निर्णय नं. ८१९५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१९५ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०३/२५ २६०० निर्णय नं. ८१९५ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६३ सालको ०६३––०९९१ आदेश मितिः २०६६।३।२५।५ विषय : उत्प्रेषण समेत । निवेदकः बुद्धिबहादुरकी श्रीमती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वार्ड नं. १ तौलाछे बस्ने लक्ष्मी ज्याख्वा विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय, भक्तपुर समेत § पुनरावेदन लाग्ने नलाग्ने सम्बन्धमा परस्पर विपरीत कानूनीव्यवस्था भएको सन्दर्भमा निर्णय दिनुपर्ने अधिकारीले पूर्ण रुपमा विवेकको प्रयोग गरी तिनीहरूको अन्योन्याश्रित सम्बन्ध र पर्न आउने दुवै प्रकृतिका मुद्दाबाट एक अर्कामा पर्नसक्ने असर तथा प्रभावको बारेमा समेत गम्भीरतापूर्वक विचार गरी निर्णय गर्नुपर्ने । § कुनै मुद्दामा निस्कने परिणामलाई अर्को मुद्दामा निस्कने परिणामले असर पार्छ भने त्यस्तो असर पार्ने मुद्दाको निर्णय भएपछि मात्र अर्को मुद्दाको निर्णय गर्नुपर्ने । § मोही लगत कट्टा मुद्दा र जोत खिचोला मुद्दामा भएको अन्तिम निर्णयका आधारमा मात्र मोही कायम हुने वा नहुने भन्ने यकीन हुने र मोही कायम हुने अवस्था आएमा मात्र बाँडफाँडको विषय निराकरण हुनेहुँदा मोही लगत कट्टा हुने गरी अन्तिम निर्णय भएमा मोही बाँडफाँड मुद्दाको अस्तित्व र औचित्य नै समाप्त हुन जाने । § कुत दिलाई मोही निष्कासन मुद्दामा पुनरावेदन गर्न पाउने अवस्था बाँकी छँदै त्यसलाई वेवास्ता गरी मोही निष्कासन मुद्दा र बाँडफाँड मुद्दा एकै दिन निर्णय गरी मोही बाँडफाँड गरिदिने ठह¥याएको निर्णय कानूनविपरीत हुने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कुश्माखर सापकोटा विपक्षी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ र १९ § भूमि सम्बन्धी (चौथो संशोधन) ऐन, २०२१ को दफा २६, २६(ख), (ग), (३), (ङ), (च), (छ), (ज) र (झ), ५५ आदेश न्या. बलराम के.सी.: नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) अनुसार यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :— म निवेदिकाको नाम दर्ताको भक्तपुर जिल्ला झौखेल गा.वि.स. वार्ड नं. ९(ख) कि.नं. ७९० को क्षेत्रफल ०–१–३–२–२ जग्गा २०४५।११।४ मा र.नं. १५६४ बाट पञ्चमाया लावबाट र ऐ. कि.नं. ७९१ को क्षेत्रफल ०–१३–२–२ जग्गा सोही मितिमा र.नं. १५६३ बाट चन्द्रबहादुर लावबाट वकसपत्र पाई आफैंले भोगचलन गरी आएकी छु । उक्त जग्गा नापीको वखतको कि.नं. ३५८ भएको र नापीमा जग्गाधनीमा तुल्सी नारां लावको हस्ते सहि गर्ने छोरा तुल्सीबहादुर लाव भ.पु. यान्छे भन्ने र जोताहा तुल्सीबहादुर सुलु भ.पु. याछें टोल उल्लेख भएको तथा जोताहामा लेखिएको व्यक्तिले नै जोताहा किसानको व्यहोरा मेरो नामको नम्बरी हो र मैले जोतिआएको छु भनी फिल्डवुकमा प्रष्टरुपमा लेखेको छ । विपक्षी तुल्सीबहादुर सुलु फिल्डवुकमा लेखिएको व्यक्ति होइनन् । निजको ठेगाना भक्तपुर याछें टोल नभै झौखेल गा.वि.स. लाकिला हो । नापीमा जोताहामा लेखिएका व्यक्ति जग्गाधनीका एकासगोलका आफ्नै छोरा हुन् । एकै परिवारका व्यक्ति जग्गाधनी र मोही हुन सक्दैन भनी विपक्षीले दिएको बाँडफाँडको निवेदनमा प्रतिवाद गरेकी छु । एकै परिवारका व्यक्ति जग्गाधनी र मोही हुन नसक्ने हुँदा मोही लगत कट्टा गरिपाऊँ भनी मैले छुट्टै निवेदन दर्ता गरेकी