निर्णय नं. ३३८६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३८६ - लेनदेन भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४४/१२/२५ २७२७ निर्णय नं. ३३८६ ने.का.प. २०४५ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे. पु. इ.नं. ९२ फैसला भएको मिति : २०४४।१२।२५।५ मा निवेदक/वादी : राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा विरुद्ध विपक्षी/प्रतिवादी : जनकपुर नगरपञ्चायत वडा नं. बस्ने झावरमल गोयन्का मुद्दा : लेनदेन (१) बैङ्कले आफूले लगानी गरेको कर्जामा सुरक्षण राखेको सम्पत्ति लिलाम गर्दा पनि असूल हुन नसकेकोमा नालिश गरी असूल गर्न पाउने । (प्रकरण नं १३) (२) राष्ट्रिय वाणिज्य बैंक (अख्तियारी सुम्पने) नियमहरू, ०२२ को नियम ५ बमोजिम महाप्रबन्धकले आफूलाई भएको अधिकार नियम ६ बमोजिम आफू भन्दा मुनिका कर्मचारीलाई सुम्पन पाउने । (प्रकरण नं. १३) (३) कर्जा भुक्तान गरेको प्रमाण पेश नभएसम्म लिएको कर्जाको साँवा व्याज बुझाउनु पर्ने । (प्रकरण नं. १४) निवेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूणामणी राज सिंह मल्ल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या. हिरण्येश्वरमान प्रधान : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४०।२।३ को निर्णय दोहराई पाउँ भनी न्यायिक समिति मार्फत वादी राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखाकोतर्फबाट परेको बिन्तिपत्रमा मौसूफ सरकारबाट नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु भनी हुकूमको प्रमाङ्गी बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : २. जनकपुर नगरपञ्चायत वडा नं. २ स्थित वेनी माधोको घरमा राखिएको रु.३३०००।– मूल्यका ३७ थान सुटिङका कपडाहरू सुरक्षण बापत राखी ०२८।९।२८ गते लिखत गराई उल्लिखित शर्त पालन गर्ने गरी रु.२३००१।– कर्जा दिएकोमा विपक्षीले भाषामा साँवा व्याज समेत नबुझाई शर्तको उल्लंघन गरेको हुँदा वा.वै. ऐन, २०३१ को दफा ४७ खण्ड (ङ) को अधीनमा रही सुरक्षण बापत राखेको कपडा ०३४।४।५ मा लिलाम गर्दा रु.४८००।– प्राप्त भएको उक्त रकम र निजले दाखिल गरेको साँवा मध्येकै रकम कट्टा गर्दा आजसम्म बाँकी रहेको रु.४६३७।९५ र शुरु देखिकै व्याज राष्ट्रिय बैंकले निर्धारित गरे बमोजिम हुन आउने रु.११,२०९।९४ समेत गरी जम्मा रु.१५,८४७।८९ विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखा धनुषाका मैनेजर वेदमान मल्लको फिरादपत्र । ३. मेरो ३७ थान कपडा रु.२३,१००।– को लागि सुरक्षणमा राखिएको सो सामानहरू २३,१००।– मा पनि निश्चित रुपले कम्तीमा २५ प्रतिशत थप मूल्यको थियो । त्यस्तो सामान ४८००।– मा लिलाम भएको भन्ने भनाई परेको हो । कानून बमोजिम लिलाम गर्नु अघि प्राकृतिक न्याय सिद्धान्त अनुरुप मलाई सूचना दिनु पर्ने त्यस्तो गरिएन । ०३३।५।१४ मा मलाई प्रेषित गरेको पत्रमा सावाँ रु.९२५०।– देखाइएको छ । फिरादमा लिलामबाट आएको रु.४८००।– कट्टा गर्दा बाँकी हुनआएको रकम रु.४६३७।९५ देखाएको गलत छ । दावी प्रष्ट एवं तथ्यमा आधारित छैन भन्ने समेत झावरमल गोयन्काको प्रतिउत्तरपत्र । ४. वादी दावी बमोजिम धितो राखेको कपडा ३७ थान मध्ये १६ थान लिलाम भएको कागज देखिन्छ बाँकी २१ थान कपडा लिलाम भएको कागज कर्जासम्बन्धी फायलमा नरहेको फायलमा हेर्दा शिवचन्द्रको गोदाममा धितो राखेको कागज देखिन्छ, बेनिमाधोको गोदाममा राखेको भनेको फिराद दावी बमोजिम का