निर्णय नं. ८१८६ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१८६ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०६/२२ २५९१ निर्णय नं. ८१८६ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री सुशीला कार्की रिट नं.: ०६५–WS–००१२ आदेश मितिः २०६६।६।२२।५ विषयः– उत्प्रेषण समेत । निवेदकः काभ्रेपलाञ्चोक जिल्ला खरेलथोक गा.वि.स.वडा नं. ४ खरेलथोक बस्ने अधिवक्ता अच्यूतप्रसाद खरेल विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं समेत § कानूनले सकारात्मक विभेदको अवधारणालाई के कुन आधारमा अंगीकार गर्दछ भन्ने स्पष्ट नहुँदै निवेदकले दावी लिएकै भरमा प्रतिष्ठानको कामको सिलसिलामा चोट पटक लागेको कामदार कर्मचारीलाई उपचारबापत लागेको सम्पूर्ण खर्च व्यहोर्नु पर्ने र त्यसका अतिरिक्त उपचार गराउँदा जतिसुकै समयाबधि लागे पनि निजले खाईपाई आएको पूरै पारिश्रमिकसहित उपचारमा रहन पाउनु पर्ने विषयलाई पनि सकारात्मक विभेदको विषयवस्तु बनाइनु पर्दछ भनी अदालतले बोल्न नमिल्ने । (प्रकरण नं.४) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) ले संविधानप्रदत्त मौलिक हकउपर अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारणले कुनै कानून संविधानसँग बाझिएको देखिएको अवस्थामा मात्र त्यस्तो कानूनलाई अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार यस अदालतलाई प्रदान गरेकाले संविधानले प्रदान गरेको उक्त अधिकारअन्तर्गत कानूनको संवैधानिकता परीक्षण गरिन्छ, तर संविधानसँग बाझिएको अवस्था नभै कुनै कानूनमा यस्तो प्राबधान राखिनु पर्ने वा यसरी सुधार गरिनु पर्ने वा राज्यले अवलम्वन गर्ने सकारात्मक विभेदको प्रक्रिया र पद्धति यस्तो हुनुपर्ने भनी अनुमान र कल्पनाका भरमा आदेश जारी नहुने। (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अच्यूतप्रसाद खरेल विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१), (२), (३), ३० § श्रम नियमावली, २०५० को नियम १५(२) आदेश न्या. अनूपराज शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) र (२) बमोजिम यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- श्रम नियमावली, २०५० को नियम १५ को उपनियम (२) मा प्रतिष्ठानले तोकेको काम गर्दा गर्दै चोटपटक लागेको कामदार वा कर्मचारीले तत्काल काम गर्न नसक्ने भै चिकित्सकको सिफारिश बमोजिम अस्पताल वा घरमा बसी उपचार गर्नुपर्ने भएमा निजलाई उपनियम (१) बमोजिम दिइने क्षतिपूर्तिको अतिरिक्त अस्पतालमा बसी उपचार गराएको भए सो अबधिको पूरा पारिश्रमिक र घरमा बसी उपचार गराएको भए सो अबधिको आधा पारिश्रमिक समेत व्यवस्थापकले दिनुपर्नेछ भनी उल्लेख भएकोमा चिकित्सकको सिफारिश बमोजिम घरमा बसी उपचार गराउनु पर्दाको अवस्थामा समेत व्यवस्थापकले निज कामदार वा कर्मचारीलाई आधा पारिश्रमिक मात्र उपलब्ध गराए पुग्ने व्यवस्था आपत्तिजनक हुनुको साथै श्रमिक, कामदार, कर्मचारीको हितमा नरहेको स्पष्ट छ । त्यसैगरी उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लिखित “तर एकवर्ष भन्दा बढी अबधिको लागि उपचार गराउनु पर्ने भएमा त्यस्तो बढी अबधिको निमित्त व्यवस्थापकले कुनै पारिश्रमिक दिनुपर्ने छैन” भन्ने व्यवस्थाले प्रतिष्ठानमा काम गर्दागर्दैको अवस्थामा चोट पटक लागेको कामदार तथा कर्मचारीलाई एक वर्ष भन्दा बढी अब