निर्णय नं. ८२५४ - सालको अवैध चिरान काठ ओसार पसार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५४ - सालको अवैध चिरान काठ ओसार पसार । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०६/२६ ४५७३ निर्णय नं. ८२५४ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६२ सालको स.फौ.पु.नं.– ३२७९ फैसला मितिः २०६६।६।२६।२ मुद्दा :– सालको अवैध चिरान काठ ओसार पसार । पुनरावेदक वादीः चन्देश्वर सदा समेतको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सुर्खेत गुटु ८ हाल उत्तरगंगा गा.बि.स.वडा नं.८ बस्ने ताराप्रसाद देवकोटा समेत शुरु फैसला गर्नेः– मा.जि.न्या. श्री गणेश पंजियार पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री रामकुमारप्रसाद शाह मा.न्या. श्री चोलेन्द्र शम्सेर ज.व.रा. § वन पैदावार ओसार–पसार गर्ने कसूरजन्य अपराधमा साधन प्रयोग हुनु नै कसूर हो । सवारी साधनको मालिकको मञ्जूरी होस् वा नहोस् त्यस्तो कार्यमा प्रयोग गरिएको कार्य नै कसूर स्थापित हुने तथ्य नै पर्याप्त हुने । (प्रकरण नं.४) § कुन कार्य कसूर हो त्यसको परिभाषा र निर्धारण विधायिकाले कानूनद्वारा गर्दछ । कसूर र अपराधका लागि सजाय र अपराधमा प्रयोग भएका बस्तु वा साधन जफत हुने वा नहुने सोको निर्धारण पनि विधायिकाले नै ऐनद्वारा गर्दछ । त्यस्ता कानूनमा जे लेखिएको छ सोहीबमोजिम अदालतले फौजदारी न्याय प्रदान गर्दा प्रचलित कानून लागू गर्दछ । ऐनमा नभएको सजाय गर्न पाइदैन भने ऐनले गर्नुपर्ने सजाय र कसूरमा प्रयोग भएको साधन जफत गर्नुपर्नेमा कानूनको गलत व्याख्या वा कानूनी प्रावधानप्रतिको उपेक्षाभावले जफत नगर्नु भनेको वन ऐन, २०४९ को दफा ६६ मा भएको जफतसम्बन्धी व्यवस्थाको प्रतिकूल हुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी÷प्रतिवादी तर्फबाटः सहन्याधिवक्ता श्री बलराम शर्मा अवलम्वित नजीरः सम्बद्ध कानूनः § वन ऐन, २०४९ को दफा ५०(१)(घ)(४), ६६ फैसला न्या.रणबहादुर बमः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- मिति २०५६।५।१२ गतेका दिन राति ३ बजे रत्न राजमार्गको हुड्के ढुंगाबाट बीरेन्द्रनगर तर्फ आइरहेको भे.अ.ख ३४६ नं.को ट्रक रोकी चेक जाँच गर्दा अवैध ढाँचा निसानाका काँचो चिरान साल काठ भेटिएकोले ट्रकका चालक घनश्याम कडेल र लोडरहरू कर्णबहादुर पुलामी, बलबहादुर पुलामी, भुवन सिंह पुलामी, मानबहादुर सिजाली, बीरमान पुलामी, टेकबहादुर पुलामी, ओमबहादुर पुलामी समेतका ८ जनालाई पक्राउ गरी वरामद भएको विभिन्न नाप साइजका चिरान काठ थान १२२ र उक्त ट्रक समेत आवश्यक कारवाहीका लागि पेश गरेको छु भन्ने समेत व्यहोराको जिल्ला वन कार्यालय, सुर्खेतका निमित्त जिल्ला वन अधिकृत चन्द्रेश्वर सदा समेतको प्रतिवेदन । वरामद भै आएको काठहरू तथा ट्रक जिम्मामा बुझी हवल्दार दलबहादुर डाँगीले गरी दिएको भरपाई । मिति २०५६।५।१२ गते राति ३ बजे गिरीघाटको राजमार्गको बाटो हुँदै बीरेन्द्र नगरपालिकातर्फ आउदै गरेको भे.अ.ख ३४६ नं.को ट्रक सुर्खेतका गस्ती कर्मचारीहरूले चेक जाँचगर्दा विना प्रमाणका कुनै पनि ढाँचा चिन्ह प्रयोग नभएका तपसीलमा उल्लिखित नाप साइजका साल जातको हरियो नयाँ चिरानी काठ थान १२२ लोड गरी ल्याएको हुँदा उक्त ट्रक सहित चालक तथा लोडरहरू जना ७ लाई पक्राउ गरी लगेको ठीक छ भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । मिति २०५६।५।१२ को घटनास्थल प्रकृति मुचुल्का ।