निर्णय नं. ९०२३ - मोही नामसारी गरी प्रमाण पत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२३ - मोही नामसारी गरी प्रमाण पत्र भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०१/२७ ३७८९ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६७-CI-०५३४ फैसला मितिः २०७०।१।२७।६ मुद्दाः–मोही नामसारी गरी प्रमाण पत्र । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ्ग, विराटनगर उपमहानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३७ को योजितराज प्रधान नेपाली विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी, चिमडी गा.वि.स.वडा नं.३ बस्ने कात्तिकलाल चौधरी शुरू फैसला गर्ने भू.सु.अ.श्री नारायणप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री हरिबहादुर बस्नेत मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल § जग्गाको लगत विवरण भरी बुझाउँदा जग्गा रहेको वडाभन्दा फरक वडामा बुझाएकै मात्र कारणले वर्षौंदेखि जोती कमाई आएको जग्गाबाट मोही हक स्वतः मेटिने भन्न न्यायका दृष्टिले नमिल्ने । § नेपाली समाज अझै पनि अर्धशिक्षित अवस्थामा रहेको पाइनुले आफ्नो हकप्रति सजग रहनुपर्ने सचेतनाको स्तरमा रहेको कमी कमजोरीलाई गरीब तथा निरक्षर जनताको हकमा भएको प्राविधिक त्रुटिलाई मात्र निर्णयमा निर्णयाधार बनाउन समन्यायको दृष्टिबाट समेत उचित नमानिने । § १ नं. लगत भरी फरक वडामा बुझाउँदैमा र २ नं.अनुसूचीसमेत फरक वडाबाट प्रकाशित भएको भन्ने प्राविधिक त्रुटिजन्य कारणलाई मात्र आधार बनाई वादी दावीको जग्गाको मोही होइनन् भन्न न्यायको दृष्टिबाट नमिल्ने । (प्रकरण नं.६) प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता हरिनारायण चौधरी प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीर सम्बद्ध कानूनः आदेश न्या.ज्ञानेन्द्रबहादुर कार्कीः पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।११।०४।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर देहायबमोजिम छ । साविक ज.ध.योगराज ताम्राकार भई हाल विपक्षी प्रतिवादीका नाममा दर्ता कायम हुन आएको जि.सुनसरी, चिमडी गा.वि.स.वडा नं.२क. कि.नं.५९ को १–१०–२ जग्गाको मेरो बुबा चिचाई चौधरी हक प्राप्त मोही भई उहाँले जोती कमाई आउनु भएकोमा निज बुबा २०२३ सालमा, आमा जेठी कैली भन्ने आशादेवी २०२० सालमा र कान्छी आमा छर्पोदेवी थरूनी २०२७ सालमा मृत्यु भएपश्चात् निजहरूको हक खाने एक मात्र छोरा म फिरादी भई मैले जोती कमाई आएको हुँदा उक्त जग्गाको मोही हक मेरा पिता चिचाई चौधरीको नाममा कायम गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मेरा नाममा मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाऊँ भन्ने व्यहोराको वादीको फिराद दावी । वादी दावीबमोजिमको मेरा नाममा दर्ता कायम रहेको जग्गा निर्बाधरूपमा मेरो हक भोगमा रहेको जग्गा हो । विपक्षी वादीले जवर्जस्ती मोही हक स्थापित गर्ने बद्नियत लिई खिचोला गरेकाले जग्गा खिचोला चलन र सो जग्गामा भएको धानबाली समेत लुटपीट गरेकोमा सम्मानीत सुनसरी जिल्ला अदालतमा जग्गा खिचोला चलन र लुटपीट मुद्दा दायर गरी विचाराधीन अवस्थामा रहेको हुँदा उक्त जग्गाको मोही हक वादीका पिता चिचाई चौधरी कायम हुने अवस्था नभएको हुँदा वादी दावीबमोजिम नामसारी हुने अवस्था नै नरहेको हुँदा वादी दावी झूठा हुँदा खारेज गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र । वादीले दावी लिएको जग्गाको दावी पुग्न नसक्ने भई प्रस्तुत मुद्दा मुलुकी ऐन, अ.बं.१८० नं.बमोजिम खारेज हुने ठहर्छ भन्ने शुरू भूमि सुधार कार्यालय, सुनसरीको मित