निर्णय नं. ७१२५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१२५ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०३/११ २७७३ निर्णय न.७१२५ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्वत् २०५५ सालको रिट नं.. ३८२७ आदेश मितिः २०५९।३।११।३ विषयः उत्प्रेषण । निवेदकः काभ्रेपलान्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. ९ वस्ने कृष्णजी वैदार बिरुद्ध विपक्षीः भूमिसुधार कार्यालय काभ्रेपलान्चोक समेत § पहिले तत्काल प्रचलित कानून वमोजम परेको उजुरी निवेदनको अन्तिम टुंगो नलागिकन अघि चलेको कारवाहीलाई निरर्थक र त्यसको अस्तित्व नै समाप्त हुने गरी जग्गा वांडफांड गर्ने गरी पछि परेको निवेदनमा निर्णय गर्नु पनि उपयुक्त नहुने। § २०५० सालमा नै मोहीवाट घरवारीको लागि जग्गा झिकी पाउं भनी भूमि सम्वन्धी ऐन, २०२१ को दफा २७ वमोजिम दिएको निवेदनमा कारवाही भै अन्तिम टुंगो नलागेको अवस्थामा सो ऐनमा मिति २०५३।९।२४ मा भएको चौथो संसोधनवाट सो दफा २७ खारेज भए पनि जग्गा धनीले कारवाही चलाउंदा वहाल रहेको ऐन कृयाशिल हुने भै त्यस वमोजिम चलेको कारवाहीको किनारा लाग्नु पर्ने र सो कारवाहीलाई प्रभाव पर्ने गरी पछि चलेको कारवाहीमा निर्णय गर्न मिल्ने अवस्था नहुंदा उक्त दफा २७ खारेज भै सकेको कारणले सो वमोजिम चलेको कारवाहीको टुंगो नलाग्दै वांडफांड गर्न मिल्छ भन्ने वहस जिकिरसंग सहमत हुन नसकिने। § रिट निवेदकले घरवारीको लागि जग्गा झिकी पाउं भनी दिएको मुद्दा चलिरहेको अवस्थामा भूमि सुधार कार्यालय काभ्रेपलान्चोकले अघि चलिरहेको उक्त मुद्दाको कुनै वास्ता नै नगरी तोकिएको तारेख भन्दा अघि नै गरेको निर्णयवाट Gross Justice हुने। (प्र.नं. १४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री ध्रुवनाथ पन्त विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रबहादुर कार्की , विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजिरः आदेश न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) वमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. म निवेदक जग्गा धनी र विपक्षी मध्येको गोमती कायस्थ मोही भएको साविक वनेपा पंचायत वडा नं. १(क) कि.नं. २७१ को २-७-३-३ जग्गा तत्कालिन भूमि सम्वन्धी ऐन, २०२१ को दफा २७ वमोजिम मोहीवाट घर घडेरीको लागि जग्गा झिकी पाउं भनी मिति २०५०।३।१७ मा वनेपा नगरपालिकामा निवेदन गरेको थिएं । वर्षौसम्म उक्त निवेदन उपर कारवाही नगरेकोले वनेपा नगरपालिका उपर यस अदालतमा परमादेशको रिट निवेदन दायर गरेकोमा यस अदालतवाट तीन महिना भित्र यथाशक्य चाडो निर्णय गरी दिनु भनी वनेपा नगरपालिकाको नाममा परमादेश जारी हुने ठहरी मिति २०५४।५।२४ मा फैसला भएको थियो । सो नगरपालिकाले मोहीवाट जग्गा झिक्नु पर्ने आदेश दिनु पर्ने नदेखिएको भनी मिति २०५५।९।१५ मा निर्णय गरेकोले सो निर्णय उपर पुनरावेदन अदालत पाटनमा मिति २०५५।९।३० मा पुनरावेदान दायर गरी हाल कारवाही चलिरहेको छ । वनेपा नगरपालिकामा उक्त कारवाही चल्दा चल्दै मिति २०५५।१।२० मा संसोधित भूमि सम्वन्धी ऐन, २०५३ को दफा २६ घ २६६ वमोजिम जग्गा छुट्याई मोही लगत कट्टा गरी पाउन विपक्षी गोमती कायस्थले भूमि सुधार कार्यालयमा निवेदन गरेको र तहांवाट प्राप्त भएको म्यादै भित्र मैले जग्गा छुट्याउने कुरामा इन्कार गरी प्रतिवाद गरेको र साथै सो कारवाही मुल्तवी राख्न दिएको निवेदन वमोजिम भूमि सुधार कार्यालय काभ्रेपलान्चोकले मुल्तवी समेत राखेको थियो ।