निर्णय नं. ३४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४४५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४४/०९/०७ ३२१६ निर्णय नं. ३४४५ ने.का.प. २०४५ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्रमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट पुर्ण इजलास नम्बर ६५ आदेश भएको मिति : २०४४।९।७।३ मा निवेदक : राजविराज न.पं.वा.नं.४ बस्ने सुर्यनारायण दास विरुद्ध विपक्षी : दुग्ध विकास संस्थान, प्रधान कार्यालय, लैनचौर, काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) संस्थानको बजेट, कर्मचारी संख्या र क्षमता आदिको विचार गरी कस्तो कर्मचारी राख्ने, कति संख्यामा राख्ने र कस्तो योग्यता भएको कर्मचारी राख्ने भनी त्यस्ता संस्थान आफैंले निर्णय गर्ने कुरा हो, संस्थानको उचित प्रबन्ध र सुसञ्चालनको लागि बाहेक कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बर्खास्ती आदि विषयमा श्री ५ को सरकारले कुनै निर्देशन दिने र संस्थानले यस्तोलाई पनि उचित प्रबन्ध र सुसञ्चालनको लागि दिइएको निर्देशन हो भनी मान्न बाध्य हुनु नपर्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुथान प्याकुरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : रुलिङ बाझिएको भनी संयुक्त इजलासबाट निर्णय भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक २०३३।३।१२ को नियुक्ति अनुसार सगरमाथा धान चामल निर्यात कम्पनी लि.मा ग्रेड र पद तह ५ मा कार्यरत कर्मचारी हुँ । योग्यताको हकमा निवेदकले एस.एल.सी.का अतिरिक्त एप्लाइड साइन्स एण्ड टेक्नोलोजी क्याम्पस धरानमा २ वर्ष अध्ययन गरी फूड टेक्नोलोजीमा प्रमाणपत्र समेत प्राप्त गरेको छु । यसका अतिरिक्त सेवा कालमा नै खाद्य अनुसन्धान शाखा हेटौंडामा खाद्यान्न संचय तथा स्तर निर्धारण तथा विश्लेषण सम्बन्धी तालीम समेत विशिष्टता साथ पूरा गरेको हुँ । फूड टेक्नोलोजीको अध्ययनकालमा डेरी टेक्नोलोजी (५ क्रडिट) समेत अध्ययन गरेको हुँ, जुन ट्रान्सक्रिप्ट समेतबाट पनि समर्थित छ । उल्लिखित धान चामल कम्पनीलाई लिक्वीडेशनमा पठाउने श्री ५ को सरकारको मिति २०४१।९।६ को र श्री ५ को सरकारकै धान चामल निर्यात कम्पनीका कर्मचारीहरुलाई अन्य संस्थानहरुमा सरुवा गर्ने भनी ०४०।३।१७ को निर्णयानुसार सगरमाथा धान चामल निर्यात कम्पनी लि.(ईनलिक्वीडेशन) सरकारी लिक्वीडेटरको कार्यालय, विराटनगरका सरकारी लिक्वीडेटर श्री विक्रमजीत निरौलाज्यूले म निवेदकलाई २०४२।२।२१ गतेमा दुग्ध विकास संस्थानमा हाजिर हुने गरी रमाना पत्र दिनु भएको थियो । तद्नुरुप २०४२।२।२१ मा नै उक्त संस्थानमा स्वयं उपस्थित भई हाजिर गराई पाउँ भन्ने व्यहोराको निवेदन दर्ता नं. ५५३८ मा दर्ता गराएको थिएँ । उक्त रमाना पत्र बमोजिम हाजिर नगराई म निवेदकको आवश्यक न्युनतम योग्यता नमिलेको भनी विपक्षी संस्थानले सरुवा फिर्ता पठाई दिएकोमा ०४२।५।१७ को पुनः अर्को रमाना पत्र प्राप्त भएकोले तद्नुरुप हाजिर हुन जाँदा समेत हाजिर नगराइएको बारे सम्बन्धित कार्यालय समेतका बीच विभिन्न लेखा पढी हुँदा समेत कुनै टुंगो नलागेकोले अन्य कुनै पनि उपायबाट हाजिर हुन नपाउने निष्कर्षमा पुगी नेपालको संविधानको धारा १६।७१ अन्तर्गत रिट निवेदन गर्न आएको हुँ । ३. श्री ५ को सरकारकै २०४०।३।१७ को निर्णय अनु