निर्णय नं. ८२१७ - उत्प्रेषण परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२१७ - उत्प्रेषण परमादेश । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०७/०४ १०२५२ निर्णय नं. ८२१७ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ रिट नं. २०६३ –WO– ०७५२ आदेश मितिः २०६६।७।४।४ विषयः– उत्प्रेषण परमादेश । रिट निवेदकः धुम्रपान नगर्नेहरूको नैसर्गिक अधिकार संघ नेपालका महासचिव श्री होमलाल श्रेष्ठ विरुद्ध विपक्षीः अन्तरिम व्यवस्थापिका संसद, सिंहदरवार समेत § जुन कुरा प्रत्यक्ष रुपमा गर्न पाइँदैन त्यो काम परोक्ष रुपमा पनि गर्न पाइँदैन । अर्थात् धुम्रपानको प्रकृति र परिणामको कारणले आपत्तिजनक ठानी यसको प्रचारप्रसार गर्ने क्रियालाई निरुत्साहित गर्ने कुरा कानून र नीतिको आवरणमा कुनै वैध प्रयोजन देखाएर त्यसको मार्फत् धुम्रपानकै विज्ञापन हुने प्रपञ्च रच्ने कार्यलाई स्वीकार गर्न नसकिने । (प्रकरण नं.१८) § धुम्रपानबाट निस्कने विषालु धुँवाले वातावरणलाई प्रदूषित पार्ने हुँदा धुम्रपान गर्नेहरूबाट नगर्नेहरूको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक उल्लंघन हुने अवस्था सिर्जना हुन पुग्दछ । संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएकोले आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति हुने कार्य पनि राज्यले निर्वाह गर्नु पर्दछ । यसको लागि राज्यले निरोधात्मक र नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्न सक्दछ । धुम्रपानजन्य पदार्थको उत्पादन, ओसारपसार लगायतका विषयहरूलाई नै रोकथाम वा प्रतिवन्धित गर्नेदेखि यस्ता उत्पादनको सार्वजनिक रुपमा प्रचारप्रसार र विज्ञापन तथा प्रायोजन गर्ने कार्य नियमन गर्नेसम्मका दायित्व राज्यकै हुने । (प्रकरण नं.२०) § सार्वजनिक स्वास्थ्य भनेको व्यक्तिको मौलिक हकको विषय हुनुको अतिरिक्त राज्यको दायित्वको पनि प्रश्न हो । जनस्वास्थ्यको सम्बन्ध व्यक्तिका जीवनलगायतका अनेकौं अन्य हकहरूको प्रचलनसँग पनि सम्बन्धित हक हुनाले धुम्रपानको समस्याले अन्य हकहरूमा पारेका प्रभावको रोहमा समेत राज्यले विचार गर्नुपर्ने । § कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको वा धुम्रपान प्रोत्साहित गर्ने वा त्यस्ता मालवस्तुको बिक्री वा प्रयोग बढाउने हिसावले कुनै पनि तरिका वा संकेतको प्रचारप्रसार गर्न दिन समेत मिल्ने नदेखिने । (प्रकरण नं.३७) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाशमणि शर्मा, श्री होमलाल श्रेष्ठ विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी एवं विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ताहरू श्री ओमप्रसाद थपलिया, अरुणकुमार ज्ञवाली अवलम्वित नजीरः संवत् २०६२ सालको रिट नं. ३८२२ सम्बद्ध कानूनः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(१) नेपाल सन्धि ऐन, २०४७ को दफा ९ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– म रिट निवेदक धुम्रपान नगर्नेहरूको नैसर्गिक अधिकार संघ नेपाल (Non-Smoker’s Right Association of Nepal) को महासचिव पदमा रही कार्य गरिरहेको छु । यस संघ धुम्रपानको धुँवा र धुम्रपान गर्नेहरूले फ्याँक्ने निष्क्रिय धुम्रपानको धुँवा र खारबाट गर्भवती महिला, शिशु बालबालिका, महिला, किशोरकिशोरी, युवा पुस्ता, कहिल्यै पनि धुम्रपान नगर्नेहरू र धुम्रपान त्यागेका प्रत्येक नागरिकहर