निर्णय नं. ९०१४ - मानाचामल

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१४ - मानाचामल भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०१/३१ १०२४७ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९०१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६६–CI–०८८० फैसला मितिः २०७०।१।३१।३ मुद्दा :– मानाचामल । पुनरावदेक प्रतिवादीः कृष्णबहादुरको छोरा, धादिङ्ग जिल्ला, निलकण्ठ गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. १५ बस्ने डा.राजाराम कार्की विरुद्ध प्रत्यर्थी वादीः कृष्णबहादुरको बुहारी, डा.राजाराम कार्कीको श्रीमती, काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. १६ बस्ने उषा कार्की § पत्नीलाई आफ्नो इज्जतआमदअनुसार खान लाउन दिनुपर्ने कानूनी दायित्व लोग्नेमानिसको हुँदा त्यस्तो दायित्व बहन नगरेमा त्यस्ता लोग्नेमानिसको आर्थिक हैसियतका आधारमा त्यस्ता पीडित महिलाले खान लाउनका लागि मानाचामल माग गर्न सक्दछन् । मानाचामल माग गर्नेले बढी रकमको दावी गर्ने र मानाचामल भराई दिनुपर्ने दायित्व भएको व्यक्तिले आफ्नो हैसियतभन्दा कम रकमका विषयमा प्रतिवाद गर्ने परिपाटी रहिआएको परिप्रेक्ष्यमा अदालतले त्यस्ता दावी र प्रतिवादको अन्तरविरोधको चिरफार गरी एउटा केन्द्रविन्दुलाई आधार लिई भरी पाउने रकमको सीमा निर्धारण गर्नुपर्ने हुन्छ, जसले न्यायिक सन्तुलन कायम गर्न सकोस् । यसको सन्तुलन कायम गर्ने माध्यम आर्थिक हैसियत भएकाले यही आर्थिक हैसियतले उचित दायित्वको सीमा निर्धारण गर्ने । (प्रकरण नं.३) § जिल्ला अदालतसमक्ष गरेको कागजमा आफ्नो दैनिक आम्दानी यति हो भनी स्वीकार गरिसकेको अवस्थामा प्रत्येक पुनरावेदनको रोहमा सोही प्रक्रियाद्वारा आम्दानी निर्धारण गर्नुपर्ने भन्ने जिकीर औचित्यहीन हुने । § मानाचामलको रकम के कति निर्धारण गर्ने भन्ने कुराको कुनै गणितीय मापदण्ड हुन सक्दैन । अवस्था र हैसियत विचार गरी प्रमाणहरूका आधारमा अदालतले न्यायिक मन प्रयोग गरी सो निर्धारण गरिने हो । एउटा सक्षम अदालतले निर्धारण गरेको मानाचामलको निर्धारित रकम घटाउन वा बढाउन सम्बन्धित पक्षले समुचित आधार र प्रमाण देखाउनु पर्ने हुन्छ । प्रतिवाद गर्दा वा बयान गर्दा नदेखाइएका आधार र प्रमाण पछि ग्राह्य हुन नसक्ने । (प्रकरण नं.४) शुरू फैसला गर्ने :– मा.न्या.श्री विनोदमोहन आचार्य पुनरावेदन फैसला गर्ने :– मा.मु.न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या श्री पुरूषोत्तम भण्डारी पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ताद्वय विनय स्थापित, आर्या श्रेष्ठ प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता डिल्लीराज तिवारी अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.बं.१३३ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– मूल अंशियारहरूमा ससुरा कृष्णबहादुर कार्की क्षेत्री, सासू देवकुमारी कार्की क्षेत्री, पति डा.राजाराम कार्की क्षेत्री, देवर केशवबहादुर कार्की क्षेत्री गरी जम्मा चारजना अंशियार भएकोमा मेरो विवाह विपक्षी डा.राजाराम कार्कीसँग १३ वर्षको उमेरमा सामाजिक परम्परा तथा संस्कृतिअनुसार भएको हो । हाम्रो दाम्पत्य जीवनबाट दुईजना छोराहरूमा जेठा अमीत सिँह कार्की र कान्छा अजय सिंह कार्की तथा एकजना छोरी सुजाताको जन्म भएकोमा निज छोरी सुजाताको विवाह भैसकेको छ । छोराहरूको विवाह हुन बाँकी रहेको छ । मिति २०६३।२।५ मा पतिले घरबाट समेत निकाला गरिदिनु भएकोल