निर्णय नं. ७६६३ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६६३ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०२/२४ ४४४४ निर्णय नं.७६६३ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त ईजलाश माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६० सालको फौ.पु.नं. ३५९७ फैसला मितिः २०६३।२।२४।४ मुद्दा :– कर्तव्यज्यान । पुनरावेदक प्रतिवादीः वांके जिल्ला, इन्द्रपुर गा.वि.स. वडा नं. ३ घर भई हालथुनामा रहेकी वित्ति भन्ने कलावती यादव विरुद्ध प्रत्यर्थी वादीः वरसाती कहारको जाहेरीले श्री ५ को सरकार § यस्तो व्यक्तिको रोहवरमा यस्तो अधिकारी समक्ष व्यक्त गरेको कुरा प्रमाणमा लिन हुने भनेको अवस्था नभएपछि मरेको व्यक्तिले होस छंदै व्यक्त गरेको हो, हैन ? सो तथ्य पर्याप्त प्रमाणवाट पुष्टि हुन्छ, हुंदैन ? सो कुरा महत्वपूर्ण हुन आउने । § अस्पतालमा डाक्टर वा नर्स समक्ष व्यक्त गरेको कुरा मात्र प्रमाणमा लिन हुने भन्ने स्पष्ट कानूनको अभावमा डक्टर वा नर्स समक्ष भएको मृत्युकालिन घोषणालाई मात्र प्रमाणमा लिन मिल्ने भन्ने विद्वान अधिवक्ताको वहस जिकिर कानून सम्मत नदेखिने । § मृतकले अस्पतालमा आफ्नो होस खुले पछि दिएको वयान (मृत्युकालिन घोषणा) को रोहवरमा वस्ने मृतकका दाजुले अदालतमा उपस्थित भै मृत्युकालिन घोषणाको तथ्यलाई समर्थित हुने गरी वकपत्र गरेको र निजको वकपत्रलाई शंका गरी रहनु पर्ने अवस्था विद्यमान नहुंदा मृतकले आफ्नो होस छंदै आफ्नो मृत्युको कारण सम्वन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.३४) § विद्वान अधिवक्ताले जिकिर लिनु भएवमोजिम मृत्युकालिन घोषणा (Dying Declaration) उपचार गर्ने डाक्टर, नर्स वा यस्तै अस्पतालका जिम्मेवार पदाधिकारीको रोहवरमा भएमा यस्ता विवाद कम हुने, मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्सलाई रोहवरमा राख्न कानूनले वाधा नगरेको सन्दर्भमा महान्यायाधीवक्ताले आफ्नो मातहतका कार्यालयलाई निर्देशन दिए मृत्युकालिन घोषणामा उपचार गर्ने डाक्टर, नर्स रोहवरमा राख्न सकिने अवस्था विद्यमान हुंदा सो तर्फ महान्यायाधिवक्ताको ध्यान आकर्षित गराउने । (प्रकरण नं.३६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधीवक्ता श्री विश्वराज कोईराला अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :- २. मिति २०५७।११।१४ गते म घरमा थिईन । आमाले वहिनीले वान्ता गरेकी छ भन्दा म र आमा घरमा पुग्दा वहिनी वेहोस अवस्थामा देखि तुरुन्त उपचारार्थ भेरी अन्चल अस्पतालमा ल्याई उपचार गराउंदा साँझ करिव ६.३० वजेको समयमा होस आउंदा वहिनीसंग सोध्दा मलाई मन्ता यादवको श्रीमतीले भेली (गुड) मा विष हाली खान दिएको थियो सोही कारणले यस्तो भएको हो भनी त्यहां उपस्थित व्यक्तिहरु र प्रहरी समेतको अगाडि भनेकी र उपचार हुंदा हुंदै मिति २०५७।११।१५ गते विहान ३.०० वजेको समयमा मृत्यु भएको हुंदा निज प्रतिवादी मन्ते यादवको श्रीमतीलाई पक्राउ गरी कानून वमोजिम सजाँय गरिपाऊँ भन्ने वरसाती कहारको मिति २०५८।११।१५ को जाहेरी दर्खास्त । ३. मिति २०५७।११।१४ गते अं. १७.०० वजेको समयमा मेरो घर देखि नजिकै सटेको मन्ते अहिरको स्वास्नी वित्ती अहिरले मलाई आफ्नो घरमा वोलाई कच्ची मिठाई (भेली) खान दिएकी थिईन । सो भेली खाई सकेपछि मलाई पेट पोल्ने, पानी प्यास