निर्णय नं. ३४१२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४१२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: असार अंक: ३ फैसला मिति :२०४५/०२/१९ २५८६ निर्णय नं. ३४१२ ने.का.प. २०४५ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रि.नं. २३७८ फैसला भएको मिति : २०४५।२।१९।४ मा निवेदक : जिल्ला तनहुँ ढोरफिर्दी गा.पं. वडा नं. १ बस्ने स्याईमाया महत विरुद्ध विपक्षी : निर्वाचन अधिकृत जि.का.तनहुँसमेत विषय : उत्प्रेषण (१) निर्वाचनको कुरामा उजूरी सुन्ने वर्गीय संगठन निर्वाचन नियमावली, २०३७ को नियम ५९ मा छुट्टै व्यवस्था भएकोले रिट लाग्नै नसक्ने भन्ने मुख्य जिरह लिएकोमा नियममा भएको व्यवस्थाबाट हुनु पर्ने निर्वाचनको कार्य समाप्त भएकोमा चित्त नबुझ्ने उम्मेदवारले उजूर गर्ने व्यवस्था देखिएको तर निर्वाचनको कार्य नहुँदैको अवस्थाको उजूर गरी कानूनी उपचार लिने अरु उपयुक्त कुनै विकल्प नदेखिएकोले जिरह मनासिव नदेखिने । (प्रकरण नं. ९) (२) उम्मेदवारको दर्खास्तमा प्रस्तावकको वतन खुलाउन अनिवार्य नगरेको देखिन आएकोले कानूनले नै अनिवार्य नगरेको कुराको आधार लिएको कानूनसंगत भन्न नमिलेको हुँदा माग बमोजिम परमादेशको आदेश जारी गरिपाउने । (प्रकरण नं. ९) निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जितबहादुर कार्की आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको २०१९ धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. म ढोरफिर्दि गा.पं. महिला संगठनको प्रारम्भिक कार्य समितिको सदस्य भएको व्यक्ति हुँ । मैले जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवारीको लागि मिति २०४४।१।१५ मा तोकिएको म्यादभित्र निर्वाचन अधिकृत समक्ष दर्खास्त दिएको थिएँ । दर्खास्तमा प्रस्तावक कमलादेवी सिग्देल र लक्ष्मी महत, समर्थकमा रम्भा श्रेष्ठ र कृष्णकुमारी महत हुनुहुन्थ्यो । उम्मेदवारीको नामावली प्रकाशित हुँदा मेरो नाम प्रकाशित नभई विपक्षी मक्षिन्द्र श्रेष्ठ र पार्वती थापाको नाम मात्र प्रकाशित भयो । यस बारे जानकारी लिंदा तपाईको उम्मेदवारी दर्खास्तमा प्रस्तावको ठेगाना नभएकोले दर्खास्त रद्द गरिएको भनी जवाफ दिइयो । जसको लिखित जानकारी भने दिइएन । साथै त्यसको नक्कल पाउन निवेदन गर्दा नक्कल समेत दिइएन । मेरो प्रस्तावक र समर्थक प्रारम्भिक कार्य समितिका सदस्य हुन् भन्ने कुरा सदस्यताको रसिदबाट अवगत भएकै छ । २०४४।१।१५ मा मैले दिएको दर्खास्त निर्वाचन अधिकृतले बुझी लिएको कुरा दर्खास्तको दर्ता भर्पाईबाट जाहेर हुने नै छ । म निवेदिका वर्गीय संगठन ऐन, २०३६ को दफा ५ र वर्गीय संगठन नियमावली, २०३७ को नियम ४६ अनुसार योग्यता पुगेको व्यक्ति हुँ यस्तो अवस्थामा केवल प्रस्तावकको ठेगाना नभएको आधारमा निर्वाचन अधिकृतले उम्मेदवारीको नामावलीबाट मेरो नाम हटाउन मिल्ने होइन । पञ्चायतका वर्गीय संगठनका प्रारम्भ तथा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचन सम्बन्धी निर्देशिका, २०४३ को अनुसूची (७) मा प्रस्तावकको पुरा नाम थर मात्र उल्लेख भएको छ ठेगाना उल्लेख छैन । यस अवस्थामा कानून प्रतिकूलको अतोथापि मेरो नाउँ प्रकाशित नगराउनु कानूनी त्रुटिपूर्ण छ । म निवेदिका निर्देशिकाको दफा ५ बमोजिमको उम्मेदवार हुँ दफा ६ अनुसारको उम्मेदवार नै हुन नपाउने व्यक्ति होइन निर्देशिकाको दफा (७) मा उल्लेख भए अनुसार अनुसूची (७) बमोजिमको ढाँचामा दर्खास्त दिएको छु । नि