निर्णय नं. ६८४३ - डांका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८४३ - डांका भाग: ४२ साल: २०५७ महिना: बैशाख अंक: १ फैसला मिति :२०५५/१२/०८ २६०९ निर्णय नं. ६८४३ ने.का.प.२०५७ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५३ सालको फौ.पू.नं. .. १४२८ फैसला मितिः २०५५।१२।८।२ मुद्दाः डांका । पुनरावेदक प्रतिवादीः जिल्ला धनकुटा घोर्लिखर्क गाउँ विकास समिति वडा नं. ९ वस्ने कालू तामाङको छोरा हाल कारागार शाखा, धनकुटामा कैदमा रहेको गोपाल तामाङ विरुद्ध विपक्षी वादीः जिल्ला धनकुटा घोर्लिखर्क गाउँ विकास समिति वडा नं. ८ वस्ने पंखबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार § जाहेरवाला पंख बहादुर तामाङले र दिर्घमाया तामाङनीले समेत वारदात अवस्था बोलीबाट चिन्हेको प्रतिवादी गोपाल तामाङलाई वारदातमा मौजूद रहेको भनेपनि निजहरु र प्रतिवादी गोपाल तामाङ बीच वैमनष्यता रहेको कारणले जाहेरवाला र निजको श्रीमतीको सो बकपत्रलाई सतर्कतासाथ मूल्याङ्कन गर्नु पर्ने देखिन आउँछ । अन्य प्रतिवादीहरुले प्रतिवादी गोपाल तामाङले वारदात गर्न लगाएको भनी पोलेको भएपनि निज समेत वारदातमा उपस्थित रही डांका गरेको धनमाल वांडी खाएको भन्न नसकेको डांका गरी धनमाल लूटने निजको प्रयोजन रहेको भन्ने देखिएन । साथै जाहेरवाला र निजको श्रीमतीद्वारा पूर्व वैमनष्यताको कारण पोल गरि जाहेरीमा वारदातमा प्रतिवादी गोपाल तामाङको नाम समावेश गरिनु र अनुसन्धानक्रममा सोही जाहेरीमा निर्भर गरी अरु प्रतिवादीहरुबाट प्रतिवादी गोपाल तामाङले अह्र्राएको भनी निजको संलग्नता देखाउने प्रकृतिको उपरोक्त कागज भए गरेको देखिए पनि प्रतिवादी गोपाल तामाङ वारदातमा थियो भन्ने कुरा वा निजले डांका वारदात गर्न अह्राएको भन्ने जाहेरी र प्रतिवादीको पोलको व्यहोरा पृथक पृथक देखिन आउँछ । यस्तो जाहेरी बकपत्र र पोलमा परस्पर असँगति रहेको विवादास्पद प्रमाण र तथ्यहरुमा निर्भर गरी संदिग्ध र शंकाजनक स्थितिमा समेत प्रतिवादी गोपाल तामाङलाई कसुरदार ठहराई शुरु र पुनरावेदन अदालत धनकुटा समेतले सजाय गरेको नमिलेकोले गल्ती ठहर्छ । प्रतिवादी गोपाल तामाङले शंकाको सुविधा पाउने हुँदा निज प्रतिवादीले अभियोग दावीबाट फूर्सद पाउने । (प्र.नं. ३०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सञ्जय श्रेष्ठ विपक्षी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शरोज प्रसाद गौतम अवलम्वित नजिरः ह फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. मिति २०५१।५।११ गतेका दिन बेलूका हाम्रो परिवार सूतेको अवस्थामा रातको अं. ११ बजेको समयमा ७, ८ जना डांकाहरु आई कुटपिट गरी ढोका फोरी पसी काठको बाकस फोर्न लाग्दा गूहार भनि कराउँदा छिमेकिहरु समेत भइ घरमा आउँदा श्रीमतीले लगाएको गहना, अन्य धनमाल नगद कागज र काठको बाकस समेत नभएकोले डांकाहरु भागी गए तर्फ प्रहरी समेत भई खोजतलाश गर्दा फूटेको बाकस गहनालाठी फेला परेको र उक्त दिन डांका गर्नेहरुमा सनम तामाङ, गोपाल तामाङ, र सुनिल तामाङलाई लाइटको उज्यालो र बोलीवाट चिनेको र अन्य नचिनेका डांकाहरुसमेत भई रु.१,४२,२९५।- वरावरको धनमाल डांका गरी लगेकाले कारवाही गरी पाउँ भनि परेको पंख बहादुर तामाङको जाहेरी दरखास्त । ३. मिति २०५१।५।१२ गतेको घटनास्थल प्रकृती मुचुल्का । ४. मिति २०५१।५।१४ गतेको बरामदी मुचुल्का । ५. शेर बहादुर तामाङ र दीर्घमाया तामा