निर्णय नं. ८७९० - अवैध मोही लगत कट्टा ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७९० - अवैध मोही लगत कट्टा । भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/०९/०८ ४१५४ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की संवत् २०६७ सालको दे.पु.नं. २०६७–CI–०६८१ फैसला मितिः २०६८।९।८।६ मुद्दा : अवैध मोही लगत कट्टा । पुनरावेदक वादीः जिल्ला रौतहट, गा.वि.स. भेडियाही वडा नं. ३ बस्ने दुलारीदेवी यादवनी विरुद्ध प्रत्यार्थी प्रतिवादीः जिल्ला रौतहट, गा.वि.स. भेडियाही वडा नं. ३ बस्ने मियाँ धुनिया शुरु फैसला गर्ने : भू.सु.अ.श्री सागरकुमार रोक्का पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री भरतप्रसाद अधिकारी § एकपटक मोही कायम भइसकेपछि उसलाई कानूनबमोजिम निष्काशन नभएसम्म मोहीको मोहियानी हक भूमिसम्बन्धी ऐनको दफा २६ ले सुरक्षित गरेको छ । पटक पटक मोहीले आफ्नो मोहियानी हकको प्रमाण जग्गाधनीलाई देखाई मोहियानी हकको नवीकरण गरी रहनु नपर्ने । § सर्बे नापीको समयदेखि जग्गा जोती आएको, फिल्डबुकमा मोही जनिएको छ, नापीको समयदेखि प्राप्त गरिएको पहिलो जग्गाधनी प्रमाणपूर्जामा मोही उल्लेख गरिएको छ र मोहियानी हकको प्रमाणपत्र प्राप्त भई जग्गा जोत आवाद गर्दै आएको मोहीको देहान्तपछि उसको हकवालाले पुनः मोहियानी हक कायम गराउने होइन । जुन बेला पनि नामसारीसम्म गराए पुग्ने हो । यो कुरा पछिल्ला जग्गाधनी र भूमिसुधार अधिकारीहरूले पनि बुझ्नु र जान्नुपर्ने कुरा हो । मोही लगत कट्टासम्बन्धी यस्तो विवादको निर्णय गर्दा सामान्य विवेक र न्यायिक मनको प्रयोग गर्नु आवश्यक हुने । (प्रकरण नं.४) § कानूनबमोजिम मोहियानी हक कायम भइरहेको दशकौं पछि पहिलाकै वा अर्को जग्गाधनीले दोस्रो पुस्ताको मोहीबाट पहिलेको मोहीको मोहियानी हककायम भएको स्रोतसम्बन्धी प्रमाणको खोजी गर्न र न्यायिक अधिकार पाएका भूमिसुधार अधिकारीले आफ्नै अड्डाको स्रेस्ता समेत नहेरी वा विवेक र न्यूनतम् स्तरको पनि न्यायिक मनको प्रयोग नगरी २ नं. १ नं. अनुसूची र कबुलियत नभएको भन्दै मोहियानी लगत कट्टा गर्दै जाने हो भने त्यो भूमिसम्बन्धी कानूनी व्यवस्था र कानूनी राज्यको उपहास हुन जान्छ । त्यसकारण यसप्रति भूमिसुधार अधिकारीहरू बढी गम्भीर सजग र संवेदनशील हुनु जरुरी हुने । (प्रकरण नं.५) § चालीस वर्ष अगाडिदेखि विधिवत् रुपमा हक प्राप्त मोही कायम भइरहेको र जग्गाधनी दर्ता प्रमाण पूर्जामा मोही जनिएको जग्गा साबिक जग्गाधनीबाट हालको जग्गाधनीको नाममा हक हस्तान्तरण भई आएकोमा हालको जग्गाधनीले निजको जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाउँ अबैध रुपमा जनिएको छ भन्न नमिल्ने । § कानूनले न्यायिक अधिकारप्राप्त गरेको सार्वजनिक जिम्मेवारीको पद धारण गर्ने पदाधिकारीले कानूनबमोजिम निर्णय गर्नु पर्दछ । कानूनबमोजिम भन्नाले अधिकारक्षेत्रसम्बन्धी आफ्नो अख्तियारीको सीमाभित्र रही न्यायिक मनको अधिकाधिक प्रयोगबाट विवेकपूर्ण, न्यायपूर्ण र कानूनसम्मत् निर्णय भएकाले यस्ता कुराहरूको बेवास्ता, उपेक्षा र उल्लंघन गरी भएको निर्णय स्वेच्छाचारी निर्णय हो । त्यस्तो निर्णय कायम रहन सक्दैन । प्रस्तुत मुद्दाको सन्दर्भमा भूमिसुधार अधिकारीबाट भएको निर्णय कानूनबमोजिमको नभई स्वेच्छाचारी निर्णय हुने । (प्रकरण नं.७) पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सतीशकुमार झा प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § अनुसूची १ र २ नं. फैसला