निर्णय नं. ३३३१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३३१ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/०९/२९ २४०७ निर्णय नं. ३३३१ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिहं सम्वत् २०४२ सालको रि.नं. २३३३ आदेश भएको मिति : २०४४।९।२९।४ मा निवेदक : गुल्मी जि.हुगा गा.पं. वडा नं. १ गैरावारी बस्ने देवीदत्त भण्डारी विरुद्ध विपक्षी : श्री ५ को सरकार, भूमि सुधार मन्त्रालय नापी विभाग ९ नं. नापी गोश्वारा गुल्मी विषय : उत्प्रेषण (१) भोगचलन तिरोको आधार देखाउँदै जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(२) बमोजिमको म्यादभित्र निवेदकले उजूरी निवेदन दिएपछि निवेदकको प्रमाण समेत बुझी के कति कारणले विवादित जग्गा गौचरण कायम हुने हो सबूद प्रमाण उल्लेख गरी निर्णय गर्नु पर्नेमा निवेदकलाई तारेखमा नै नराखी निजको प्रमाण नबुझी नापीमा गौचरण जनिएकै आधारमा मात्र गौचरण कायम गरी निवेदकको उजूरीमा खास कारवाही नै नगरी तामेलीमा राखी सो को जानकारी दिनु भनी निवेदकको उजूरी सम्बन्धमा भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २.बाबा लिलु भन्ने लिलाधरको ७ छोरामा जेठा देवीप्रसाद, माहिला थानेश्वर, साहिंला देवीदत्त, काहिंला रमाकान्त, ठाहिंला घनश्याम, राइला मारकण्ड, कान्छा तोयानाथ र घनश्यामको छोरा थोनेश्वर हुन् । लिलाधरले १९७६।४।९ मा राजीनामा र १९७४।३।११ गतेको वहाली पुर्जी समेत पाई भोगेको जग्गाको थरीलाई तिरो बुझाई आएको थियो । गुल्मी मालमा लिलाधर भण्डारीको नाउँमा नं. ११ मा सो जग्गा दर्ता भएको छ । ०३९ सालसम्मको तिरोभरो भएको रसिद पनि छ । पितापछि हामी ७ भाइको वण्डा भई तोयानाथ २ भाग देवीदत्त २ भाग र अरु १।१ भाग खाने गरी ०२३।११।२२ मा सो खोली ७ नं. फाराम भरेका पनि छौं । सो जग्गा र अरु जग्गामा समेत ०३७ सालमा नापी आउँदा कि.नं.३८४ मा नापी गराई पठाएको पनि थियो । नापी बमोजिम मेरा नाउँमा ज.ध.प्र. पत्र दिंदा मेरो ७ नं. फाराम बमोजिमको आँपको बगैंचा र खरान समेत जग्गाधनी प्रमाण–पत्रमा छूट भएको देखि ०३९।५।४ मा २ वर्ष भित्रै नापीमा उजूर दिएको थिएँ । मलाई सो उजूरीमा तारेखमा राखेको थिएन । सो उजूरीमा कारवाही गरिँदा कि.नं.३८४ गौचरण कायम भएको फिल्डबुकबाट देखिँदा उक्त निवेदन तामेलीमा राखी संबन्धित व्यक्तिलाई जानकारी दिने भन्ने तोक आदेशानुसार तपाईको निवेदन तामेलीमा राखी दिएको व्यहोरा जानकारी गराइन्छ भन्ने सूचना मेरो नाउँमा ०४२।१२।२३ मा तामेल भएको थियो । मलाई निर्णय हेर्न र सार्न दिइएन । मेरो तिरोभरो भोग गरेको जग्गालाई नापीमा गौचरण भनी लेखिएको भनी मसंग कुनै सबूद प्रमाणहरू बुझ्दै नबुझी मेरो उजूरीमा बुझ्नु पर्ने प्रमाणहरू बुझी निर्णय गर्नु पर्नेमा मलाई बुझ्दै नबुझी गौचरण भनी फिल्डबुकमा लेखिएको कारणबाट मात्र जग्गा नाप जाँच ऐनको दफा ८(४) अन्तर्गत गर्न नमिल्ने भनी मिसिल संलग्न प्रमाणको वास्ता नगरी निर्णय गर्नु कानूनसंगत होइन सो सम्बन्धमा स.अ. बाट ने.का.प. २०३४ को नि.नं. १०५३ मा सिद्धान्तसमेत प्रतिपादित भएकोछ । हाम्रो जग्गालाई कसैको उजूर वाजूर नै नभएको अवस्थामा गौचरण भनी क्षेत्रीय कितावमा गल्तीबाट देखिएको आधार