निर्णय नं. ३४०७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४०७ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/१७ ३०४९ निर्णय नं. ३४०७ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ५०१ फैसला भएको मिति : २०४५।२।१७।२ मा पुनरावेदक/प्रतिवादी : सुर्खेत गोगने गा.पं. वार्ड नं. ९ मलमी गाउँ बस्ने हाल कारागार शाखा सुर्खेतमा थुनामा रहेकी गौरी पुनः मगर्नी विरुद्ध विपक्षी/वादी : कुलबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) मानसिक सन्तुलन ठीक रहेको अवस्थामा गरेको अपराधिक कार्यको लागि दण्ड सजायँको १ नं. आकर्षित नहुने । तत्काल रीस उठी सोही रिसको कारणबाट नजिकै रहेको बञ्चरोको पासोले हानी मृत्यु भएको र अघिदेखिको ज्यान मार्नु पर्ने सम्मको इवी तथा मनसाय रहे भएको नदेखिँदा ज्यानसम्बन्धीको १३(१) नं. नलागी ज्या.सं. को १४ नं. बमोजिमको कसूर गरेको देखिने । (प्रकरण नं. १३) फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मिति २०४३।१२।१२ को मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार छ : २. मिति २०४०।९।२० गतेका दिन विहान खाना खाई घरको परिवार आ–आफ्नो काममा गयौं । घरमा मेरो आमा र श्रीमती थिए र दिउँसो ३ बजे घरमा आगो लागि रहेकोले गाउँका मानिस समेत भई निभायौ आमा र गौरीलाई नदेखेकोले खोज्दा आमाको लाश खोलामा फेला परेको र श्रीमती गाउँकै कूलबहादुरको गोठमा ०४०।९।२२ गते फेला पारी सोधपुछ गर्दा सासू मनसरीलाई मारी घरमा समेत मैले नै आगो लगाएको हुँ भनी भनेकी र निजको २०४० साल कात्र्तिक देखि दिमाग बदलिने होस ठेगाना नभएको अवस्थामा हो वा कुन अवस्थामा हो श्रीमती गौरीले आमालाई मारी फालेको र घरमा समेत आगो लगाएकोले कानून बमोजिम सजायँ गरिपाउँ भन्ने कूलबहादुरको जाहेरी दर्खास्त । ३. २०४० सालको दशैं तिहार देखि नै मलाई कहिले टाउको दुख्ने, कहिले हातखुट्टा बेहोस हुने कहिले बेहोस हुने, स्थिति ठिक थिएन । मैले सासूलाई मेरो हात खुट्टा झम झमाउँछ टाउको दुख्न खान मन लाग्दैन भन्दा तँलाई लाग्ने म नै हुँ भनी सासूले मलाई भनेकाले रीस थाम्न नसकी नजिकै रहेको बञ्चरोको पासोले सासू मनसारीको टाउकोमा हानी, निज मुर्छा परेपछि मरेको ठानी खोलामा पल्टाई दिएँ । रिसको आवेशमा हुँदा घरमा आगो लगाई दिएको हुँ भन्ने समेत गौरी पुनले प्रहरीमा गरेको बयान कागज । ४. बुझिए सम्मको संकलित हुनआएको सबूद प्रमाणबाट मृतक मनसरीलाई गौरी पुन मगर्नीले कर्तव्य गरी मारेको सिद्ध हुनआएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन । ५. यही २०४० सालको दशैं देखि म विरामी थिएँ तर उपचार गरेकी थिइन । सासूलाई मार्ने दिन म छोरी समाती गुन्द्रि बुन्दै गरेकी सासूलाई मलाई लागेको रोगको विषय बताउँदा तेरो शरीरमा लाग्ने म हुँ भनेकाले मलाई रीस उठेकाले नजिकै रहेको बञ्चरोको पासोले टाउकोमा हाने र निज मरेको सम्झी खोलामा फालेकी हुँ । आगाको अगुल्टो छानामा घुसारेकी हुँ । त्यसपछि म कता हिंडे मलाई केही थाहा भएन भन्ने समेत गौरी पुन मगर्नीले अदालतमा गरेको बयान । ६. गौरीलाई जाहेरवालाको घरमा लिएर सोध पुछ गर्दा सासूलाई बञ्चरोले हानी मारी घरमा आगो लगाउने म हुँ भनेकाले मनसरीलाई गौरीले मारेकी हुनुपर्छ भन्ने सरजमीन समेत मानिस सेरबहादुर गुरुङ्ग समेतले अदालतमा गरेको बकपत्र । ७. घरमा मेरी आमा र प्रतिवादी गौरी थिए ।