निर्णय नं. ८२२३ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२२३ - कर्तव्य ज्यान । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०२/०६ ३८२८ निर्णय नं. ८२२३ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६४ सालको फौ.सा.नं. ००१८ संवत् २०६४ सालको फौ.पु.नं. ००२७ फैसला मितिः २०६६।२।६।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स.वडा नं ४ वस्ने थमनबहादुर कार्कीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स. वडा नं ४ वस्ने जोककुमारी कार्की एवं पुनरावेदक प्रतिवादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स. वडा नं ४ घर भई हाल कारागार शाखा वाग्लुङमा थुनामा रहेकी जोककुमारी कार्की विरुद्ध प्रत्यर्थी वादीः वाग्लुङ जिल्ला नरेठाँटी गा.वि.स.वडा नं ४ वस्ने थमनबहादुर कार्कीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री भोलानाथ चौलागाई . पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ मा.न्या. श्री इश्वरप्रसाद खतिवडा § वञ्चरोले मान्छेको टाउकोमा प्रहार गर्दा मान्छे मर्न सक्छ भन्ने कुराको ज्ञान यी प्रतिवादीलाई थिएन भनी अनुमान गर्न सक्ने अवस्था नदेखिने । § रिसको झोकमा मरोस् भनेर नै दाउराले प्रतिकार गरिसके पछि पनि बञ्चरो ल्याई मृतकउपर प्रहार गरेको कुरा सहजै अनुमान गर्न सकिने । § नियत सफा थियो, मार्ने मनसाय थिएन, केवल प्रतिकार गर्दा दुर्घटना हुन पुगेको थियो भने वञ्चरोले प्रहार गर्दा भूँईमा ढलेपछि छिमेकीहरूसँग हार गुहार मागी जीवित छन् कि भनी उपचार गर्नतर्फ लाग्नु पर्ने, दुर्घटनाको कारण समाजमा उजागर गर्नुपर्ने र आफैले प्रहरीलाई खवर गर्नुपर्नेमा वारदातको १० दिनपछि दवाएको लाश कुकुरले वाहिर निकालेको अवस्थामा फेला पारी जाहेरी गरेको अवस्थामा ज्यान सम्बन्धीको १३(१) नं वमोजिम सजाय हुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाँई प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § ज्यान सम्बन्धी महलको १३(१) § अ.वं. १८८ फैसला न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत वाग्लुङको मिति२०६४।९।२३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ :- मलखादमा अम्मरबहादुर कार्कीको लाश, उक्त लाशको निधारमा गम्भीर निलडाम, दाँया कानको केही तल खोस्रिएको किरा परेको भन्ने समेतको घटनास्थल लाश जाँच मुचुल्का । अम्मरबहादुर कार्कीको घर, सो घरको उत्तर तर्फमूल ढोकाबाट भित्र पसी हेर्दा भित्ताको केही भाग कोट्याई हेर्दा रगत जस्तो रातो देखिएको र सो स्थानमा सडेको दुर्गन्ध भएको भन्ने समेतको घटनास्थल मुचुल्का । मेरो भाइ अम्मरबहादुर कार्कीलाई निजकै श्रीमती जोककुमारी कार्कीले मिति २०६३।११।१३ गते राति टाउकोमा बञ्चरोले हानी मारी मलखादमा गाडेकी रहिछन् । सो कुरा २०६३।११।२३ गते मात्र मलखादमा लाश फेला परेकोले निज जोककुमारीलाई पक्री कानूनबमोजिम गरिपाऊँ भन्ने समेतको थमनबहादुर कार्कीको जाहेरी दरखास्त । मृतक पतिले मादक पदार्थ सेवन गरी आई मलाई गाली गलौज गरी पिर्काले हानेकाले मैले रिस थाम्न नसकी बञ्चरोले टाउकोमा हान्दा पतिको मृत्यु भएको हो । त्यसपछि मलखादमा गई मान्छे अट्ने खाल्डो खनी आई मृतक लोग्नेलाई नाम्लोले बाँधी ताने, ठूलो छोरा सागरलाई खुट्टा समाई उचाली देउ