निर्णय नं. ९०२५ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२५ - अंश चलन भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०२/२२ ५३४७ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६७–CI–०८४० फैसला मितिः २०७०।२।२२।४ मुद्दा : अंश चलन । पुनरावेदक वादीः रामेछाप जिल्ला, सालु गाउँ विकास समिति वडा नं. ६ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ७ चाबहिल बस्ने जयन्त खड्कासमेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः रामेछाप जिल्ला, सालु गाउँ विकास समिति वडा नं. ६ हाल काठमाडौँ जिल्ला कपन गाउँ विकास समिति वडा नं. ३ बस्ने लोकबहादुर खड्काको मु.स. गर्ने निजको पत्नी ऐ.ऐ. बस्ने पुष्पा खड्का समेत काठमाडौँ जिल्ला अदालत :– मा.जि.न्या. श्री टेकनारायण कुँवर पुनरावेदन अदालत पाटन :– मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा § सगोलका अंशियारमध्ये जसको नाममा सम्पत्ति भएपनि त्यो उसैको एकलौटी हुँदैन । कुन सम्पत्ति बण्डा लाग्ने र कुन नलाग्ने भन्ने कुराको मापदण्ड अंशबण्डाको १८ नं. हो । § एकाघर सँगका अंशियारमध्ये जोसुकैको नाममा रहेको सम्पत्ति सगोलको मानिने कुरा अनुमान हो र यो अनुमान पनि अन्यथा प्रमाणित भएमा कायम रहँदैन । तसर्थ, प्रमाण ऐन, २०३१ को दफा ६(क) का आधारमा दावी स्थापित हुने नभई विचाराधीन मुद्दामा प्रमाणका कडीमा यो अनुमान गरिने विषय मात्र हो । यस दफालाई अंशबण्डाको १८ नं. ले परिसिमित गर्ने । § पैतृक सम्पत्तिबाट बढे बढाएको सम्पत्ति नभएको कुरामा वादीको सहमति नै छ । केवल त्यो सम्पत्ति आर्जन गर्न आफ्नो पक्षको पनि योगदान छ भन्ने वादीको कथन रहेको छ । तर, प्रतिवादीको नोकरी, आधिकारिक मध्यमबाट भारतबाट रकम नेपाल पठाएको मिति र जग्गा किनिएको मिति समेतले वादीको जिकीरलाई पुष्टि गर्न नसक्ने । (प्रकरण नं.३) पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ता सुदीप नेपाल प्रत्यर्थी प्रतिवादीतर्फबाटः अवलम्बित नजीरः § ने.का.प. २०६९ भदौ, नि.नं. ८८३०, पृष्ठ ७५८ सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा ६(क) § मुलुकी ऐन, अंशबण्डाको महलको १८ नं. § स्त्री अंशधनको महलको ५ फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :– हाम्रा जिजुबाजे ससुरा नैनबहादुरका तीन छोराहरूमा जेठा कुमाले खड्का, माहिला हामी फिरादीका बाजे ससुरा दीपबहादुर खड्का र कान्छा विपक्षी लोकबहादुर खड्का हुनुहुन्छ । जिजु बाजे तथा ससुराको देहान्त भैसकेको छ । उहाँका तीन छोरामध्ये जेठा कुमाले र निजको पत्नी निःसन्तान अवस्था मै परलोक भएको, दीपबहादुर र निजको पत्नी तुलसादेवी २०४८ सालमा परलोक हुनु भएको, निजका दुई छोरी र एक छोरा हुनु भएकोमा छोरीको अघि नै विवाह भैसकेको छ । छोरो मधुसुधन जो हामी फिरादीको पिता तथा पति हुनुहुन्छ, उहाँको पनि २०५८ सालमा परलोक भयो । तत्पश्चात् मेरा दुई छोरी सरिता तथा बबिताको विवाह भैसकेको छ । एक छोरा म जयन्त अविवाहित नै रहेको छु । जिजुबाजेको सम्पत्तिमा हामी अंशियारहरूबीच हालसम्म अंशबण्डा भएको छैन । नैनबहादुरका जेठा छोरा निःसन्तान भै परलोक हुनुभएका कुमालेको नाउँको सम्पत्तिसमेत विपक्षीको नै जिम्मा रहेको छ । हामीले आफ्नो अंश माग गर्दा विपक्षीले हाम्रो अंश दिन इन्कार गरेकाले दुई भागको एक भाग अंश छुट्याई अड्डैबाट चलन