निर्णय नं. ७६४१ - उत्प्रेषण मिश्रित परमा‍देश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६४१ - उत्प्रेषण मिश्रित परमा‍देश भाग: ४८ साल: २०६३ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/१२/१४ ५५९२ निर्णय नं.७६४१ ने.का.प.२०६३ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्बत् २०६० सालको रिट नं.–३५०० आदेश मितिः २०६२।१२।१४।२ बिषय :– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः जिल्ला प्यूठान खाल गा.वि.स. वडा नं. २ स्थित स्वर्गद्वारी आश्रमको आश्रमप्रभु श्री १०८ स्वामी नित्यानन्द गिरीको मुद्दा सकार गर्ने आश्रमप्रभु स्वामी भागवतानन्द गिरी बिरुद्ध विपक्षीः गुठी संस्थान केन्द्रीय कार्यालय समेत § स्वर्गद्वारी आश्रमको नाममा २०३० सालभन्दा पहिले कुनै जग्गा दर्ता भएको नदेखिएको अवस्थामा महाप्रभुको झोलीको रकमवाट महाप्रभुका चेला तथा भक्तहरुको नाममा खरीद भई भूमि प्रशासन कार्यालयको मिति २०३०।८।२९ को निर्णयले स्वर्गद्वारी आश्रमको नाममा नामसारी दर्ता भएको जग्गालाई २००४ सालको सनद र २००६ सालको लगतबाट राजगुठी देखिएको भनेर अनुमान गर्न नसकिने । (प्रकरण नं.२२) § गुठी संस्थान ऐन, २०३३ को दफा २८ बमोजिम गुठी संस्थान अधिनस्थ जग्गाको कूत गुठी संस्थानमा तिर्नुपर्ने देखिन्छ, तर स्वर्गद्वारी आश्रमको नाममा दर्ता रहेको जग्गाहरुको कूत ती जग्गाहरुको मोहीले गुठी संस्थानलाई बुझाएको अवस्था नदेखिदा स्वर्गद्वारी आश्रमको नाममा दर्ता रहेका जग्गाहरु गुठी संस्थानको अधिनस्थ रहे भएको मान्न नमिल्ने । (प्रकरण नं.२३) § स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएका जग्गाहरु राज्यको तर्फबाट श्री ५ त्रिभुवन वीरविक्रम शाहदेव सरकारले राखेको वा गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुँदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भएको वा गुठी संस्थान स्वयंले वन्दोवस्त र संचालन गरी आएको देखिन नआएकोले स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएको जग्गाहरु राजगुठी रहेछ भन्न नमिल्ने । (प्रकरण नं.२४) § १९९६ साल माघ सुदी रोज २ को ताम्रपत्रको आधारमा महाप्रभुको चेला प्रचेलाबाट संचालन र व्यवस्थापन भै आएको स्वर्गद्वारी आश्रम गुठी संस्थानबाट वन्दोवस्त र संचालन भई आएको राजगुठी नभई बालतपस्वी महाप्रभुले आफ्नै प्रयासमा अखण्ड महायज्ञ स्थापना गरेर महाप्रभुको झोलीको रकमबाट खरीद भएको हाल आश्रमको नाममा दर्ता रहेका जग्गाहरुको आयस्ताबाट सो महायज्ञ लगायत विभिन्न धार्मिक अनुष्ठानहरु संचालन गर्दै आएको स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएका जग्गाहरु निजी गुठी भई बालतपस्वी महाप्रभुवाट थालनी भएको अखण्डधुनी महायज्ञ खण्डित हुन नदिन श्री ५ को सरकार र गुठी संस्थानद्वारा वेलावेलामा संरक्षण प्राप्त विशेष प्रकृतिको निजी गुठी देखिन आउने । (प्रकरण नं.३३) § गुठी संस्थान ऐन, २०३३ को दफा १६ को उपदफा (२) को आधारमा बिशेष प्रकृतिको निजी गुठी देखिएको स्वर्गद्वारी आश्रमको संचालन र बन्दोवस्तको लागि गुठी संस्थानले समिति गठन गर्न सक्ने अवस्था नहुने । (प्रकरण नं.३४) § स्वर्गद्वारी आश्रमलाई राजगुठी कायम गरी आश्रम संचालनको लागि समिति गठन गर्ने गरी गुठी संस्थानबाट भएको निर्णयको साथै स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता रहेको जग्गालाई राजगुठी कायम गर्ने सम्बन्धमा गुठी संस्थानबाट भएका निर्णयहरु र सो सम्बन्धमा भएका अन्य निर्णयहरु साथै ती निर्णयहरुको आधारमा भएका पत्राचारहरु समेत कानूनी रुपमा त्रुटिपूर्ण रहेको देखिएकोले उल्लेखित निर्णय तथा कामकारवाहीहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने।