निर्णय नं. ३३८१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८१ - ज्यान भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४४/१२/१८ २४०७ निर्णय नं. ३३८१ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु.ई.नम्बर १६ फैसला भएको मिति : २०४४।१२।१८।५ मा निवेदक/प्रतिवादी : पर्सा जिल्ला (सवैठवा) गा.पं.वडा नं. ९ बस्ने राजेन्द्र राय नेटुवा विरुद्ध विपक्ष/वादी : श्री ५ को सरकार (बिपती लोहरनीको जाहेरीले) मुद्दाः ज्यान (१) सरजमीनमा लेखाई दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने । (प्रकरण नं. २७) (२) जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने । (प्रकरण नं. २७) (३) मुद्दा दोहर्याई निर्णय गरिदिनु भन्ने हुकूम प्रमाड्डी वक्स भई आएपछि प्रतिवादीलाई दिन ७ को म्याद जारी गरेकोमा सो म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी फरार रहेको स्थितिमा अब जिरह गर्ने भन्ने कुरा निरर्र्थक हुन जाने । (प्रकरण नं. २७) निवेदकतर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर ज.ब.रा. विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी. फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा फुल बेञ्बाट इन्साफ जाँच गरिपाउँ भनी राजेन्द्र राय नेटुवाको हकमा आमा मलमदारी नेटुवानीले चढाएको विन्ति–पत्रमा फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु प्रमाङ्गीको जनाउ विन्ति–पत्रवालालाई दिनु भन्ने श्री ५ महाराजााधिराज बाट हुकूम वक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४२।८।४।३ मा तोक लागी आई लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०३२।११।८ गतेका दिन मेरो पति जगदीश ठाकुर लोहार वैल खरीद गर्न रुपैयाँ सापटी लिन भनी मेरो माइत सवैठवा वडा नं. ४ बस्ने ओमा ठाकुरको घर जानु भएपछि म पनि पतिको भिनाजु सतवरिया पोखरीया बस्ने लगन ठाकुरको घरमा विवाह परेकोले गएँ । मिति २०३२।११।९ गतेको विहान ७ बजेको समयमा धोविया टोल बस्ने ठाकुर महतो तत्मा पोखरीयामा भएको ठाउँमा आई तिम्रो पति जगदीश ठाकुरलाई शुक्रवारको राती ८ बजे ससुरालीबाट फर्कदा मोटर नेटुवा समेतले मरणासन्न हुने गरी कुटपीट गरी रुपैयाँ लुटी लगेछन भनी खबर दिएपछि आफ्नो घर सोही दिन १० बजे पुग्दा पति जगदीश ठाकुरको विपक्षीहरूको कुटाईको पीरले विहान ८ बजे नै मृत्यु भइसकेको रहेछ । मृत्यु के कस्तो वारदातमा कसरी भयो भनी पत्ता लगाउँदा पति २०३२।११।८ गते शुक्रवारको दिन ससुराली शोभा ठाकुरको घरमा रुपैयाँ लिन जाँदा बाटोमा मोटर नेटुवाको घर नजिक पुग्दा मोटरले कहाँ जान लागेको भनी सोध्दा पतिले रुपैयाँको आवश्यक परी शोभा ठाकुर कहाँ जाँदैछु रुपैयाँ दिन बोलाएका छन भनी जवाफ दिएपछि त्यहाँबाट शोभा ठाकुरको घरमा पुग्नु भएछ र खानपिन गरी निजसंग रु.७१५।– लिई सोही रात ८ बजे साँझतिर घर फर्किन लाग्दा बाटोमा पर्ने विपक्षी मोटर नेटुवाको घर नजिक आइपुग्दा मोटर राय नेटुवा, वैजनाथ राय नेटुवा, राजेन्द्र नेटुवा, हिरालाल राय नेटुवा, मुवाली राय नेटुवा, लालबाबु राय नेटुवा, मोहरीया नेटुवा, ललन राय नेटुवा, भुकुटराय नेटुवा, लठ्ठी लिई बसेका रहेछन् । मेरो पतिलाई देखि विपक्षीहरू एकहुल भई घेरी मोटर नेटुवाले तिमीसंग भएको सबै रुपैयाँ देउ भनी भन्दा पतिले विरोध