निर्णय नं. ३३३० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३३० - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/०९/२९ २४१८ निर्णय नं. ३३३० ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५३८ फैसला भएको मिति : २०४४।९।२९ मा पुनरावेदक/वादी : फुलमाया राइको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.मोरङ डागीहाट गा.पं.वा.नं. ५ बस्ने सनबहादुर भण्डारीसमेत मुद्दा : कर्तव्य ज्यान (१) मनसाय प्र.हरूको भएको मिसिल प्रमाणबाट देखिन आउँदैन, पक्राउ परी जान नमान्दा बल प्रयोग भई संयोगवश निजको मृत्यु भएको देखिन आयो, जाहेरवाला समेतको बकपत्रबाट प्र.बलबहादुर कार्की, सनबहादुर भण्डारी, बालकृष्ण भण्डारी र गोपालबहादुर कार्कीसम्म वारदातमा उपस्थित भइरहेको देखिँदा निजहरूले बल प्रयोग गरी मृतकलाई लग्दाको अवस्था भवितव्य परी निज पुष्पबहादुरको मृत्यु भएको देखिने । (प्रकरण नं. ३६) पुनरावेदक–वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विपक्षीतर्फबाट : विद्वान व.अ.श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली र श्री हरिहर दाहाल फैसला न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २.२०३९।४।२२ गतेको रात हामी सबै परिवार सुति निदाएको अवस्था रातको अं. १ बजे वलबहादुर कार्की समेत मेरो घरमा आई मेरो श्रीमान् पुष्पबहादुर राईलाई सुती रहेको ठाउँबाट उठाई लक्ष्मी मार्गतिर लगेका थिए निजहरूले मेरो लोग्नेलाई मारपीट गरी मारेछन् भोलिपल्ट १० बजेतिर मेरो श्रीमान् मरी रहेको थाहा पाई जाहेर गरेको छु । अपराधी पत्ता लगाई कानून बमोजिम सजायँ गरिपाउँ भन्ने फुलमाया राईको जाहेरी दर्खास्त । ३.जाहेरीमा लेखिएको मिति समयमा हामीहरूको मिलोमतोबाट पुष्पबहादुर राईलाई पक्राउ गरी प्रहरी चौकी लाँदै गरेको अवस्थामा लक्ष्मी मार्गबाट नजिक आई पुगेपछि पहिला बाहुन कान्छा, इन्द्रबहादुर विष्ट, कृपा सिंह, गोपालबहादुर समेत ४ जनाले हिर्काएका हुन् त्यसपछि मैले हातले थप्पड हिर्काएँ त्यसपछि ११ जनाले लाठी मुक्काले हिर्काउँदै घटना स्थलमा पुगेपछि पुष्प राई लर्याक लुरुक भयो र राजमार्ग उत्तर पट्टीको डिलमा राखेका हौं राखेको अवस्था मर्ला जस्तो थिएन, निजलाई ताहीं छाडी हामी सबै आफ्नो घरतर्फ गयौं भन्ने सनबहादुरले प्रहरीमा गरेको बयान कागज । ४.२०३९।४।१३ गते रातमा हामी १५।१६ जनाको जमात भई निज पुष्पबहादुरलाई घरमा सुती निदाएको अवस्थामा उठाई लक्ष्मी मार्गमा निकालेपछि गोपालले पहिले कुटपीट गर्न लागेपछि हामी सबैले कुटपीट गरी वेलवारी चौकी छेउ राजमार्गको उत्तरपट्टीको डिलमा जिवीतै राखी हामी सोह्रै जना घर तर्फ गयौं यो घटना हामी बीच भएको हो भन्ने बालकृष्ण भण्डारीले प्रहरीमा गरेको बयान कागज । ५.२०३९।४।१३ गते म मामाको घरमा आएको थिएँ मर्ने पुष्प राईले सनबहादुर र मलाई पनि गोपाललाई काटे झैं काटी दिन्छु भनी हिंडेको र पहिला ४।५ महीना अघि ज्यान मार्ने उद्योग गरी गोपाललाई काटेकोमा ज्यान मार्ने उद्योग मुद्दा मो.जि.अ. मा पेश भई निज पुष्प राईका नाउँमा वारेन्ट म्यादी पुर्जी समेत आएकोमा निज आजसम्म लुकी हिंडि रहेका थिए के कताबाट घरमा आएको पत्ता पाई पक्राउ गर्नु पर्दछ भन्ने हामी सोह्र जानाको सल्लाह भई निजलाई निजकै घरमा पक्राउ गरी प्रहरी चौकी वेलवारीमा लगी रहेको अवस्थामा