निर्णय नं. ८४७५ - – अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४७५ - – अंश चलन भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०८/०८ १२८७३ निर्णय नं. ८४७५ ने.का.प २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय दे.पु.नं.– ०६६–CI–०४१८ फैसला मितिः २०६७।८।८।४ मुद्दाः– अंश चलन । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १२ बस्ने योगेन्द्रमान श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. १२ घर भै हाल ऐ. वडा नं. १० मा डेरा गरी बस्ने रीता श्रेष्ठ शुरु फैसला गर्नेः मा.जि.न्या.श्री भीमकुमार ओझा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री जनार्दनबहादुर खड्का मा.न्या.श्री रामचन्द्र यादव § आफ्नै आर्जनको कमाइबाट आमाका नाममा खरीद गरेको जग्गा भए तापनि त्यसको वस्तुनिष्ठ प्रमाण पेश हुन नसकेको अवस्थामा आमाका नाममा रहेको त्यस्तो जग्गा स्वाभाविक रुपमा सन्ततिहरूका लागि पैत्रिक सम्पत्ति मानिन्छ, त्यस्तो सम्पत्तिमा छोराको मात्र हक लाग्छ भनी छोरीलाई बाहेक गर्ने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.६) § पैत्रिक सम्पत्तिको योगदान रहेको भन्ने तथ्य कहिँ कतैबाट स्थापित हुन नसकेको सम्पत्तिमा कसैले आफ्नो निजी आर्जनबाट जोडेको सम्पत्तिलाई सगोलको सम्पत्ति मान्न नसकिने । (प्रकरण नं.८) § निजी आर्जनको सम्पत्तिमा सो आर्जन गर्ने अंशियारको निजी ठहरी आफूखुश गर्न पाउँछ भन्ने अंशबण्डाको १८ नं. मा स्पष्ट कानूनी व्यवस्था रहेको हुँदा त्यस्तो सम्पत्तिमा अन्यलाई अंश हक नलाग्ने । (प्रकरण नं.९) § दाजु वहिनीका बीचमा अंश विवाद रहेको अवस्थामा बाबु आमाको सम्पत्तिमा जस्तो निरपेक्ष हकको स्थिति हुँदैन । बाबु आमाको नाममा रहेको सम्पत्तिको स्रोत जे जस्तो भएपनि त्यस्तो सम्पत्ति छोरा छोरीका लागि पैत्रिक मानिन्छ । तर दाजु भाउजूको स्वआर्जनको सम्पत्तिमा बहिनीले पैत्रिक सम्पत्तिसरह दावी गर्न नमिल्ने । (प्रकरण नं.१०) § कुनै सम्पत्ति निजी ज्ञान, सीप र प्रयासको परिणती हो भन्ने तथ्य स्थापित भएको अवस्थामा त्यस्तो ज्ञान, सीप र प्रयासको अवमूल्यन हुने गरी व्यवहार गरिनु नहुने । (प्रकरण नं.११) पुनरावेदक/प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल प्रत्यर्थी/वादी तर्फबाटः विद्वान अधिवक्ताहरू हेमराज पन्त, रामकुमार राई, द्रोण दाहाल र मीरा ढुंगाना अवलम्बित नजीरः सम्बद्ध कानूनः § अंशबण्डाको १, १क, २ र १०, १८ नं. § प्रमाण ऐन, २०३१ को दफा ६(क) § लेनदेन व्यवहारको ८ नं. फैसला प्र.न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।३।२० को फैसला उपर यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : स्व.सुरेन्द्रमान र स्व.गंगादेवी श्रेष्ठका १ छोरा विपक्षी योगेन्द्रमान श्रेष्ठ तथा छोरीहरू ४ जनामा विवाह हुन बाँकी म फिरादी कान्छी छोरी हुँ । वुवा आमाको स्वर्गे हुनुभन्दा अगाडि नै दिदीहरूको विवाह भई सकेको र म सानै भएकोले मेरो लालन पालन गर्ने र इज्जत आमदअनुसार खान लाउन, शिक्षा दिक्षा दिने जिम्मा विपक्षीको भएकोमा इज्जत आमदअनुसार खान लगाउन नदिएको, शिक्षा दिक्षा समेत नदिएको हुँदा विगत ५ वर्ष देखि दिदीको घरमा बस्न बाध्य भएकी छु ।