निर्णय नं. ७६३६ - संविधानसंग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६३६ - संविधानसंग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन) भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/१२/३१ ९१९६ निर्णय नं.७६३६ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०६१ सालको विशेष रिट नं. ...६१ आदेश मितिः २०६२।१२।३१।५ विषयः– संविधानसंग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन) नियमावली, २०४८ को नियम ८ को उपनियम (१क) को खण्ड (क) प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरिपाऊँ । निवेदकः का.जि.सितापाइला गा.वि.स.वडा नं. १ घर भई हाल कर्मचारी संचयकोष पुल्चोक ललितपुरमा दशौं तहमा कार्यरत वर्ष ३९ को राजेशराज कर्णिकार विरुद्ध विपक्षीः श्री मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § कानूनको निर्धारित प्रक्रिया भित्र रही कुनै संस्थागत नीति कार्यान्वयन गराउने उद्देश्यले विवेकसम्मत आधारमा सबैलाई समान रुपमा लागू हुने गरी असल नियतले कुनै काम कारवाही र निर्णय गरिन्छ भने त्यसलाई कानूनसम्मत र तर्कसंगत मान्नुपर्ने । (प्रकरण नं. १०) § राज्यले कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नका लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन भन्ने समेत धारा १२(२)(ङ)(५) मा ब्यबस्था गरी पेशा र रोजगारको स्वतन्त्रतालाई ब्यबस्थित र नियमन गर्न सक्ने समेत संवैधानिक व्यवस्था रहेको देखिएकोले कर्मचारी संचयकोष नियमावली, २०४८ मा पाँचौं संशोधन गरी सेवाका शर्तमा फेरबदल गरेको अवस्थालाई संविधान विपरीत भएको भन्न नसकिने । (प्रकरण नं. १२) § संचयकोषको सेवामा रहंदाका अवस्थामा निवेदकले प्राप्त गर्ने तलव, भत्ता एवं अन्य सुविधाबाट केही सम्पत्ति आर्जन हुन सक्ने अवस्था रहेको भएपनि त्यो मात्र सम्पत्ति आर्जन, भोग, बेचविखन वा अन्य कारोवारको प्रमुख आधार होइन, यो एउटा अंश (Component) मात्र हो । यस्कै कारणले समग्र साम्पत्तिक हक (Holistic Proprietary right) मा आघात पुगेको मान्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फवाटः विद्वान अधिवक्तात्रय श्री राम कुमार श्रेष्ठ, श्री विनय स्थापित र श्री माधवकुमार वस्नेत विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक विद्वान बरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा एवं विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती र प्रकाश राउत अवलम्वि नजीरः आदेश न्या.अनूपराज शर्माः निवेदक आफू कर्मचारी संचयकोषको सेवामा २०५२।९।९ देखि दशौं तहमा प्रवेश गरी हालसम्म सोही पदमा कार्यरत रहेकोमा विपक्षी कर्मचारी संचयकोषको संचालक समितिले निवेदकले निवृत्तिभरण नपाउने गरी साविकको नियममा संशोधन गरी निवेदकको हकमा अनुचित बन्देज लगाएको भन्दै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानको धारा ११(१),१२(२)(ङ) तथा १७(१) संग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन) नियमावली, २०४८ को नियम ८ को उपनियम (१क) को खण्ड (क) लाई प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरिपाऊँ भनी यस अदालतमा निवेदन दायर गर्नु भई निम्नानुसारको जिकिर लिनु भएको छ :- १. निवेदक कोषको सेवामा प्रवेश गर्दा २० वर्ष सेवा पुगेपछि निवृत्तिभरण पाइने । नियम (८.५) र उमेरको हद ५८ वर्ष हुँदासम्म विपक्षी कोषमा सेवा गर्न पाइने (नियम ८.१) व्यवस्था थियो । यस बाहेक सेवाबाट अवकास दिन सक्ने कुनै पनि व्यवस्था सो नियमावलीमा थिए