निर्णय नं. ८४७९ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४७९ - उत्प्रेषण समेत भाग: ५२ साल: २०६७ महिना: माघ अंक: १० फैसला मिति :२०६७/०२/२४ ६८३५ निर्णय नं. ८४७९ ने.का.प. २०६७ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको रिट नं. २९६१ आदेश मितिः २०६७।२।२४ विषयः उत्प्रेषण समेत । निवेदकः सडक विभाग समेत विरुद्ध विपक्षीः वाईवा कन्स्ट्रक्शन कम्पनी प्रा.लि. सामाखुसी, काठमाडौं समेत § विवादसँग सम्बन्धित तथ्य केलाउने र तथ्यगत रुपमा मध्यस्थको निर्णयको परीक्षण गर्ने अधिकार अदालतलाई हुँदैन । विवादको विषयसँग सम्बन्धित तथ्य केलाउने र उक्त तथ्यको विषयमा निर्णय गर्ने अन्तिम अधिकार मध्यस्थलाई नै हुन्छ । मध्यस्थ नै विवादमा सम्बद्ध तथ्य केलाउने र यसको बारेमा निर्णय गर्ने सबैभन्दा सक्षम निर्णयकर्ता (Last Judge) हो । खास गरी प्राविधिक प्रकृतिको कामसँग सम्बन्धित सम्झौता वा ठेक्कासँग सम्बन्धित विवाद निरोपण गर्दा प्राविधिक प्रकृतिको तथ्यहरू केलाउनु पर्ने । § विवादको मूल विषयवस्तुको रुपमा रहेको सम्पन्न भएको कामको मूल्याङ्कन गर्ने कार्य र कति काम सम्पन्न भयो भन्ने कुरा यकीन गर्न विभिन्न तह र चरणमा हुने कामको नाप (Measurement) गर्नुपर्ने विषयमा अदालतभन्दा मध्यस्थ नै वढी विज्ञ हुने हुँदा मध्यस्थको निर्णयउपर पुनरावेदन लाग्ने व्यवस्था नगरी मध्यस्थको निर्णयमा गम्भीर कानूनी त्रुटि देखिएको आधारमा मात्र मध्यस्थको निर्णय बदर गराउन नियमित अदालतमा पुनरावेदन लाग्ने । (प्रकरण नं.२) § विष्फोटक पदार्थ खरीद गर्न सरकारी पक्षबाट व्यवस्था मिलाउनु पर्ने र खरीद गरेपछि ढुवानी र भण्डारण एवं प्रयोगको समस्या पनि आउन सक्ने भएकाले देशमा विद्रोह चलिरहेको र संकटकाल लागेको समयमा एउटा व्यक्तिले ती सामान खरीद गर्न, ल्याउन र प्रयोग गर्न कति सम्भव छ त्यो वास्तविकतालाई पनि हेर्नुपर्ने । (प्रकरण नं.८) § विवादको सडक खण्डको चट्टान हातले नै फोड्नु पर्ने प्रकृतिको हो वा विष्फोटक पदार्थ प्रयोग गर्ने प्रकृतिको हो ? निवेदकले विष्फोटक पदार्थको व्यवस्थापनमा सहयोग नगरेको हो वा विपक्षीनै ती पदार्थ व्यवस्थापन गर्नेतर्फ नलागेको हो ? चट्टानमध्ये कति कडा चट्टान हातले फोडेको हो, कति मध्यम चट्टान फोडेको हो ? भन्ने जस्ता तथ्यगत विवाद समेत उठेमा सिद्धान्ततः रिट क्षेत्रबाट सामान्य प्रकृतिका मुद्दा जस्तो मध्यस्थको अधिकारभित्र हुन गै निजले निर्णय गर्नुपर्ने तथ्यगत प्रश्नमा प्रमाण बुझी प्रमाणको मूल्याङ्कन विश्लेषण विवेचना गरी हेर्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः सहन्यायाधिवक्ता श्री महेश थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी. अवलम्बित नजीरः सम्बद्ध कानूनः § मध्यस्थता ऐन, २०५५ को दफा ३० र ३२ आदेश न्या.भरतराज उप्रेतीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत दर्ता भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– विपक्षी नं. १ र यस विभागबीच कालिकोट जुम्ला सडक आयोजना Contract Package No. NRDUC/KJ/NCB/4-3,4-11,4-14 को सडक निर्माणको लागि जुलाई ५, २००१ मा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्कासम्बन्धी कार्यको दौरानमा विपक्षी नं. १ ले देशमा विषम परिस्थिति उत्पन्न भएको कारण विष्फोटक पदार्थ प्राप्त हुन नसकेकोले हातले चट्टान फुटाएको (Manual Excavation of Rock) कारण नयाँ दर तोक्न र विष्फोटक पदार्थ उपलब्ध नभएको कारणले कार्यमा ढिलाई भएको भनी विवाद गरी एडजुडिके