निर्णय नं. ७११५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७११५ - बन्दीप्रत्यक्षीकरण भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०६/०८ २८३२ निर्णय न.७११५ ने.का.प.२०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०५९ सालको रि.नं. .. ९९ आदेश मितिः २०५९।६।८।३ विषय : वन्दीप्रत्यक्षीकरण । निवेदकः काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा न. १ घर भै हाल का.जि.का.म.न.पा. वडा नं. ३१ मा कानून व्यवसाय गरी हाल पक्राउमा परेका अधिवक्ता खिमलाल देवकोटाको हकमा निजको श्रीमती लक्ष्मी विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय समेत § कानूनले अधिकृत गरिएको अधिकारीले पनि उक्त ऐनको दफा ९ वमोजिम कुनै व्यक्तिलाई नजरवन्दमा राख्ने आदेश गर्दा आतंककारी तथा विध्वंसात्मक कार्य हुन सक्ने कुनै काम कुरा गर्नबाट कुनै व्यक्तिलाई रोक्नु पर्ने विश्वास गर्न सकिने मनासिव आधार हुनुपर्ने। § ऐनको उल्लेखन मात्र पर्याप्त हुदैन । ऐनको प्रयोगको लागि यस्का पूर्वाधार पनि विद्यमान हुनु आवश्यक हुन आउंछ । ने.क.पा. (माओवादी) संग आवद्ध रही हिंसालाई तिव्र वनाउने उद्देश्यबाट परिचालन भएको भन्ने वुझिन आएको भन्ने कुरा मात्रले विश्वास गर्न सकिने मनासिव आधार भएको भन्न वाच्छनीय नहुने। § निवेदक खिमलाल देवकोटालाई निमित्त प्रमुख जिल्ला अधिकारीबाट नजरवन्दमा राख्ने आदेशमा अधिकारक्षेत्रात्मक त्रुटि रहनुका साथै सो आदेश र आदेश वमोजिमको थुनामा राख्ने काम कारवाही कानून संगत समेत नदेखिने। (प्र.नं. २४ र २५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरु क्रमशः श्री हरिकृष्ण कार्की, श्री शिवराज अधिकारी, श्री सतिसकृष्ण खरेल, श्री एकराज भण्डारी, श्री सरिता शर्मा तथा श्री लक्ष्मी शर्मा विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री बृजेश प्याकुरेल अविलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं ठहर निम्न प्रकार छः २. निवेदक खिमलाल देवकोटा विगत ११ वर्ष देखि निरन्तर रुपमा कानून व्यवसाय पेशामा संलग्न रही सर्वोच्च अदालत वार इकाइको सदस्य नेपाल वार एशोसियन, मानव अधिकार तथा जन सरोकार समितिको सदस्य साथै मानव अधिकार वादी संस्था जन अधिकार सरोकार अभियानको सचिव समेत रही आउनु भएको छ । कानूनसंग सम्वन्धित ठहर नामक पत्रिकाको सम्पादक समेत रही सक्नु भएका निज खिमलालले संविधान एवं कानूनसंग सम्वन्धित कतिपय पुस्तकहरु लेखी आउनु भएको छ भने यससंग कानूनसंग सम्वन्धित निजका थुप्रै लेख रचनाहरु समेत विभिन्न सार्वजनिक पत्र पत्रिका छापिई सकेको छन् । ३. मिति २०५९।२।२८ गते विहान करिव ९ वजे तिर आफ्नो अफिसमा आफ्नो व्यवसायसंग सम्वन्धित काम गरिरहेको अवस्थामा केही साधा पोशाकको सुरक्षाकर्मीहरु वागवजार स्थित आफ्नै ल फर्ममा आई तपाईसंग मुद्दा सम्वन्धी सल्लाह गर्नुछ भनी केही छिन वसी तत्काल ल फर्मबाट वाहिर निस्केर वाटोमा वसेका रहेछन । करिव ९.३० वजे तिर सर्वोच्च अदालतमा वहस गर्न भनी सम्वन्धित मिसिल फाइल र आवश्यक पुस्तकहरु व्यागमा राखी कालोकोट लगाई ल फर्मबाट वाहिर निस्कन लाग्दा फर्म निजकै वाटोमा वसेका ४।५ जना साधा पोशाकका सुरक्षाकर्मीहरु र २ जना जति युनिफर्मका प्रहरीहरुले निवेदक खिमलाललाई पक्राउ गरी नम्वर थाहा नभएको प्राइभेट भ्यानमा राखी रत्नपार्क तिर लिई गए सो घटना वाहिर तिर पसलमा वसेका र हिड्दै गरेका केही व्यक्तिहरुले देखेका छन् । करिव साढे एक घण्टा पछि शुरु