निर्णय नं. ८२३३ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३३ - आयकर भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०७/१० २८४४ निर्णय नं. ८२३३ २०६६ पुस,अङ्क ९ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०५९ सालको फौ.पु.नं. : ३०३७ संवत् २०६१ सालको फौ.पु.नं. : ३८१५ फैसला मितिः २०६६।७।१०।३ मुद्दा : आयकर । पुनरावेदक/वादीः आन्तरिक राजश्व कार्यालय, बिराटनगरको तर्फबाट निमित्त प्रमुख कर प्रशासक देवीदास कोईराला बिरुद्ध प्रत्यर्थी/प्रतिवादीः पशुपति वायर प्रोडक्टस् बिराटनगरको तर्फबाट प्रोप्राइटर अशोककुमार मुरारका एवं पुनरावेदक/प्रतिवादी पशुपति वायर प्रोडक्टस् बिराटनगरको तर्फबाट प्रोप्राइटर अशोककुमार मुरारका बिरुद्ध प्रत्यर्थी/वादीः आन्तरिक राजश्व कार्यालय, बिराटनगर शुरु निर्णय गर्ने : कर कार्यालय, विराटनगर पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री तपबहादुर मगर मा.न्या. कृष्णभक्त श्रेष्ठ § कतिपय बिबरणका सम्बन्धमा करदाता स्वयंले नै अलमल परेको वा टाइपको गल्तीले त्रुटि भएको भनी स्वीकार गरेको अवस्थामा त्यस्तो लेखा बिबरणलाई आयकर ऐन, २०३१ को दफा ५८ बमोजिम अमान्य हुने अवस्थाको नै मान्नुपर्ने । (प्रकरण नं. ३) § करदाताले पेश गरेको लेखालाई मान्यता दिई सोको आधारमा आयकर निर्धारण गर्दा करदाताले पेश गरेको बिल भरपाइअनुसार समर्थन गरेको सम्पूर्ण खर्चलाई मान्यता दिइने हुनाले मान्यता प्राप्त लेखाको आधारमा कर निर्धारण हुने । § लेखा अमान्य भएको अवस्थामा करदाताले पाउने सुविधाहरू नपाउने अवस्था हुन्छ । तर त्यसरी लेखा अमान्य भएको भन्ने मात्र आधारमा करदाताले पेश गरेको बिक्रीसम्बन्धी बिबरण लगायतका विश्वसनीय ठहरिने बिबरण वा कारोवारसँग सम्बन्धित कागजातहरूलाई आधार मानी कर निर्धारण गर्न सकिने । (प्रकरण नं. ४) § अन्य करदाताको कर निर्धारणको आधारलाई निरपेक्ष रुपमा अर्को करदाताको कर निर्धारणको आधार बनाउन सकिने हुँदैन, त्यसरी आधार बनाइएका विषयहरूलाई पनि निर्णयमा सविस्तार खुलाउन सक्नु पर्ने । § अन्य करदाताको कर निर्धारणको विषयलाई आधार बनाइएको भन्ने मात्र आधारमा आयकर निर्धारण जस्तो विषयलाई छाडिदिने हो भने त्यसले निर्णयकर्तालाई स्वैच्छाचारी बनाउँछ र कर निर्धारणसम्बन्धी निर्णयको आधार सँधै नै अस्पष्ट, मनोगत र अपारदर्शी बन्न जाने । (प्रकरण नं. ६) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश थापा पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम अग्रवाल अवलम्वित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ५६, ५६(२), ५८, ५८(ङ), ३३, ३३(२)(ग)(घ)(च) फैसला न्या. भरतराज उप्रेतीः राजश्व न्यायाधीकरण विराटनगरको फैसलाउपर राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (ग) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ :- वायर प्रोडक्टस् तर्फको आ.व.२०५३।०५४ को कारोवारमा रु.२४,७६,०५८।९६ नोक्सान भएको र स्टील क्रसरतर्फ रु.१,२७,६६३।५४ नाफा भएको देखाई पशुपति वायर प्रोडक्टस्ले कर कार्यालय, विराटनगरमा मिति २०५४।११।१५ मा पेश गरेको आ.व. २०५३।०५४ को आयव्ययको विवरण । उद्योगलाई आवश्यक पर्ने वायर तथा सहायक कच्चा पदार्थ भारत तथा स्थानीय बजारमा उपलब्ध छ । यस उद्योगले यस आ.व.मा वेण्डिङ्ग वायर, आल्मुनियम वायर समेत उत्पादन गरेको, पूँजीको अभाव भएकोले प्रोप्राईटरको थप पूँजी लगाइएको हो भन्ने समेत व्यहोराको पशुपति वायर प