निर्णय नं. ८४७६ - लुटपीट ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४७६ - लुटपीट । भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०१/०६ २८५२ निर्णय नं. ८४७६ ने.का.प.२०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६४ सालको फौ.पु.नं.––०३४० फैसला मितिः २०६७।१।६।२ मुद्दा : लुटपीट । पुनरावेदक/ प्रतिवादीः जिल्ला सर्लाही, गा.वि.स. हरिवन, वडा नं .१ बस्ने नेत्रबहादुर आलेमगर विरुद्ध प्रत्यर्थी /वादीः ऐ.ऐ. बस्ने लेखकुमार शर्मा घिमिरे शुरु फैसला गर्नेः मा.जि.न्या. श्री शान्तिराज सुवेदी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिवंश त्रिपाठी मा.न्या. श्री गिरीराज पौडेल § कसैको जग्गा खिचोला गर्नु र जग्गाको बाली लैजानु वेग्ला वेग्लै वारदात र विषय हुन् । अर्काको जग्गा खिचोला गरी बाली लगाएको अवस्थामा बाली खिचोला गर्नेले लगाएको मानी खिचोला गर्नेको बाली स्वीकार गरी लुटपीट ठहर नगर्ने हो भने खिचोलाले वैधानिकता प्राप्त गर्ने र अवैधानिक कार्यले प्रश्रय पाउन सक्ने । § अवैधानिक तरिकाबाट कब्जा खिचोला गरी लगाएको बालीमा, बाली जसले लगाए पनि सो जग्गाको बालीमा वैधानिक जग्गाधनीको हक निरन्तर रहिरहेको मान्नु नै औचित्यपूर्ण एवं विवेकसम्मत् समेत हुन्छ । यस्तो अवस्थामा जग्गाको बाली वैधानिक जग्गाधनीले नलिई अन्यले लिएको छ भने लुटपीट गरेको मान्नुपर्ने हुँदा खिचोला ठहरे लुटपीट हुँदैन र लुटपीट ठहरे खिचोला हुँदैन भन्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तफबाटः विद्वान अधिवक्ता श्री कालीप्रसाद घिमिरे प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन लुटपीटको १ नं. § जग्गा मिच्नेको १ नं. फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) बमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०६४।१।२ को फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– मेरो कि.नं. ५३ को २–२–३ जग्गामा धान बाली लगाएकोमा सो धान बाली पाकी तयार भैसकेकोले सो धान काटुला भन्दै थिए । यसै बीच विपक्षीहरू मिली २०६०।८।५ गते विहान ६ बजेको समयमा विपक्षीहरू र नचिनेका १०।१२ जना मजदुर छेमप्रसादको अगुवाईमा आई मेरो कि.नं. ५३ को क्षे.फ. २–२–३ जग्गा मध्ये दक्षिण तर्फबाट ०–७–१० जग्गाको पाकी तयार भएको धान बाली काटी लुटपीट गरी रहेकै अवस्थामा थाहा पाई म वारदात स्थानमा पुगी मैले लगाएको धानबाली किन काटी लैजान लाग्नु भएको भन्दा विपक्षीहरूले मलाई धम्की दिई यहाँ आईस भने अरु नराम्रो नतिजा होला तैले जानेको गर भनी विपक्षीहरूले जबरजस्ती लुटपीट गरी मेरो कि.नं. ५३ नं. को २–२–३ जग्गा मध्ये दक्षिण तर्फको ०–७–१० जग्गाको धान प्रतिकठ्ठा ४ मनका दरले हुने जम्मा ३० मन लुटपीट गरेकोले दिए धान नै नदिए प्रति क्वीन्टल रु.८००।– का दरले रु.९६००।– र सो धानको परालको मूल्य रु.१,०००।– समेत गरी जम्मा रु.१०,६००।– विपक्षीहरूबाट दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र । वादीले देखाउनु भएको वारदात लुटपीटको १ नं. को परिभाषा भित्र नपर्ने, लुटपीट वारदात नभएको र उचित कानूनको प्रयोग गरी प्रस्तुत मुद्दा आएको छैन । वादीले देखाउनु भएको तथाकथित वारदातमा हामी प्रतिवादीहरूले वादीको धानबाली कस कसले कुन रुपमा के कति काटी लगेको स्पष्ट रुपमा खुलाउन सक्नु भएको छैन, केवल गोश्वारा रुपमा अस्पष्ट दावी रहेको छ । अतः उचित कानूनको दावी नभै अस्पष्ट रुपमा गरेको दावी अ.बं. १८० नं बमोजि