निर्णय नं. ८२५० - अंश नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५० - अंश नामसारी । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०८/०२ ५८०१ निर्णय नं. ८२५० माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६० सालको दे.पु.नं. –– ८६६८ फैसला मिति : २०६६।८।२।६ मुद्दाः अंश नामसारी । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही, गा.वि.स. सूर्यपुरा वार्ड नं. ९ बस्ने अक्षेवर अहिरको मु.स गर्ने बुद्धु अहिर समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, गा.वि.स. सूर्यपुरा वार्ड नं. ९ भनी फिरादमा लेखेपनि ऐ. गा.वि.स. करौता वार्ड नं. ८ बस्ने कुल्लुर अहिर भन्ने जंगबहादुर अहिर पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रकुमार भण्डारी मा.न्या.श्री धिरेन्द्रबहादुर विष्ट § प्रमाणहरूको सृंखलामा एउटा प्रमाण डी.एन.ए.परीक्षण पनि हुन सक्छ । तर अन्य प्रमाणहरूकै आधारमा पितृत्वको विषय यकीन गर्न सकिन्छ भने यो परीक्षण गराउन पर्ने बाध्यता अदालतलाई नहुन पनि सक्ने । § पक्षले माग गर्दैमा डी.एन.ए.परीक्षण गराउने आदेश दिन अदालत बाध्य हुँदैन । यो परीक्षण माग गर्ने पक्षको भनाई प्रतिकूल राय आयो भने पनि उसले दण्ड जरीवाना समेतका कुनै दायित्व व्यहोर्न नपर्ने हुनाले नाता होइन भन्ने पक्षले मनोविनोद गर्न वा कसैप्रतिको इवी साध्न वा महिलाको मानमर्दन गर्न वा सामाजिक तथा पारिवारिक संरचना खलबल्याउनका लागि डी.एन.ए.परीक्षण गर्ने आदेश सहायक नहोस् भन्ने कुरामा अदालत सधै सर्तक रहनु पर्ने । (प्रकरण नं.५) § विशेषज्ञको रायको महत्व राख्ने डी.एन.ए. परीक्षण प्रतिवेदनले निश्चयात्मक सबूद (Conclusive Proof) को स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्तछ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पुर्याउने एउटा माध्यम मात्र हो । अन्य प्रत्यक्ष तथा विश्वास गर्न लायक प्रमाणहरूको सृंखलाले डी.एन.ए.परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्दछन् भने न्यायकर्ताले यी प्रमाणहरूको सृंखलाका आधारमा उपयुक्त अवधारणा बनाउन सक्ने । (प्रकरण नं.६) § संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डी.एन.ए.परीक्षण प्रतिवेदन शत प्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्तछ । परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले सो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु पनि उचित नहुने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद पाण्डे अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या. राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत बुटवलको मिति २०५९।१२।३ गतेको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– बाजे रामहरषका ३ छोरामध्ये जेठा अक्षेवर, माहिला मेरो बुवा मुसे र कान्छा आध्याप्रसाद हुन् । मुसेको छोरा म फिरादीलाई बुवाहरू समेत भै खान लाउन नदिई घरमा समेत बस्न दिन्न भनेकोले अंश दिनुहोस् भन्दा अंश समेत दिन्न भनी घरबाट निकाला समेत गरिदिएकोले फिराद परेको अघिल्लो दिनसम्मको अंशको तायदाती फाँटवारी दिई ३ भाग गरी १ भाग मुसेको परसारी बाँकी १ भाग अंश मलाई दिलाई भराई पाऊँ भन्ने व्यहोराको जंगबहादुर अहिरले रुपन्देही जिल्ला अदालतमा मिति २०५६।४।२५ मा पेश गरेको फिराद पत्र । म मुसेको कुनै छोरा नहुँदा सो बाहेक वादीले