निर्णय नं. ६८३८ - उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८३८ - उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :१०५६/०६/१३ २६९१ निर्णय नं. ६८३८ ने.का.प.२०५७ अङ्क १ विशेष इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५४ सालको रिट नं. .. २९८६ आदेश मिति : २०५६।६।१३।५ विषयः उत्प्रेषण परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ । रिट निवेदकः जिल्ला सिराहा गा.वि.स. चन्द्रलालपुर वडा नं. २ घर भई हाल ल.पू.जि.डेरा गरी वस्ने तेजकुमार श्रेष्ठकी पत्नी स्यू ह्‌वा (Xu Hua) श्रेष्ठ विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय सिंहदरवार समेत § रिट निवेदक विदेशी नागरिक भएकोमा विवाद देखिंदैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ ले नेपाली नागरिकहरुलाई कानूनी समानता र कानूनको समान संरक्षणको हकको प्रत्याभुति गरेको पाइन्छ । धारा ११ द्वारा प्रत्याभूत समानताको हक समान व्यक्तिहरुका वीचमा आकर्षित हुने हो । रिट निवेदक विदेशी नागरिक भएकोमा विवाद नभएको स्थितिमा निजले संविधानको धारा ११ द्वारा प्रत्याभूत समानताको हकको दावी लिन मिल्ने देखिएन । यसर्थ नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई गैर पर्यटक भिसा जारी गर्दा प्रति महिना २० अमेरिकी डलर वरावरको नेपाली मुद्रा दस्तुर लाग्ने व्यवस्था असमान भयो भन्न मिल्ने देखिएन । कानून वाझिएको भनी दावी गर्ने पक्षले कुन कानून के कति कारणले संविधानको कुन धारासँग वाझिएको हो भन्ने कुरा प्रष्टरुपले दर्शाउन सक्नू पर्नेमा रिट निवेदकले आफ्नो रिट निवेदनमा सो कुरा स्पष्ट गर्न सकेको समेत पाइएन । तसर्थ अध्यागमन नियमावली, २०५१ को अनुसूची ९ को देहाय ५(ङ) को व्यवस्था नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ सँग वाझिएको भन्न मिल्ने नदेखिंने । (प्र.नं. १०) § नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई गैर पर्यटक भिसा जारी गर्दा प्रति महिना २० अमेरिकी डलर वरावरको नेपाली मुद्रा भिसा दस्तुर तिर्नू पर्ने व्यवस्थाले पारिवारिक जीवनयापन गर्न समेत कठिनाई उत्पन्न भएको भन्ने निवेदन जिकिरका सम्वन्धमा त्यस्तो कुरा ऐन नियम निर्माताले ऐन नियम निर्माण गर्दा विचार गरी त्यस्ता विदेशीहरुको हकमा भिसा दस्तुर छुट गर्न आवश्यक व्यवस्था गर्न सक्ने विषय हुँदा यस्तो कुरा रिट निवेदन जारी हुने आधार बन्न नसक्ने । (प्र.नं.११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री जयनारायण हुजेदार विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः x आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(१) र (२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ : २. म निवेदिकाले सिराहा जिल्ला चन्द्रलालपुर गा.वि.स. वडा नं. २ वस्ने तेजकुमार श्रेष्ठ सित मिति २०५२।७।२४ मा जिल्ला प्रशासन कार्यालय सिराहाबाट विवाह दर्ता ऐन, २०२८ वमोजिम एकले अर्कोलाई पति पत्नीको रुपमा वरण तथा ग्रहण गरी विवाह सम्पन्न गरेको विवाह दर्ता प्रमाणपत्र प्राप्त गरी दाम्पत्य जीवन विताउँदै आएको छु । हाल हामीबाट एक छोरी समेतको जायजन्म भई मैले नै उसको पालन पोषण गरिरहेको छु । यसै दौरानमा आफ्नी आमा आई सू लाई भेटन चीनमा गई केही दिनसम्म माइतमा नै बसी फर्किई साविकमा जस्तै गैह्र पर्यटकीय भिसाको लागि विपक्षी अध्यागमन विभागमा