निर्णय नं. ८२३९ - परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२३९ - परमादेश समेत । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०७/०४ ५९३८ निर्णय नं. ८२३९ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६२ सालको रिट नं. २९५९ आदेश मितिः २०६६।७।४।४ विषयः—परमादेश समेत । रिट/निवेदकः जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) र आफ्नो हकमा समेत अधिवक्ता राजुप्रसाद चापागाई समेत विरुद्ध विपक्षीः नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय समेत § मौलिक हकको रुपमा स्थापित जीवनको अधिकार र स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई टेवा पुर्याउने हिसाबले राज्यका नीतिमा समेत समेटिएको विषयमा राज्यका कार्यक्रम मुखरित हुनु वाञ्छनीय मात्र नभै अनिवार्य नै हुने । (प्रकरण नं.२९) § विषादीको असरबाट स्थानीय जनसमुदाय र पर्यावरणमा परेको र पर्नसक्ने क्षतिको पूर्ति गर्ने पर्याप्त आर्थिक र प्राविधिक स्रोत साधनसहितको अधिकार सम्पन्न संयन्त्र खडा गरी कार्य गर्नुपर्ने । (प्रकरण नं.४१) § सम्पूर्ण प्राणी, वनस्पति र पर्यावरणलाई नै नास गर्ने प्रकृतिका विषादी उत्पादन गर्ने र त्यसको अनिच्छित दायित्व गरीब र अविकसित मुलुकलाई बोकाउने अन्तर्राष्ट्रिय शक्ति केन्द्र र आर्थिक केन्द्रहरूको यस्तो रवैया निन्दनीय र खेदपूर्ण छ । आफूले गरेको यो जघन्य गल्तीको जिम्मेवारी बहन गर्न अन्तर्राष्ट्रिय समुदाय अग्रसर भएर आउनु पर्ने । § अन्तर्राष्ट्रिय समुदायले सहयोगको लागि हात बढाएको अवस्थामा नेपाल सरकारले पनि तदारुकता साथ सो प्रक्रियामा साथ दिई मानव समुदायको हित र पर्यावरण संरक्षणको दृष्टिले खतरनाक सावित भएका त्यस्ता विषादीको सुरक्षित व्यवस्थापनमा लाग्नुपर्ने । (प्रकरण नं.४४) § व्यक्तिको बाँच्न पाउने नैसर्गिक हकको प्रत्याभूति गरेको र स्वच्छ वातावरणमा बाँच्न पाउने व्यक्तिको हकलाई पनि मौलिक हककै रुपमा स्वीकार गरिएको हुँदा त्यस्तो अधिकारको सम्मान गर्ने, पालना गर्ने र परिपूर्ति गर्ने राज्यको दायित्व रहेकाले अन्तर्राष्ट्रिय समुदाय वा बाह्य राष्ट्रले सिर्जना गरेको परिस्थितिको लागि महासन्धिबमोजिमको दायित्व वहन गर्न राजनीतिक एवं कुटनीतिक जो चाहिने सबै माध्यमहरू प्रयोग गर्नुपर्ने । (प्रकरण नं.४५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाशमणि शर्मा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(१), धारा १६(१) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १६ § जीवनाशक विषादी ऐन, २०४८ दफा २, ५, ७ § वातावरण संरक्षण ऐन, २०५३ को दफा ३, ४, ५, ७ § वातावरण संरक्षण नियमावली, २०५४ को अनुसूची १ देखि १० आदेश न्या. कल्याण श्रेष्ठः बारा जिल्लाको अमलेखगञ्ज लगायत देशका विभिन्न भागमा असुरक्षित तवरले वर्षौदेखि थुपारेर राखिएको ७५ टन अत्यन्त हानिकारक म्याद नाघेको विषादीको वातावरणमैत्री तरिकाले यथाशीघ्र विर्सन र व्यवस्थापन गरी स्थानीय जनसमुदायको भयरहित, सुरक्षित एवं स्वस्थ्य वातावरणमा बाँच्न पाउने नैसर्गिक मौलिक हकको यथोचित संरक्षण समेतको माग गरी तत्काल बहाल रहेको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- बारा जिल्लाको अमलेखगञ्ज लगायत देशका विभिन्न ठाउँमा थुपारेर राखिएको विषादीबाट श्रृजित समस्या गहन सार्वजनिक सरोकारको विषय भएको निर्विवा