निर्णय नं. ८२३२ - अंश दर्ता चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३२ - अंश दर्ता चलन । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०६/१९ २७६१ निर्णय नं. ८२३२ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री रणबहादुर बम सम्वत् २०६० सालको दे.पु.नं.– ९३१७ फैसला मितिः २०६६।६।१९।२ मुद्दा : अंश दर्ता चलन । पुनरावेदक/वादीः रौतहट जिल्ला, मर्यादापुर गा.वि.स.वार्ड नं. ४ बस्ने चन्द्रेश्वर राय यादव समेत विरुद्ध प्रत्यर्थी/प्रतिवादीः रौतहट जिल्ला, मर्यादापुर गा.वि.स.वार्ड नं.४ बस्ने विद्यानन्द राय यादव समेत शुरु फैसला गर्ने : मा.न्या.श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री कल्याण श्रेष्ठ मा.न्या. श्री खेमराज शर्मा § अघिल्लो पुस्तामा मानो छुटिृएको भन्ने तथ्यले पछिल्लो पुस्ताका बीचको सम्बन्ध निर्धारण गर्न नसक्ने । § अघिल्लो पुस्ताका बाबुहरूले हजुरबुवासँग गरेको मुद्दाले नाति पुस्तालाई आफ्ना बाबु र काकासँग अंश माग्न पाउने हक खोस्न सक्दैन र त्यस्ता अप्रासांगिक तथ्यलाई आधार बनाएर न्याय निरुपण गर्न नमिल्ने । (प्रकरण नं. २) पुनरावेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारी प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकुमार झा अवलम्वित नजीरः § नेकाप २०५७, निर्णय नं. ६९३९, पृष्ठ ६७५ सम्बद्ध कानूनः फैसला न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत हेटौंडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क)(ख) अनुसार यस अदालतमा दोहोर्‍याउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षीप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- मूल पुरुष ज्ञानचनको छोरा महावीर र निजको श्रीमती परलोक भैसकेका, निजका २ छोरामध्ये जेठा प्रतिवादी भुटलाल र कान्छा प्रतिवादी रामआशिष राय हुन् । भुटलालको श्रीमती रजपतिया देवी परलोक भएकी, निजका २ छोरा प्रतिवादी हरिन्दर र कान्छा प्रतिवादी विद्यानन्द हुन् । हरिन्दरको श्रीमती प्रतिवादी इलयिची देवी हुन् । कान्छा रामआशिषको श्रीमती हामी वादीको आमा परलोक भै सकेको, निजबाट हामी ४ जना वादी शम्भु, चन्द्रेश्वर, कामेश्वर र सरेश हौं। हामी वादी प्रतिवादी एकासगोलमा बसी आएकोमा घरायसी कुरामा भनाभन भै मिति २०४८ साल बैशाखमा चूल्हो मानो छुट्टिई बसेको हुँदा मिति २०४८।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भागबाट ५ भागको ४ भाग अंश दिलाई पाऊँ भन्ने समेत व्यहोराको शम्भु राय यादव समेतको मिति २०५८।५।२६ मा परेको फिराद पत्र । वादीहरूलाई हामीहरूले अंश दिनुपर्ने अवस्था छैन । वादीको वावु र हाम्रा वावुले सर्वे हुनुभन्दा अघिदेखि चल सम्पत्ति घरसारमै बाँडफाँड गरी अचल सम्पत्तिको हकमा मौखिक रुपमा आ–आफ्नो नामको जग्गा आ–आफ्नै नाममा राखी वाँडफाँड गरी वेग्ला वेग्लै चुल्हो मानो छुट्टाई चार ठाउँमा बसी कमाई खाई जीवन व्यतीत गरिरहेकै अवस्थामा २०३३ सालमा प्रतिवादीमध्येका भुटलाल र वादीको वावु रामआशिष जना २ ले चलित्तर र महावीर यादवउपर दे.नं ३३५६ नं को अंश मुद्दा दिई मिति २०१९।१।२७ लाई मानो छुट्टिएको मिति कायम भै उक्त मुद्दा डिसमिस भएको थियो । वादीले आफ्नो बाबुबाट मात्र अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी भुटलाल, इलाइची, विद्यानन्द र हरिन्दर राय यादव समेतको मिति २०५८।७।२८ को संयुक्त प्रतिउत्तर पत्र । प्रतिवादी राम आशिषले शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई बसेका । वादी प्रतिवादीबीच वण्डा भएको छैन