निर्णय नं. ३४०२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४०२ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/१९ २५६९ निर्णय नं. ३४०२ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ४७७ सम्वत् २०४३ सालको फौ.सा.नं. १३४ फैसला भएको मिति : २०४५।२।१९।४ मा पुनरावेदक/वादी : प्र.ह. बलबहादुर श्रेष्ठको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : सुनसरी वराहक्षेत्र गा.पं. वा.नं.२ बस्ने शिवकुमारी राईसमेत मुद्दा : कर्तव्य ज्यान (१) मृतकलाई आफ्ना कोठामा लगी जबरजस्ती करणी गरी सोही जबरजस्ती करणीको आघातले गर्दा निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम कसूरदार ठहर्‍याएको इन्साफ मिलेको देखिने । प्रतिवादीहरूको उमेर हेर्दा १६ वर्षका देखिएका मृतकलाई रिसइवी वा अन्य कुनै कारणले ज्यानै मार्नेसम्मको मनसायले ज्यान मारेको भन्ने मिसिलबाट नदेखिई मृतकले मुखबाट फिज काडेपछि तत्कालै उपचार गराउन चिकित्सक बोलाउन र अस्पताल लाने कार्य गरेको समेत मिसिलबाट देखिन आएबाट जबरजस्ती करणी गर्दा ज्यान मर्न गएको ज्यान मार्ने मनसाय नभएको देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम जनही ५।५ वर्षका दरले कैद गर्ने गरेको राय मनासिव ठहर्‍याएको राय मिलेकै देखिने । (प्रकरण नं. २७) पुनरावेदक वादीतर्फबाट : विद्वान का.मु.सह–न्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं व्यहोरा संक्षेपमा यसप्रकार रहेछ : २. ०३९।८।७।५ को बेलुकी धरान न.पं. वार्ड नं. ६ देसीलाईन कान्छा लामा भनेको रविनकुमार लामाको डेरा घरमा बराह क्षेत्र गा.पं. वार्ड नं. २ बस्ने सुश्री शिवकुमारी राई र मर्ने अं. वर्ष १५ की सुश्री शान्ता राई वास बसेको रात अं. ११.३० बजे शान्ताको मुखबाट फिंज आई बमौट गरी योनीबाट खुन निस्की बिमारी भई तत्कालै मृत्यु भएको । शान्तालाई धरान ६ बस्ने सुभाष राई, रविन कुमार लामा, शिवकुमारी राई समेत भई धरान न.पं. वडा नं. अस्पताल पुर्‍याई लाश मुर्दा घरमा राखेको बुझिएकोले उक्त लेखिएको व्यक्तिहरूलाई समेत पक्राउ गरी ल्याएको छ भन्ने प्र.ह.बलबहादुर श्रेष्ठको ०३९।८।६।१ को प्रतिवेदन । ३. धरान अस्पतालको मुर्दा राख्ने घर पश्चिम ढोका वरिपरि झ्याल भएको ढोका भित्र फलामको स्ट्रेचर माथि पश्चिम शिर पूर्व गोडा उत्तानो पारेको दुवै खुट्टा सलक्क पसारेको । दाहिने हात शरीरमा सटाई सलक्क पसारेको अर्धमुठी पारेको बाँया हात कम्मर माथि घोप्टो अर्धमुखी पारी राखेको खुट्टामा सेतो नाईलनको मोजा खाकी रंगको जामा, कालो पहँेलो धर्का भएको नाईलनको गंजी लगाएको, दुबै आँखा चिम्लिएको, कपाल केही कैलो जस्तो अगाडि घाँटीको रुद्रघण्टी वरिपरि निलो दाग जस्तो देखिएको मुख र नाकबाट फिंज आई रहेको, रुवा राखेको देखिएको, लगाएको कपडा खोली उल्टाई हेर्दा शरीरमा निल घाउ चोट केही नभएको अण्डरपेण्ट खोली हेर्दा योनीको मुखमा सेतो पुरानो गंजीको टुक्रालाई निलो बुट्टे प्लास्टीकको टुक्रामा पोको पारी बुजो (बन्द) गरिदिएको सो रगत र पानीले भिजेको, योनीबाट खुन समेत आइरहेको, मलद्वाराबाट केही ननिस्किएको, योनी र तिघ्राको काममा बाँयापट्टि १ इन्च लामो आधा इन्च गोलाई छाला पिल्सीएर रगत पानी आएको दाहिनेपट्टि, योनी र तिघ्राको कापमा पाँच पैसे जत्रो गोलाईको छाला पिल्सी रगत र पानी आई रहेको, गहुँगोरो अनुहार भएको वर्ष १५ को शान्ता राईक