निर्णय नं. ८१८९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१८९ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०५/११ ३१२५ निर्णय नं. ८१८९ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६५ सालको ..WS... ००१८ आदेश मितिः २०६६।५।११।५ मुद्दा– उत्प्रेषण । निवेदकः काभ्रेपलान्चोक जिल्ला खरेलथोक गा.वि.स. वडा न.४ खरेलथोक बस्ने अधिवक्ता अच्यूतप्रसाद खरेल विरुद्ध विपक्षीः कानून न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय काठमाडौं समेत § कुनै व्यक्ति माथि कानूनले निर्धारित गरेको कर्तव्यको दायित्व निजले वहन गर्नुपर्ने बाध्यता भए पनि, हकको प्रयोग धारकको स्वैच्छामा निर्भर हुने हुन्छ र धारकले आफ्नो हकको प्रयोग गर्ने नगर्ने वा कति हदसम्म गर्ने कुरा स्वभाविकरुपले निजमानै अन्तनिर्हित रहने । § स्वास्नीमानिसले सम्बन्धविच्छेद मुद्दा दायर गर्दा, जीविकाको निमित्त मासिक खर्च वा अंशतर्फ समेत दावी गर्ने वा मिलापत्र गर्ने वा दावी छाड्न सक्ने कुरा निज स्वास्नीमानिसको नितान्त स्वैच्छामा निर्भर रहने विषय भएकाले जिल्ला अदालत नियमावलीमा भएको व्यवस्थाबाट सम्बन्धविच्छेद गर्न, मुद्दा दायर गर्ने स्वास्नीमानिसलाई प्राप्त उक्त हकमा प्रतिकूल असर परेको भन्न नमिल्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री अच्यूतप्रसाद खरेल प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ताद्वय श्री युवराज सुवेदी र श्री किरण पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः  जिल्ला अदालती नियमावली, २०५२ को नियम ८५क(३)  लोग्नेस्वास्नी महलको ४क, ४ख र ४ग नं. आदेश न्या.गिरीशचन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(१) बमोजिम दायर भएको प्रस्तुत निवेदनको विवरण र आदेश निम्न बमोजिम छः सारवान कानूनद्वारा सुनिश्चित गरिएका हकलाई कार्यविधि कानूनले नियन्त्रण गर्ने तथा उक्त हकलाई शून्यमा परिणत गर्न सक्दैन । कार्यविधि कानूनको मुख्य काम सारवान कानूनद्वारा सुनिश्चित गरिएका हकलाई कसरी प्राप्त गर्ने भन्ने कुराको कार्यविधिगत व्यवस्था गर्ने सम्म हो । मुलुकी ऐन, २०२० मा २०५८ सालमा भएको एघारौं संशोधनले लोग्नेस्वास्नीको महलमा ४(क) ४(ख) र ४(ग) नं. को व्यवस्था गरी महिला मानव अधिकारको दिशामा महŒवपूर्ण रहेको छ । लोग्नेस्वास्नीको महलको ४क. नम्बरले सम्बन्ध विच्छेद हुँदा सम्बन्ध विच्छेद गर्ने स्वास्नीमानिसले निजको लोग्नेबाट अंशपाउने अंश सम्बन्धी सारभूत हकको सुनिश्चिता प्रदान गरेको छ । त्यस्तै लोग्नेस्वास्नीको महलको ४ख. नम्बरमा सम्बन्धविच्छेद हुने महिलाले अंश नलिई सोबापत मासिक वा वार्षिक रुपमा खर्च भराई लिन चाहेमा अदालतले पनि त्यस्ती स्वास्नीमानिसलाई लोग्नेको आम्दानी समेतको ख्याल गरी खर्च भराई दिनुपर्ने कुराको उल्लेख गरेको छ । लोग्नेस्वास्नीको ४ग. नम्बरले सम्बन्ध विच्छेद हुँदा सम्बन्धविच्छेद गर्ने स्वास्नीमानिसले लोग्नेको वण्डा गर्नुपर्ने कुनै सम्पत्ति नै नभएको अवस्थामा पनि निज अंश नपाएकी स्वास्नीमानिसले लोग्नेबाट खर्च भराउन चाहेमा र यस्तो लोग्नेको आम्दानी आयस्ता भएमा आम्दानी र आयस्ताको आधारमा खान लाउन खर्च भराई दिनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । यसरी लोग्नेस्वास्नीको महलको ४क., ख र ४ग. ले लोग्ने र स्वास्नीको सम्बन्धविच्छेद हुँदा सम्बन्धविच्छेद गर्ने महिलाले लोग्नेबाट अंश पाउने सारभूत हकलाई सुनिश्चितता प्रदान गरेको छ । जिल्ला अदालत नियमावली, २०५२