निर्णय नं. ८७८५ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७८५ - परमादेश भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/०३/१२ ६५२८ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६६ सालको रिट नं. ०५९८ आदेश मितिः २०६८।३।१२।१ विषय : परमादेश । निवेदकः कर्पोरेट सोसल कन्सोर्टियमका तर्फबाट अधिकारप्राप्त, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १७ बस्ने सञ्चालक सदस्य मेराज रोशन ठकुरी विरुद्ध विपक्षीः अर्थ मन्त्रालय समेत § मुनाफारहित कम्पनीको रुपमा स्थापना भई दर्ता भएको कम्पनीलाई आयकर ऐन, २०५८ को दफा २(ध)(१) तथा दफा १० को उद्देश्य तथा प्रयोजनको लागि मुनाफा आर्जन नगर्ने सामाजिक, परोपकारी तथा कल्याणकारी संस्थाकै रुपमा लिनुपर्ने । (प्रकरण नं.९) § संस्था दर्ता ऐन, २०३४ र कम्पनी ऐन, २०६३ को दफा ३(३) तथा दफा १६६ मा गरिएको कानूनी व्यवस्थाको उद्देश्य तथा प्रयोजन समेत समान रहेकाले कम्पनी ऐनको दफा ३(३) तथा दफा १६६ अनुसार मुनाफा नकमाउने कम्पनीको रुपमा दर्ता भएका कम्पनीले उक्त ऐनको दफा २(ध)(१) अनुसार कर छूट पाउने संस्थाको मान्यता वा प्रमाणपत्र नपाउने भन्ने निर्णय आफैंमा विभेदकारी भई संविधानको धारा १३ को विपरीत हुने । (प्रकरण नं.१०) निवेदक तर्फबाटः विद्वान अधिवक्ता भविश्वर गुरुङ्ग विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता कृष्णप्रसाद पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०५८ को दफा २(ध) § कम्पनी ऐन, २०६३ को दफा ३(३), ४, १६६(१) § संस्था दर्ता ऐन, २०३४ को दफा २(क) आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम दायर हुनआएको प्रस्तुत विषयको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– म निवेदक कर्पोरेट सोसल कन्सोर्टियम मुनाफा वितरण नगर्ने कम्पनी, कम्पनी ऐन, २०६३ को दफा १६६(क) बमोजिम सामाजिक परोपकारी तथा कल्याणकारीसम्बन्धी व्यवसाय कारोवार गर्न भनी मिति २०६५।०७।०५ गते दर्ता नं. १४५/०६५–०६६ मा दर्ता भई सो सम्बन्धी व्यवसाय गर्दै आएको छु । यसै सन्दर्भमा कम्पनी ऐनको दफा १६६(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पेशा वा व्यवसायको विकास तथा प्रवर्ध्दन गर्न वा कुनै खास पेशा वा व्यवसायमा लागेका व्यक्तिहरूको सामूहिक हक हितको संरक्षण गर्न वा कुनै शैक्षिक, प्राज्ञिक, सामाजिक परोपकारी वा सार्वजनिक उपयोगिता वा कल्याणकारी उद्देश्य प्राप्तिको लागि लाभांश बाँडी लिन नपाउने शर्तमा कुनै उद्यम गर्न कम्पनी संस्थापना गर्न सकिने व्यवस्था भएबमोजिम कर्पोरेट सोसल कन्सोर्टियम संस्था एच.आई.भी./एड्स जनस्वास्थ्यको क्षेत्रमा नेपालमा एच.आई.भी./एड्स र अन्य जनस्वास्थ्यका प्रमुख मुद्दा/सवालहरूमा प्रभावकारीता ल्याउन विभिन्न सरोकारवाला निकाय, सरकारी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र तथा एच.आई.भी. एड्स प्रभावित समुदायको बीच साझेदारी समन्वय तथा सहकार्यको भावना अभिवृद्धि गर्ने, व्यवसायको संस्थागत सामाजिक उत्तरदायित्वको एक अङ्गको रुपमा एच.आई.भी./एड्सबाट प्रभावित/संक्रमित समुदायका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग गर्ने, एच.आई.भी./एड्स र अन्य जनस्वास्थ्यका सवालमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने र परामर्श सेवा प्रदान गर्ने, एच.आई.भी./ एड्सबाट प्रभावित/संक्रमित समुदायका लागि जीविकोपार्जनमूलक तालिम तथा व्यावसायिक ज्ञान प्रदान गर्ने तथा निजहरूलाई रोजगारीको व्यवस्था मिलाउ