निर्णय नं. ८१९९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१९९ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६६/०३/२१ ३६३९ निर्णय नं. ८१९९ २०६६ कात्तिक,अङ्क ७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेश कुमार यादव संवत् २०६३ सालको रिट नं. १२२१ आदेश मितिः २०६६।३।२१।१ बिषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं महानगरपालिका वडा नं. २९ ठमेल घर भई नेपाल वायुसेवा निगममा कार्यरत सुवास बस्न्यात विरुद्ध विपक्षीः नेपाल वायुसेवा निगम प्रधान कार्यालय समेत § सेवामा प्रवेश गरेपछि उक्त सेवा समूहसँग सम्बन्धित प्रावधान मान्न सवै कर्मचारी वाध्यकारी हुने । § विमान परिचालक पदलाई कायमै राखी तत्कालीन परिस्थिति र आवश्यकता अनुसार केही समयको लागि अन्यत्र काम गर्दैमा लियन पदको हक वा दायित्वबाट मुक्त हुन नसक्ने । § लियन पदमा रहेसम्म सोही पदको हैसियतले पाउने हक दायित्व एवं सुविधा उपभोग गर्नुपर्ने । § कुनै खास व्यक्तिको हकमा गरेको तथ्यगत विवेचना सहितको निर्णय नजीर नभै दृष्टान्त मात्र हुन्छ । खास कानूनको प्रचलनको लागि कानूनको व्यवस्थामा गरिएको ब्याख्यामार्फत प्रतिपादित हुने सिद्धान्त नजीर हुने । § बिना कानूनी सिद्धान्त, कुनै कुराको दृष्टान्तलाई आधार बनाई नजीर मानी उपचार दिन नमिल्ने। (प्रकरण नं.३) § नेपाल वायुसेवा निगम कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ६३ को प्रावधान Crew समूहमा आवद्ध सवै कर्मचारीहरू बीच आकृष्ट हुने भएबाट कानूनको प्रयोगमा भेदभाव भयो वा आफूलाई असमान व्यवहार गरियो भन्न नमिल्ने । § समानहरूका बीचमा भएको समान व्यवहारले समानताको सिद्धान्त उल्लंघन हुन नसक्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटःविद्वान अधिवक्ताहरू श्री पूर्णमान शाक्य, रमेश कार्की एवं गोविन्द वन्दी अवलम्वित नजीरः सम्बद्ध कानूनः § कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली, २०५८ को परिच्छेद ७, विनियम ६३ आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतसमक्ष दायर भई पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः– म निवेदक २०३४।१२।४ मा निगमको असिस्टेन्ट पदमा प्रवेश गरी मिति २०३६।१०।२२ देखि Operation Department अन्तर्गत Cabin Crew Section मा Steward पदमा सरुवा भई काम काज गरी आएकोमा २०४४।११।२२ मा Sr. Cabin Attendant मा बढुवा भई सो पदका अतिरिक्त Cabin Crew Division को विभिन्न Section मा कार्य गर्ने थप जिम्मेवारी समेत सम्हाल्न दिइएको आदेशबमोजिम कार्य गर्दै आएको थिए । २०५५।२।२९ मा Personnel Department को पत्रसंख्या Pd/10/41763/2207 को पत्रद्वारा आई. एफ. एस. पद अपरेसन्स डिपार्टमेन्टमा लियन हुने गरी अर्को विभाग क्वालिटी एसुरेन्स तथा फ्लाइट सेफ्टी डिपार्टमेन्टमा सुपरभाइजरको जिम्मेवारी सम्हाल्न दिएको आदेशबमोजिम हालसम्म सो जिम्मेवारी समेत सम्हाल्दै आएको छु । यसरी निगमको सेवामा कार्यरत रहेको वखत २०६४।४।५ मा उमेरको हदको कारणले सेवा अवधि पुरा हुने भएकोले मिति २०६४।४।६ देखि निगमको सेवाबाट अवकाश हुने भनी विपक्षीबाट मलाई पत्र दिइयो । निगमको सेवामा म प्रवेश गर्दा क्रु कर्मचारीको ५५ बर्ष र अन्य कर्मचारीको ६० बर्ष अवकाशको हद थियो । मेरो सेवा समूह उपसमूह परिवर्तन भएको नहुँदा र नियुक्ति भएको पदमा नै कार्यरत रहेको