउँमा बनाउन लागिएको भन्ने बिषयमा संका गर्न नमिल्ने । § सवै पोखरीहरु नापीको नक्सामा नजनाइएकै कारणबाट बिभिन्न प्रमाणहरुद्वारा पोखरी भएको तथ्य प्रमाणित भै रहेको अवस्थामा सप्त पाताल नै सो ठाउँमा थिएन भनी अर्थ गर्न नमिल्ने । निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ताहरु श्री पूर्णमान शाक्य, श्री वालकृष्ण न्यौपाने, श्री दिनेश त्रिपाठी, श्री भोजराज ऐर विपक्षी तर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइराला, विद्वान अधिवक्ताहरु श्री सुवास नेम्वाङ, श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री हरिप्रसाद उप्रेती, श्री सुरेन्द्र भण्डारी, श्री अच्युतराज वुढाथोकी, श्री पुरुषोत्तम ढुंगाना र श्री रमेश कुमार रोक्का अवलम्वित नजिरः आदेश प्र.न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२)अनुसार दायर हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य र आदेश यसप्रकार छ :- २. साविक ललितपुर नगर पञ्चायत वडा नं. ५(क) कित्ता नम्वर १२६ क्षेत्रफल २०५.८.०.० भएको जग्गा ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक अशोक स्तूपको क्षेत्र भएको सार्वजनिक जग्गा हो । उक्त जग्गा कुनै व्यक्ति बिशेष र श्री ५ को सरकारको जग्गा नभएको र सो जग्गा सार्वजनिक जग्गा भएको जीवित प्रमाण जोताहा महलमा लगनखेल भनी स्पष्ट रुपमा उल्लेख भएको र किसिममा ७ नं. भनिएको, नापी क्षेत्रीय फाराम न.. १ को उतारबाट समेत स्पष्ट छ । सो जग्गाको प्रयोगको प्रकृति, त्यसमा रहको ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक महत्वको अशोक स्तूपको साथै मीननाथ जात्राको अन्तिम पूजा गर्दा माछा छाड्ने सप्त पाताल भनिने पोखरी रहेको जग्गा भएको पुष्टि श्री ५ को सरकारले मिति २०५०।१०।२९ मा निर्णय गरी मोहीमा लगनखेल भनी आफ्नो नाममा तयार गर्न लगाएको संलग्न जग्गाधनी दर्ता श्रेस्ताबाट समेत प्रष्ट भै रहेको छ । यस्तो जग्गा श्री ५ को सरकारको नाममा नआउँदै श्री ५ को सरकारको निर्णयले गठित शिक्षण संस्था सम्पत्ति व्यवस्था जिल्ला समिति, ललितपुरको २०३४।११।१२ को निर्णयले कित्ता नम्वर १२६ बाट कित्ता काट गरी प्राप्त गरेको भनेको कित्ता नम्वर २१२ को क्षेत्रफल १४.१०.२.० क्षेत्रफल भएको जग्गा आफ्नो भन्ने निराधार जिकिर गरेको छ । भूमि प्रश