निर्णय नं. ८९८८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९८८ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०६/१८ ३६९१ ने.का.प. २०७०, अङ्क ४ निर्णय नं.८९८८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री कमलनारायण दास फौ.पु.ई.नं.०६८–CF–००१६ फैसला मितिः २०६९।६।१८।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावदेक प्रतिवादीः जिल्ला रूपन्देही, गा.वि.स.पर्रोहा, वडा नं. ६ बनकट्टा घर भई जिल्ला कारागार शाखा, रूपन्देहीमा थुनामा रहेको अम्बरबहादुर पुन मगर विरुद्ध प्रत्यर्थी वादीः विनोद शर्मासमेतको जाहेरीले नेपाल सरकार § कुनै अमुक घटना वा व्यवहार कुनै व्यक्तिका लागि तत्कालै गम्भीर प्रकृतिको रीस उठ्ने विषय बन्न सक्दछ भने कसैका लागि सामान्य वा कसैकसैलाई रीसै नउठ्ने पनि हुन सक्दछ । त्यसैले के कस्तो आचरण वा व्यवहारबाट के कस्तो प्रकृतिको के कति मात्रामा रीस उठ्छ वा उठ्दैन भन्ने कुराको स्वीकार्य मापदण्ड बनाउन सजिलो हुँदैन । तर तत्काल उठेको रीसबाट आवेशमा आई गरिने आचरण, व्यवहार वा क्रियाकलापको न्यूनतम् स्वीकार्य मापदण्ड भने हुन सक्ने । (प्रकरण नं.१०) § घाँटी न्याकी पटक–पटक टेबुलमा टाउको ठोक्काइएको कारणबाट बेहोस भई भूइँमा लडेकी महिलालाई निजकै (चुन्नी) सलले घाँटी कसेर मारिएको क्रिया मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. ले परिकल्पना गरेको तत्काल उठेको रीस थाम्न नसकी गरेको कार्य तथा सामान्य लाठा, ढुङ्गा वा लात मुक्काले हानेको अवस्था नभै घाँटीमा सलले कसी मारेको क्रियालाई यसअन्तर्गत समावेश गर्न नमिल्ने । § पटक–पटक टाउको ठोक्काई पहिले नै बेहोस भई लडेको व्यक्तिको पुनः घाँटी कसी मार्नेसम्मको कार्य गरिन्छ भने त्यस्तोमा मानिस मार्ने मनसाय थियो थिएन भनी खोजी गरिरहनु पर्दैन । सो कार्य स्वयं नै मनसाय पुष्टि हुने पर्याप्त र वस्तुनिष्ठ आधार हो । यस्ता कतिपय क्रूर र अमानवीय हत्याका वारदातमा आपराधिक कार्यबाट नै मनसाय निःसृत हुने हुँदा मनसाय तत्वको निरपेक्ष खोजी गर्न आवश्यक नहुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता चन्द्रकान्त ज्ञवाली प्रत्यर्थी वादीतर्फबाटः अवलम्बित नजीरः § नेकाप २०६४, नि.नं.७८९१, पृष्ठ १३५१ सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३), १४ नं. शुरू फैसला गर्नेः– मा.न्या.श्री हरिकुमार पोखरेल पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री एकराज आचार्य फैसला न्या.रामकुमार प्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौंडाको मिति २०६६।५।३० को फैसलाउपर प्रतिवादीको पुनरावेदन परेकोमा साधकको रोहबाट यस अदालतबाट फैसला भइसकेको कारण पुनः समानस्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासबाट हेरिनु पर्ने भन्ने संयुक्त इजलासको आदेशबमोजिम पूर्ण इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :– मिति २०६४।६।१८ गते दिउँसो अन्दाजी ५:०० बजेको समयमा एक जना अन्दाजी वर्ष ३५ को पुरुष, निजकै साथमा अन्दाजी वर्ष ३० की महिलासमेत मेरो नवदुर्गा लजमा आई अम्बर पुनको नाउँमा निज महिलाले ९ नं. कोठा बुक गरी बसेकोमा बिहानको खाना खानसमेत बाहिर आएनन् । ४ बजेसम्म पनि निजहरू कोठाबाट ननिस्केकोले हेर्न जाँदा उक्त कोठाको ढोका बाहिरबाट चुकुल लगाएको, भित्र पङ्खा चलेको आवाज सुनेकोले ढोका खोली हेर्दा कोठाभित्र भूइँमा उत्तानो अवस्थामा निज महिला मृत भेटिएको र अम्बर पुन भ